
झोलामा थन्कँदो रहेनछ मन
न त आकाशजस्तो फैलन्छ नै
मन
झोलामा थन्क्याएर जबर्जस्ती
म रित्तो हिँडेको हुन्छु
बाध्यताको सिरानी लगाएर
प्रत्येक रात
म कोठाभित्र गुम्सिएको हुन्छु
र भित्ताभरि
मनलाई झुण्ड्याएर
म आफैं फाँसी चढेको अनुभव गर्छु ।
उफ ! यी मनका लहडहरू
खोला बगरका असरल्ल ढुङ्गाजस्तै
बर्बादी भएर लडेका छन्
म
जिउँदो मुर्दा बाँचेको छु ।
मेरा आफन्तहरू मलाई चिथोर्छन्
मेरा पाइतालाका डोबहरू मेटाउने दुष्प्रयास गर्छन्
जाबो एक टुक्रो जमिनको निहुँमा
सम्बन्ध विच्छेदको धम्की दिँदै
तथाकथित शब्दहरूको जुलुस उठाएर
पत्र पठाउँछन् सम्बन्ध विच्छेदको ।
एक टुक्रो मेरो मन
नचाहँदा नचाहँदै
आकाशतिर फर्किएर
अचम्मको हाँसो फ्याक्छ
कि ईर्ष्यामा स्नातकोत्तर गरेछन्
भातृत्व कच्चाक्क कुल्चेर
आफ्नै आमाका मन डस्न
सर्पहरूमा रूपान्तरित भएछन्
आफन्तका कथित मन ।
मायामा अल्झँदो रहेनछ मन
नत विश्वासमा विश्वासै अडिन्छ
जबरजस्ती मनभित्रै अल्झाएर
म आफन्तलाई खोज्न हिँडेको हुन्छु
घात/प्रतिघातको नरमाइलो मन लिएर ।
म पीडाले ग्रसित मुटु लिएर धड्केको हुन्छु
र सडकभरि
मुर्दा मन घसारेर
म आफैं
आतेशमा मसानघाटतिर गइरहेको अनुभव गर्छु
उफ ! यी मनका कोठाहरू
ताला बन्द भएका ढोकाभित्र जस्तै
बन्द भएर थन्किएका छन्
मन
अर्कालाई जीवन ठुङ्गाएर बाँचेको छु
मन
विद्रोह गर्न सक्तैनौं ?
म विद्रोहको आह्वान गरिरहेछु ।
सुन्दरहरैँचा–६, दुलारी, मोरङ