
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुन: एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा भएको तीन साता मात्रै पुगेको छ । घोषणापछि स्थिति पेचिलो बन्दै गएपछि उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार एक घण्टा ४० मिनेट वार्ता गरिन् । ७ वर्ष राष्ट्रपति भएकी भण्डारी एमालेको राजनीतिमा फर्किएको घोषणा भएपछि प्रस्ट दुई गुट बनेको सन्देश गएको थियो । यही बेला ओली र भण्डारीबीच भेटवार्ता भएको हो ।
सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकपछि मात्रै ओलीले भण्डारीसँग छलफल गर्ने पार्टी बैठक र अन्तर्वार्ता मा बताएका थिए । तर, पोलिटब्युरो बैठकमा भण्डारीको पक्षमा अपेक्षाकृत माहोल बनेन । नेताहरू रक्षात्मक बन्ने स्थिति आयो । भण्डारीको पक्षमा लबिङ गर्दै आएका आएका कर्ण थापासहितका नेता नै रक्षात्मक बने । यस्तो स्थितिपछि ओलीसँग भण्डारीले केन्द्रीय कमिटीको बैठकअघि नै छलफल गर्न खोजेकी हुन् ।
‘पोलिटब्युरो सकिएपछि पूर्व राष्ट्रपति विद्या भण्डारीको फोन आएको थियो । फोन साइलेन्समा रहेकाले पहिले प्रधानमन्त्रीले थाहा पाउनुभएन । मिस्डकल देखेपछि उहाँले नै फोन गर्नुभएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘उहाँ आफैंले भेटेर कुरा गर्नुपर्यो भन्नुभएछ । अनि आइतबारको भेटघाटको कार्यक्रम बनेको हो ।’
भण्डारीले सचिवालय र पोलिटब्युरो बैठकमा आफ्नो अपमान भएको भन्दै गुनासो गरेकी थिइन् । पार्टीले आफूलाई स्वीकार नै नगरेको जस्तो म्यासेज दिएको भन्दै भण्डारीले फोनमै ओलीसँग गुनासो गरेको स्रोतको दाबी छ । त्यसपछि ओलीले ‘फोनमा लामो कुरा नगरौं, भोलि आउनु न’ भनेका थिए । ओलीले भण्डारीलाई बालुवाटारमै आउन भनेका थिए । तर, राजनीतिक सन्देश पनि दिने ठानेकी भण्डारीले केन्द्रीय कार्यालय च्यासलमै भेटौं भनिन् । भण्डारीले च्यासल रोजेपछि ओलीले पनि सवालजवाफ गरेनन् । दिउँसो ३ बजे च्यासलमा भेट्ने तय गरे ।
ओली र विद्या भण्डारी भेट गर्नुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आइतबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगे । पछिल्लो समय पोखरेलले भण्डारीको पक्षमा चर्को वकालत गर्दै आएका थिए । सचिवालय बैठकमा उनले अध्यक्ष ओलीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास नगरेको, आफू नै सबैथोक रहेको सन्देश दिएको भन्दै तीव्र कटाक्ष गरेका थिए ।
उनी जति खुलेर नबोले पनि उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि भण्डारीलाई पार्टीले नकार्न नसक्ने भनाइ राखेका थिए । तर, भण्डारीको पक्षमा सचिवालयको जस्तो माहोल पोलिटब्युरो बैठकमा बन्न नसकेको नेताहरू बताउँछन् ।
अर्कोतिर वादविवादभन्दा सहमति र संवादमा जान नेताहरूले ओलीलाई पनि सुझाएका थिए । खरो कुरा गर्ने गोकुल बाँस्कोटोदेखि सूर्य थापासम्मले विषय उठिसकेपछि भण्डारीको विषयलाई नजरअन्दाज नगर्न ओलीलाई बैठकमै सुझाएका थिए । तर, पोलिटब्युरोमा नेता कर्ण थापा समेत कठोर सुनिएका थिएनन् । उनले समेत रक्षात्मक भएर फेसबुकमा स्टाटस लेखेपछि संस्थापनले आफू हावी भएको आकलन गरेको थियो । तर, जोखिम टरिसकेको अवस्था थिएन ।

आइतबार बिहानै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि गुनासो लिएर बालुवाटार पुगेको स्रोतको दाबी छ । ‘तपाईंले मलाई वरिष्ठ उपाध्यक्षबाट किन हटाउनुभएको हो ? मैले त तपाईंको नेतृत्व मान्दै आएको छु । ११ औं महाधिवेशनमा पनि तपाईं नै हो भनेर भनेको छु । तपाईं स्पेनबाट फर्किएपछिको भेटमा पनि यो कुरा भनेको थिएँ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंले भनेको सधैँ मानेको छु । विश्वास गरेको छु । तर, तपाईंले मेरो पद नै खाइदिएको जसरी किन वरिष्ठ हटाइदिनुभएको हो ?’
