
सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्रराज कर्णजितमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनीमाथि विभागीय कारबाही भएको छ ।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिण सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूपमा खटिएका कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको आरोप लागेको हो ।
उक्त विषयमा राष्ट्र संघले सशस्त्र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी छानबिन गरेर दोषीलाई कारबाही गर्न भनेको थियो ।
राष्ट्रसंघकै पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका कर्णजितलाई पाँच वर्षसम्म बढुवा रोक्का हुने गरी विभागीय कारबाही गरेको छ ।
एसएसपी कर्णजित ११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर एक वर्षअघि सुडान पुगेका थिए ।
नर्वेजियन महिलाले उनले आफ्नो संवेदनशील अंगमा स्पर्श गरेको भन्दै राष्ट्रसंघको मुख्यालयमा उजुरी दिएकी थिइन् ।
गत असारमा मात्रै सशस्त्र प्रहरी बलको १५ नम्बर बाहिनी काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही भएको थियो ।
विपद्का बेला अत्यावश्यकबाहेक बिदा नछाड्ने संगठनको नीतिविरुद्ध बढी जनशक्ति बिदामा छाडेको भन्दै प्रसाईँलाई नसियत दिइएको हो । उनीविरुद्ध मातहतका कर्मचारीलाई दुर्व्यवहार गरेको र जनशक्तिको राम्रो परिचालन नगरेको आरोप थियो । नसियतपछि प्रसाईँलाई मुख्यालयले झापाको पाथिभरा जवान तालिम शिक्षालयमा सरुवा गरेका थियो ।
त्यसअघि सशस्त्रको बलुम्बुस्थित गोदाममा आगालगी भएको घटनामा दुईजना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित ९ जनालाई विभागीय कारबाही भएको थियो । बलम्बुस्थित ९ नम्बर पशुपति बाहिनीका एसपीद्वय राजेन्द्र श्रेष्ठ र अर्जुन खत्रीलाई कारबाही भएको थियो । सशस्त्र प्रहरी मुख्यालयले श्रेष्ठको चार वर्ष बढुवा रोक्का र खत्रीलाई नसिहत दिएको थियो ।
सोही घटनामा लापरबाही गरेको भन्दै डीएसपी नारायण सेढाईं, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणीसहित ७ जनालाई नसिहत र एक वर्ष बढुवा रोक्का गरिएको थियो । २०८० चैत २६ गते गोदाममा आगलागी भएपनि मुख्यालयले छानबिन समिति गठन गरी समितिकै सिफारिसका आधारमा गत वर्ष साउनमा ९ जनामाथि कारबाही गरेको हो ।
सशस्त्रका उपल्लो तहदेखि इन्सपेक्टरसम्म कारबाहीमा परेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । आर्थिक वर्ष २०८१/०८२ मा सशस्त्र प्रहरी बलका ६ सय ११ जना कर्मचारी विभागीय कारबाहीमा परेका छन् । सशस्त्र प्रहरी मुख्यालयका अनुसार सबैभन्दा धेरै कारबाहीमा पर्ने बागमती प्रदेश मातहतका कर्मचारी छन् । बागमतीका मात्रै एसएसपीदेखि जवानसम्म ५९ जना विभागीय कारबाहीमा परेका छन्, जसमा एकजना एसएसपी, एकजना डीएसपी, दुईजना इन्सपेक्टर, १० जना सई, ९ जना असई, ८ जना वरिष्ठ हवल्दार, ९ जना हवल्दार, २० जना सहायक हवल्दार र ६५ जना जवान छन् ।
