
दुई किलोग्राम सुन र २४ लाख रुपैयाँ नगदसहित पक्राउ परेका दुई चिनियाँ नागरिक एक महिनादेखि नै काठमाडौंको ठमेलस्थित एक होटेलमा बसेको खुलेको छ ।
चिजिट भिसामा नेपाल आएका उनीहरू एक महिनादेखि ठमेलको ज्याँठास्थित होटेलमा बसेका थिए ।
अनुसन्धानमा खटिएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीअनुसार एक महिनादेखि होटेलमा बसेका उनीहरू सुन खरिद गर्ने ग्राहकको खोजीमा थिए ।
त्यसअघि नै विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सुन र नगदसहित नियन्त्रणमा लिएको हो ।
सुनजस्तो पहेँलो धातु २४ लाख नगद नेपाली रुपैयाँसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक तान छुनलिन (पुरुष) र जोउ स्यु मेई (महिला) छन् ।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
बरामद गरिएका वस्तुको परीक्षण तथा घटनासम्बन्धी विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।
थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ।