
वेदशास्त्रका प्रकाण्ड विद्वान् वसिष्ठ र विश्वामित्र समवयीमात्र थिएनन् कडा प्रतिद्वन्द्वी पनि । उनीहरूको अतीत जति विवादित देखिन्छ त्यति नै व्यतिक्रमले भरिएको पाइन्छ । उनीहरूको जन्मप्रक्रिया नै व्यतिक्रमले वेष्ठित पाइन्छ । वसिष्ठ सूर्यवंशी थिए विश्वामित्र चन्द्रवंशी । विश्वामित्र राजा थिए । वसिष्ठ राजा नभए पनि हैसियत कुनै राजामहाराभन्दा कम थिएन । तैपनि उनीहरू जहाँ भेटिन्थे झगडा शुरू गरिहाल्थे । वसिष्ठ पन्छिने प्रयास गर्दै हिँड्थे विश्वामित्र पछ्याउँदै जान्थे । जब भेटिन्थे झगडा शुरू गरिहाल्थे । यस आलेखमा उनीहरूको झगडाको कारण तथा त्यसको नतीजा केलाउने प्रयास गरिएको छ ।
वसिष्ठ उरपुर (हालको भूगोलअनुसार मेसोपोटामिया–इराक)की सौन्दर्य उर्वशीका पुत्र थिए, जो मित्र (सूर्य) र वरुणको संयुक्त भोग्या थिइन् । मित्र (सूर्य) र वरुण दाजुभाइ थिए । १२ भाइ आदित्यमा वरुण जेठा थिए स्ूर्य कान्छा । उर्वशीलाई यी दुई भाइले पालैपालो भोग गर्दथे । त्यसैले वसिष्ठ उनीहरू दुईमध्ये कसको औसरपुत्र हो भन्ने नछुट्टिएकाले दुवैको संयुक्तपुत्रको रूपमा मित्रावरुणपुत्रको नामले चिनिन्थे । उनको रस्तीबस्ती ईलावर्त ( हालको भूगोलअनुसार भारतीय उपमहाद्वीपको गिलगिटपर्वतसम्म र तत्कालीन रुषको दक्षिणपश्चिम हाल किर्गिस्तान, उज्वेकिस्तान, ताजकिस्तान र ईरानको पूर्वीक्षेत्रको भूभाग) मा थियो ।
उनी वैदिकसूक्त रचना गर्थे, त्यसैको आधारमा यजमानी गरेर खान्थे । विस्तारै नारद (ब्रह्मा–वरुणपुत्र) प्रतिस्पर्धी बनेर निस्के । वसिष्ठ जे गर्थे नारदविपरीत । उनी वाममार्गी भनेर चिनिन्थे, उनका सूक्तलाई वामगान भनिन्थ्यो । यसैको कारण उनको नाम नै वामदेव हुन पुगेको थियो ।
विस्तारै ईलावर्तमा नारदको चुरीफुरी बड्दै गयो । कारण उनलाई स्वर्ग (देमावन्द पर्वतशृङ्खला अर्थात् हालको भूगोलअनुसार जर्जियाको ककेशस पर्वतीयप्रान्त)का राजा इन्द्रको समर्थन प्राप्त थियो । किनकि उनले इन्द्रको प्रशस्तिगानमा सयौं सूक्त रचेका थिए । इन्द्रदेवले समेत उनको पक्ष लिन थालेपछि वसिष्ठलाई ईलावर्तमा टिक्न सकेनन् र शाकद्वीप (अरबीभूभाग)तिर लागे तर, त्यहाँ पनि लामो समय भने टिक्न सकेनन् । कारण वलासुरा नगरी (हालको भूगोलअनुसार वासरा–इराक)मा यजमान बलिसँग खटपट परेकाले भृगुपुत्र शुक्राचार्य पनि त्यतै आएर रहन लागेका थिए ।
