
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा राष्ट्रको मान्यता दिने बताएका छन् । यसको औपचारिक घोषणा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिने उनले बताए ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'आजको सबैभन्दा ठूलो आवश्यकता भनेको गाजामा युद्ध अन्त्य हुनु र नागरिकहरूलाई बचाउनु हो । शान्ति सम्भव छ। हामीलाई तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र गाजाका जनतालाई ठूलो मात्रामा मानवीय सहायता चाहिन्छ। मध्य पूर्वमा न्यायपूर्ण र दिगो शान्तिको लागि मेरो ऐतिहासिक प्रतिबद्धताको अंशको रूपमा, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिनेछ।'
प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरेका छन्, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै भनेका छन्, 'आतंकवादलाई पुरस्कृत गर्नुजस्तै हो।'
संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरूमध्ये १४० भन्दा बढीले प्यालेस्टाइनलाई मान्यता दिएका छन्।
तर इजरायलका मुख्य समर्थकहरू, संयुक्त राज्य अमेरिका र बेलायतलगायत देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएका छैनन् ।