त्यसपछि ओलीले चलाखीपूर्ण तर्क गरेका थिए । ७० वर्ष नाघेकाले नैतिक रूपमा अप्ठ्यारो पर्छ भनेरै वरिष्ठ सहित पदाधिकारीको संख्या घटाएको उनको तर्क थियो ।
‘तपाईंले म ७० नाघेको हुनाले नैतिक हिसाबले बस्न अप्ठ्यारो हुन्छ भनेर यो पद हटाउन प्रस्ताव गरिएको हो । तपाईं सबैभन्दा सिनियर भएकाले अरूका लागि उपयुक्त हुँदैन भनेर हटाइदिँदा हुन्छ भन्नेमा पुगियो,’ ओलीले भनेका थिए, ‘त्यसपछि वरिष्ठ उपाध्यक्ष र पदाधिकारी पनि घटाउने कुरामा गएका हौं ।’
तर, भण्डारीतिर खुल्न खोजेको आशंकामा आफ्नो पद नै खाइदिएको सन्देश विधान संशोधन प्रस्तावले दिएको भन्दै पोखरेलले ओलीसमक्ष बिलौना गरिरहे । विधान संशोधनमा प्रस्ताव गरेर पोलिटब्युरो हुँदै केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने गरी अगाडि बढेको छ । वरिष्ठ उपाध्यक्ष कायम राख्ने घोषणा गरिदिन पोखरेलले पटक–पटक ओलीसँग आग्रह गरेका थिए ।
‘तपाईंले जति भने पनि म मान्दिनँ । मलाई विश्वास गर्नुभएन । विश्वास गर्नुस्,’ पोखरेलले भनेका थिए, ‘मेरो राजनीतिक जीवनमा कहिल्यै तपाईंलाई अविश्वास गरेको छैन । नकारात्मक बोलेको छैन । वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव फिर्ता लिनुस् ।’
पोखरेलको आग्रहमा ओलीले प्रस्ट जवाफ दिएनन् । बरु साउन ५ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठक, भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको छलफल र प्रक्रियाको कुरा गरेर टारेको स्रोत बताउँछ ।
के–के भयो ओली–विद्याबीचको एक घण्टा ४० मिनेटको भेटमा ?