बागमती प्रदेशपछि मधेश प्रदेशमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी कारबाही भोग्नेमा अगाडि छन् । मधेश प्रदेशमा दुईजना इन्स्पेक्टरदेखि जवानसम्म ४८ जना कर्मचारीले विभागीय कारबाही भोग्नुपरेको छ ।
मधेश प्रदेशमा विशेष गरी तस्करी खुलाएको, तस्करसँग उठबस गरेको आरोप सशस्त्र प्रहरी कर्मचारीहरूमाथि लाग्ने गरेको छ । सहमतिमै ‘लाइन’ र ‘रुट’ बनाएर मिलेमतोमा तस्करी खुलाएको पाइएपछि मुख्यालयले कारबाही गरेको हो ।
विशेषगरी बारा, पर्सा, रौतहट र सर्लाहीमा तस्करी बढिरहेको सूचना सशस्त्र प्रहरी मुख्यालयमा पुगेको छ । बेलाबेलामा त्यहाँ कार्यरत इन्चार्ज (डीआईजीदेखि एसपीसम्म)लाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल आफैंले पनि मौखिक स्पष्टीकरण सोध्दै आएका छन् । भन्सार कार्यालय हुँदै सर्वसाधारणले भारतीय बजारबाट किनेर ल्याएको सामान खोस्ने, भन्सार दाखिला गर्ने गरेको देखाइए पनि मुख्य तस्करसँग महिनावारी नै तोकेर सेटिङमा तस्करी गराइरहेको सूचना मुख्यालयसम्म आउने गरेका छन् ।
पर्साको अलौ र भिस्वाको जानकी टोल नाकाबाट ग्रामीण क्षेत्र हुँदै बाराको जीतपुरसम्म तस्करीका समान पुग्ने गरेको गुनासो मुख्यालयमा पुगेको छ । त्यस्तै, पर्साकै छप्कैया र सिर्सिया नाकाबाट समेत सामान चोरीपैठारी हुँदै आएको गुनासो मुख्यालयमा पुगेको छ ।
बाराको मुसहरवा, बलिरामपुर, छतवा नाकाबाट सुरक्षा निकायकै मिलेमतोमा तस्करी भइरहेको सूचना मुख्यालयमा पुगेपछि त्यहाँ केन्द्रबाटै टोली पठाएर सूक्ष्म निगरानी थालिएको छ । पोके तस्करदेखि भैँसी तस्करसँग समेत सेटिङ गरी रकम उठाएको आशंका गरिएको छ ।
मधेश प्रदेशपछि सुदूरपश्चिम, कोशी, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा कार्यरत सशस्त्रका कर्मचारीहरू विभागीय कारबाहीमा परेका छन् । सुदूरपश्चिममा १०४ जना, कोशीमा ९३ जना, लुम्बिनीमा ८७ जना, गण्डकीमा ३८ जना र कर्णालीमा ३२ जना विभागीय कारबाहीमा परेका छन् ।
‘प्राय: सीमा क्षेत्रमै खटिएका सुरक्षाकर्मीको व्यापक गुनासो आउँछ । त्यही गुनासोका आधारमा आन्तरिक छानबिन गर्दा दोषी देखिएपछि विभागीय कारवाही हुन्छ,’ सशस्त्र प्रहरी मुख्यालयका एक अधिकृतले लोकान्तरसँग भने, ‘खुलेआम तस्करसँग मिलेर रकम उठाउने धन्दा अहिले कम भएको देखिन्छ ।’
सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कालिदास धौवजीका अनुसार संगठनको नीति, आचारसंहिता र अनुशासनविपरीत काम गरेकाहरूलाई विभागीय कारबाही हुँदै आएको छ । कस्ता–कस्ता विभागीय कारवाही हुन्छन् ? भन्ने प्रश्नमा डीआईजी धौवजीले लोकान्तरसँग भने, ‘कसैको जागिर नै गएको छ । कसैको ग्रेड रोक्का, कसैको बढुवा रोक्का, त कसैलाई नसिहत र स्पष्टीकरण सोधिन्छ ।’ उनले संगठनमा आएका गुनासालाई मात्रै नभएर आन्तरिक छानबिनमार्फत पनि कारबाही हुँदै आएका छन् ।
एसएसपी कर्णजितमाथि गम्भीर आरोप लागेकाले उनीमाथि छानबिन गरेर विभागीय कारबाही गरेको जानकारी धौवजीले दिए ।