२९ जेठ २०८३, शुक्रबार

बागमतीमा कांग्रेस सांसदद्वारा आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव !

साउन ९, २०८२
काठमाडौं
बागमतीमा कांग्रेस सांसदद्वारा आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव !

आफ्नै दलका मुख्यमन्त्री बहादुरसिंह लामाले सहमति तोडेको भन्दै नेपाली कांग्रेस बागमतीका सांसदहरूले अविश्वासको प्रस्तावको तयारी गरेका छन् ।

शुक्रबार चार जना मन्त्रीले राजीनामा दिएपछि अविश्वासको प्रस्ताव राखेर मुख्यमन्त्रीलाई हटाउने तयारी उनीहरूको छ ।

यसैका लागि बागमतीमा आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले दिएका छन् ।

खेलकुद मन्त्रीबाट राजीनामा दिएका श्रेष्ठले मुख्यमन्त्रीले मनोमानी गरेपछि हटाउन खोजेको जानकारी दिए । ‘आधा–आधा कार्यकालको सहमति भएको थियो । तर उहाँले मान्नुभएन । सभापति शेरबहादुर देउवाले राजीनामा दिन भने पनि टेर्नुभएन,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘सही ढंगले नचलेपछि, अर्थमन्त्री पनि अराजक बन्दै गएपछि यो सरकारले चल्दैन भन्ने निष्कर्षमा पुगेका हौं ।’

केन्द्रीय सभापति शेरबहादुर देउवासँग छलफल भएरै आफूहरूले यो कदम उठाएको उनको भनाइ छ । ‘केन्द्रीय सभापतिसँग छलफल भएरै यो कदम उठाइएको हो । हामी भेट्न पनि गएका थियौं,’ श्रेष्ठले भने, ‘अब राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छौं, हटाउँछौं ।’

लामालाई हटाएपछि कांग्रेसकै ईन्द्र बानियाँलाई दलको नेता बनाएर मुख्यमन्त्री बनाउने श्रेष्ठले जानकारी दिए ।

बागमतीमा कांग्रेसका ३७ मध्ये बानियाँको पक्षमा २४ सांसद रहेका श्रेष्ठको भनाइ छ ।

कांग्रेस बागमतीका अर्का सांसद कञ्चनचन्द्र बादेले पनि मुख्यमन्त्रीले राजीनामा नदिने भएपछि अविश्वासको प्रस्तावको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । 

२०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा लामाले ५ मतले बानियाँलाई पराजित गरेका थिए ।

लामाले २१ मत पाउँदा बानियाँले १६ ल्याएका थिए । दुवै जना संस्थापन निकटकै नेता हुन् ।

तर पछिल्लो समय लामाको संस्थापनसँग सम्बन्ध बिग्रँदै गएको थियो । 

मुख्यमन्त्रीले राजीनामा नदिएपछि अविश्वासको प्रस्ताव अगाडि बढाउन चार मन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रीबाट राजीनामा दिएपछि मात्रै अविश्वासको प्रस्तावको प्रक्रियामा सहभागी हुन पाउने भएपछि चार जनाले राजीनामा दिएका हुन् ।

कमेन्ट गर्नुहोस्