तीन बजेलाई च्यासलमा भेटको समय तय भए पनि एआईसम्बन्धी एउटा कार्यक्रममा व्यस्त भएकाले ओली ४ बजे मात्रै च्यासल पुगे । विद्या ४० मिनेट अघि नै च्यासल पुगिसकेकी थिइन् ।
जतिसुकै टसलको स्थिति आए पनि ओली र विद्या दुवै तनाव नदेखाउने शैलीमा प्रस्तुत भए । एकअर्कालाई आरोपित गर्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कर्ण थापालाई दायाँबायाँ राखेर फोटो खिचाए । तनाव नभएको जस्तो गरी ओली र भण्डारी दुवैले मुस्कानयुक्त चेहरा देखाउन पनि खोजे ।

यसक्रममा ओली र विद्याबीच १ घण्टा ४० मिनेट जति कुराकानी भएको थियो । ‘वान टु वान’ वार्ताका क्रममा ओलीले शुरूमै गत वर्ष मात्रै गणतन्त्र गौरवबाट सम्मानित गरेको प्रसंग भण्डारीसमक्ष राखेको दाबी स्रोतको छ ।
‘गत वर्ष मात्रै हाम्रो पार्टीले राष्ट्रपतिको रूपमा तपाईंप्रति गौरवान्वित हुँदै ‘गणतन्त्र गौरव’ भनेर सुशोभित गर्यो । उपाधि दिइयो, किनभने अब फेरि पनि अर्को मान्छेलाई राष्ट्रपति बनाउनुपर्छ । यो मान्छेले राम्रो काम गरेको थियो, निर्विवाद हुनुहुन्छ भनेर सम्मान गरिएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो सम्मान मैले एक्लै गरेको होइन, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, प्रचण्ड, डा. बाबुराम भट्टराई, झलनाथ खनालदेखि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसम्म सहभागी हुनुहुन्थ्यो ।’
ओलीले राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउँदा यो पदको मर्यादा, गरिमा र प्रतिष्ठा सकिने बताएका थिए । भण्डारी राजनीतिमा आउँदा अहिलेका र यसपछि हुने राष्ट्रपतिलाई समेत अप्ठ्यारो हुने ओलीको भनाइ थियो । आफूलाई चुनौती दिएको रूपमा भन्दा पनि गणतन्त्रको सिम्बोलसँग गाँसिएको भन्दै ओलीले सम्झाउन खोजेका थिए ।
‘यो व्यक्ति विद्या भण्डारीको मात्रै कुरा होइन, तपाईंको प्रयासले अहिलेको राष्ट्रपतिलाई पनि असर पर्छ । यो गणतन्त्रको सिम्बोलसँग गाँसिएको कुरा हो । तपाईं राजनीतिमा आउनुहोला, मलाई चुनौती दिनुहोला भनेर मात्रै यी कुरा गरिरहेको छैन,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंलाई एकपटक मात्रै राष्ट्रपति बनाउँदा अप्ठ्यारो होला भनेर दोस्रोपटक पटक पनि राष्ट्रपति बनाएको हो ।’ ओलीको लामो व्याख्या सुनेपछि भण्डारीले मेरो भूमिका के हुने हो त ? भनेर प्रश्न उठाएकी थिइन् ।
‘त्यसो भए मेरो भूमिका के हुने हो त ? मेरो स्थान कहाँ हुने त ?’ भण्डारीको यति बोलिनसक्दै ओली बोल्न थाले– ‘तपाईंको स्थान सम्माननीय पूर्व राष्ट्रपति हो । तपाईं गणतन्त्रको शिर हो । पार्टीमा आउनु भनेको सम्मानबाट तल झर्नु हो ।’
त्यसपछि भण्डारीले आफू राजनीतिमा आउँदा गणतन्त्रको सम्मान नघट्ने तर्क गरिन् । राजनीतिक जीवनमा लामो अनुभव, संघर्ष र निरन्तरताको विषय उठाएकी थिइन् ।
भण्डारीले दुई वर्षअघि नै नवीकरण भएको सदस्यताको विषयलाई ठूलो इस्यु बनाएकोमा पनि गुनासो गरेकी थिइन् ।
‘सदस्यताको कुरा विवादित बनाइयो । मैले पुन: सदस्यताका लागि निवेदन लेखेको पनि थिएँ । तर, आफैंले काम गरेको पार्टीमा के निवेदन हाल्ने भनेर सदस्यता नवीकरण गरेको हुँ । यसको प्रमाण पनि मसँग छ,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आफ्नो पार्टीमा के निवेदन दिनु भनेर लिइएको हो । यसमा अलिकति कमजोर भएको हो ।’

त्यसपछि ओलीले ‘कमजोरीको कुरै होइन, राष्ट्रपति भएको व्यक्ति सदस्य हुनै सक्दैन,’ भनेका थिए ।
ओलीले पुन: राजनीतिमा फर्किने विषयमा आफूसँग किन पर्याप्त छलफल नगरेको भनेर समेत प्रश्न उठाएका थिए ।
‘हामी तपाईं सम्मानित पदमा पुगेपछि राजनीतिमा फर्किनुहुँदैन भनेर बसेको हो । सम्मान गरेको हो,’ ओलीले भनेका थिए, ‘तर, म पार्टी अध्यक्ष छु, मसँग नै कुनै परामर्श गर्नुभएन । पार्टीसँग सल्लाह पनि गर्नुभएन । राजनीतिमा फर्किने मानसिकता बनाएकै हो भने पहिले नै किन छलफल गर्न आवश्यक ठान्नुभएन ?’
