२४ जेठ २०८३, आइतबार

अर्को महिना युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य

साउन ८, २०८२
काठमाडौं
अर्को महिना युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य

लोकरक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो ।

ब्यान्डले शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड  प्रस्तुत हुनेछ । त्यहाँस्थित ‘पुलेन हल’ मा ब्यान्डको कन्सर्ट तय भएको छ ।

औद्योगिक युगको वैभव सम्झाउने पुरानो गोदामलाई व्यवस्थित हलमा परिणत गरिएको यो हल हिजोआज नियमित रक कन्सर्ट हुने थलो बनेको छ । 

यसै हलको वेबसाइटमा नेपथ्य कन्सर्टको विवरणसमेत देख्न सकिन्छ । कोपेनहेगन शहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो । यसअघि सन् २०१६ मा ब्यान्डले कोपेनहेगनमा लोकरक सुनाएको थियो ।

डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड शहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस शहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा अगस्ट २७, बुधबार नेपथ्यका गीतहरू गुन्जिनेछन् ।

त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ । एन्थ्रोपेन शहरमा पनि नेपथ्य दोस्रो पटक प्रस्तुत हुन लागेको हो । यसअघि सन् २००५ मा ब्यान्डले त्यहाँस्थित आरेनबर्ग थिएटरमा आफूलाई उभ्याएको थियो ।

नेपथ्यले अघिल्लोपटक सन् २०१६ मा युरोप यात्रा गर्दै जर्मनीको हेम्बर्ग र  डेनमार्कको कोपेन्हेगनमा प्रस्तुति दिएको थियो । बेलायतको लन्डनलाई छाडेर बाँकी युरोपेली मुलुकमा नेपाली थुप्रै सानाठूला सहरमा छरिएर रहेका कारण ठूलो दर्शक उपस्थिति अपेक्षा गर्न कठिन थियो । 

null

पछिल्लो समय यी चार मुलुकमा भने नेपालीको संख्या उल्लेख्य मात्रामा थपिएको छ । त्यसमा पनि खास गरेर माल्टा, पोर्चुगल र बेल्जियममा अर्थोपार्जनका हिसाबले पुगेका नेपालीको संख्या बढी छ । दर्शक संख्याको सकारात्मक संकेत देखेर नेपथ्यले चार शहरमा शृङ्खलाबद्ध यात्रा गर्न लागेको हो । यी चारवटै स्थानमा दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको र केही शोका टिकट सकिन लागेको स्थानीय आयोजकले जानकारी दिएका छन् ।

‘नेपालका सानो बस्तीदेखि लिएर विश्वका अग्रणी शहरसम्म नेपथ्यको प्रस्तुततिले श्रोता दर्शकको मायामा एकरूपता पाउन थालेको छ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यको कार्यक्रममा अपेक्षा गरिने व्यवस्थापकीय र प्राविधिक उत्कृष्टतालाई निरन्तरता दिँदै युरोपमा पनि सबै कार्यक्रम स्तरीय हलमा स्तरीय प्रविधिक संयोजनसहित प्रस्तुत गरिनेछ ।’

यस यात्राका लागि व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली युरोप प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्