२९ जेठ २०८३, शुक्रबार

प्रकाश सापकोटाको 'सन्नाटाका सुस्केरा' लोकार्पित

साउन ६, २०८२
काठमाडौं
प्रकाश सापकोटाको 'सन्नाटाका सुस्केरा' लोकार्पित

कवि प्रकाश सापकोटाको नविनतम् कविताकृति 'सन्नाटाका सुस्केरा' लोकार्पित भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीसहित श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकालीलगायतले सापकोटाको कृति लोकार्पण गरेका हुन् । 

कविता लोकार्पणपछि अधिकारीले भने- 'कवि आफैंले आफ्नोपन खोज्ने र आफैंलाई परिमार्जन गर्नुपर्दछ । कविले लेखेको मनस्थितिमा पाठक पुगेन् भने कविता सफल नहुन सक्छ । कवि सरल हुनुपर्छ, प्रकाशका कवितामा त्यो सरलपन छ।' 

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले प्रकाश सापकोटाका कविता उनकै जस्तो हुनुपर्ने बताए । 'सृजनामा आफ्नोपन हुनु जरुरी छ । सापकोटामा त्यो आफ्नोपन छ । विश्वका अतिविकसित देशमध्येको डेनमार्कलाई कर्मथलो बनाएका प्रकाशले त्यहाँ रहे पनि आफ्नो माटो भुल्न सकेका छैनन् । देश दुखेको छ । बेथितिमा दुखी भएका छन्।'

यसअघि कृतिमाथि चर्चा गर्दै यादव भट्टराईले भने- 'मझ्यौला र छोटा आयतनका कविताको बाहुल्यता रहेको कविता कृतिमा कवि चेतना मज्जैले पोखिएको छ। नेपाली समाजमा भएका हरेक घट्नाहरू लिने सरल भाषाका कविता छन्।'

उनले प्रकाश सापकोटाका कविता शीर्षकको केन्द्रीयतामा घुमेको बताए । कवितामा घृणा, आक्रोश र पछि परेकोमा चिन्ता रहेको भन्दै विदेशमा बसेर पनि देश दुख्नु कविको संवेदनशीलता भएको उनल बताए । कविताहरू सरल भैकन पनि बिम्बात्मक रहेको उनको भनाइ थियो । 

सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले सापकोटा विदेशमा भए पनि कविको मन नेपालमै रहेको बताए। उनले भने, 'कुनै पनि विषयको उत्खनन् सुन्दर ढंगले कविताहरूले गरेका छन्।' 

कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, भुँडीपुराण प्रकाशनका केशव पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

डेनमार्कमा रहेका कवि सापकोटाको लिखित मन्तव्य कवि विश्व सिग्देलले बाचन गरेको कार्यक्रममा सापकोटाले आफ्ना मनका अनुभूति राख्दै उपस्थित सबैप्रति कृतज्ञता जाहेर गरेका थिए । 

कवि दीपक चौलागाईं, रुपा रिसाललगायतले लोकार्पित कृतिका कविता वाचन गरे । प्रकाश सापकोटाको यो पाँचौ कृति हो । सन्नाटाका सुस्केरालाई सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । यसको मूल्य २५०। रहको छ । वितरक भुँडीपुराण प्रकाशन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्