त्यसपछि भण्डारीले आफूले दु:ख गरेको पार्टीमा आउने विषयमा आपत्ति हुन्छ भन्ने नठानेको जवाफ दिएकी थिइन् ।
फेरि भण्डारीले एमालेमा विभाजित मानसिकता र दुई गुट रहेको सन्देश जाँदा पार्टी कमजोर हुने भन्दै चिन्ता पनि जनाएकी थिइन् ।
‘पछिल्ला गतिविधिले एमालेमा विभाजन छ । दुई गुट बने भनेर म्यासेज गयो,’ भण्डारीले ओलीसँग भनेकी थिइन्, ‘यसलाई घटाउनुपर्यो । यसले पार्टीलाई कमजोर बनाउँछ ।’
भण्डारी आफैंले यस्तो भनेर चिन्ता जनाएपछि गुटगत सन्देश दिने गरी अभियान गर्ने र कार्यक्रम राख्ने विषय उचित नभएको निचोडमा उनीहरू पुगेका थिए । यसअघि असार ३ गते बालुवाटारमा भेट्न आएकी भण्डारीलाई ओलीले सम्मानका साथ बस्न आग्रह गरेका थिए । राजनीतिमा नआई नछाड्ने हो भने प्रक्रियामा सहभागी भएर चुनौती मोल्न चेतावनी दिएका थिए ।
पहिले माहोल चर्को हुनेजस्तो देखिए पनि पोलिटब्युरो बैठकको निचोड सर्वसम्मत भएपछि ओलीले आफूलाई चुनौती महसुस नहुने ठानेका छन् ।
आफ्नो लागि पार्टी छलफल गर्न तयार भएको, बोलेकै आधारमा पार्टीमा कारबाही नहुने र केन्द्रीय कमिटीमा समेत आफ्नो पक्षधरले कुरा उठाउन पाउने स्थितिलाई भण्डारीले उपलब्धि नै मानेको बताइन्छ । तर, सम्मानित पदबाट राजनीतिमा आउँदा पूर्व राष्ट्रपतिको मर्यादामा आँच आइसकेको चुनौतीलाई चिर्नुपर्ने स्थितिमा भण्डारी छिन् ।
ओलीको जबर्जस्त पकड भएको एमालेमा भिडेरै वा दुश्मनी मोलेरै टिक्न नसक्ने स्वीकारोक्तिमा विद्या पुगेको नेताहरू बताउँछन् । ओलीसँग टसल गरेर भन्दा विश्वास आर्जन गरेर जाँदा सहज हुने भन्दै भण्डारीलाई सुझाव दिने पनि छन् । भण्डारी पछिल्लो समय आफैं छलफलका लागि अग्रसर हुनुले पनि यही पुष्टि गर्छ ।

एक घण्टा ४० मिनेटसम्म संवाद भएपछि दुवै नेताले आफूहरूबीच कुनै टसल नरहेको सन्देश दिन खोजेका थिए । भित्र एक अर्काबीच केही छेडखानी, आग्रह र पूर्वाग्रहका कुरा भए पनि दुवैले बाहिर त्यो देखाएनन् । बरु निस्कँदा पनि ईश्वर पोखरेल र शंकर पोखरेललाई दायाँबायाँ राख्दै ओली र विद्या बैठक स्थलबाट सँगै बाहिरिए ।
ओलीले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।
‘अध्यक्षसँग राष्ट्रिय राजनीतिबारे कुराकानी भयो । मैले पार्टी सदस्यता पहिल्यै नवीकरण गरिसकेको छु । अब पार्टीको आधिकारिक च्यानलबाट बाँकी काम अघि बढ्छ,’ नम्र शैलीमा जवाफ दिँदै विद्या पनि च्यासलबाट बाहिरिएकी थिइन् ।