२८ जेठ २०८३, बिहीबार

प्रकाशचन्द्र खतिवडाको कविता : मन

साउन १०, २०८२
काठमाडौं
प्रकाशचन्द्र खतिवडाको कविता : मन

झोलामा थन्कँदो रहेनछ मन

न त आकाशजस्तो फैलन्छ नै

मन

झोलामा थन्क्याएर जबर्जस्ती

म रित्तो हिँडेको हुन्छु

बाध्यताको सिरानी लगाएर

प्रत्येक रात

म कोठाभित्र गुम्सिएको हुन्छु

र भित्ताभरि

मनलाई झुण्ड्याएर

म आफैं फाँसी चढेको अनुभव गर्छु ।

उफ ! यी मनका लहडहरू

खोला बगरका असरल्ल ढुङ्गाजस्तै

बर्बादी भएर लडेका छन्

जिउँदो मुर्दा बाँचेको छु ।

मेरा आफन्तहरू मलाई चिथोर्छन्

मेरा पाइतालाका डोबहरू मेटाउने दुष्प्रयास गर्छन्

जाबो एक टुक्रो जमिनको निहुँमा

सम्बन्ध विच्छेदको धम्की दिँदै

तथाकथित शब्दहरूको जुलुस उठाएर

पत्र पठाउँछन् सम्बन्ध विच्छेदको ।

एक टुक्रो मेरो मन

नचाहँदा नचाहँदै

आकाशतिर फर्किएर

अचम्मको हाँसो फ्याक्छ

कि ईर्ष्यामा स्नातकोत्तर गरेछन्

भातृत्व कच्चाक्क कुल्चेर

आफ्नै आमाका मन डस्न

सर्पहरूमा रूपान्तरित भएछन्

आफन्तका कथित मन ।

मायामा अल्झँदो रहेनछ मन

नत विश्वासमा विश्वासै अडिन्छ

जबरजस्ती मनभित्रै अल्झाएर

म आफन्तलाई खोज्न हिँडेको हुन्छु

घात/प्रतिघातको नरमाइलो मन लिएर ।

म पीडाले ग्रसित मुटु लिएर धड्केको हुन्छु

र सडकभरि

मुर्दा मन घसारेर

म आफैं

आतेशमा मसानघाटतिर गइरहेको अनुभव गर्छु

उफ ! यी मनका कोठाहरू

ताला बन्द भएका ढोकाभित्र जस्तै

बन्द भएर थन्किएका छन्

मन

अर्कालाई जीवन ठुङ्गाएर बाँचेको छु

मन

विद्रोह गर्न सक्तैनौं ?

म विद्रोहको आह्वान गरिरहेछु ।

सुन्दरहरैँचा–६, दुलारी, मोरङ   

[email protected]

 

salt training

कमेन्ट गर्नुहोस्