शुक्राचार्यको झुकाव असुरहरूप्रति थियो, जो वाममार्गपरक थिए । किनकि उनको मावलीकुल असुरहरू थिए । उनका बाबु भृगुको एउटी पत्नी हिरण्यकशिपुपुत्री दिव्या थिइन् । उनकै गर्भबाट शुक्राचार्यको जन्म भएको थियो । असुरहरू वाममार्गी भएकाले शुक्राचार्य पनि वाममार्गकै अनुयायी बनेका थिए । विस्तारै अरबीहरूसमेत शुक्रविचारको अनुयायी बन्दै गएका मात्र थिएनन् उनको मन्दिर नै बनाइदिएका थिए, जसलाई कावा भन्ने गरिएको पाइन्छ । किनकि शुक्राचार्यको एउटा नाम काव्य पनि थियो । यसैको आधारमा त्यसलाई कावा भनिएको हो ।
शुक्राचार्य शिवभक्त भएकाले एउटा शिवलिङ्ग स्थापना गरेका थिए, जसलाई मक्केश्वर महादेव भनिन्छ तर, हजरत मुहम्मदले त्यसलाई कालो पत्थरले ढाकिदिए, जहाँ इस्लामहरूले हज गर्दै आएका छन् । यसो त वसिष्ठले पनि पूर्वजका स्मृतिमा केही सूर्य मन्दिर नबनाएका होइनन् तर त्यसलाई भने उनले भत्काउन लगाए । (आचार्य चतुर्सेन, वयंरक्षाम)
जे होस् शुक्राचार्यका कारण वसिष्ठ त्यहाँ पनि टिक्न सकेनन् र सप्तसिन्धुका सम्राट् दिवोदापुत्र सुदासको कुलपुरोहित बनेर बस्न लागे । उनले दासराजयुद्धमा सुदासलाई निकै सघाएका पनि थिए तर, उनी त्यहाँ पनि लामो समय टिक्न सकेनन् । किनकि उनी आउनुपूर्व सुदासको पुरोहित विश्वामित्र थिए । विश्वामित्रको सम्बन्ध भार्गवकुलसित भएकाले उनी पनि वाममार्गका अनुयायी थिए । त्यसैले उनको यज्ञविधि पनि त्यस्तै थियो, जुन विधान वसिष्ठको विधानसित मेल खान्नथ्यो । यसैको निहुँमा सुदाससित उनको मनमुटाव शुरू हुन थाल्यो । त्यसपछि उनी सुदासलाई छाडी दक्षिण कौशल (छत्तीसगढ र उडिसाको पश्चिमी भूभाग)का राजा कल्मषपादको पुरोहित बन्न पुगे तर, त्यहाँ पनि लामो समय टिक्न सकेनन् र उत्तर कोशल (अवध–उत्तरप्रदेश) का राजा दशरथको पुरोहित बनेर बस्न लागे ।
अब लागौँ विश्वामित्रको जन्मकुण्डली खोतल्नेतर्फ । विश्वामित्र चन्द्रपुत्र बुधका वंशज थिए, जसलाई चन्द्रमाले आफ्नै गुरुपत्नी ताराको गर्भबाट जन्म दिएका थिए । यसैको कारण जन्मदाता मातापितासँग खटपट परेकाले उनी पैतृक भूमि अत्रिपत्तन (आर्यवीर्यान् (अजरवैजान ककेशस पर्वतशृङ्खलाको तल्लोभाग) छाडेर हिँडे । यत्तिकैमा उनको भेट वैवस्वत मनुपुत्री ईलासँग भयो । त्यतिबेला ईला बाबु वैवस्वतबाट दाइजोमा प्राप्त भूमि ईलावर्तमा बस्ने गर्दथिन् । त्यसपछि बुध ईलासँग विवाह गरी त्यतै रहन लागे । रहँदाबस्दा बुध ईलालाई पुरुरवा नामक पुत्र भए, जो पछि गएर गङ्गायमुनाको सङ्गम निकट प्रतिष्ठान नगरीमा रहन लागे ।
एक दिन पुरुरवाको आक्षेटका लागि उत्तरकुरु (हालको भूगोलअनुसार पामीरको पठारदेखि उत्तरीध्रुवसम्मको भूभाग)तिर गएको बेला स्वर्गकी अप्सरा उर्वशीसँग भेट भयो, जो इन्द्रसँग रिसाएर हिँडेकी थिइन् । त्यसपछि पुरुरवाले उनलाई साथमा लिएर आए । रहँदाबस्दा उनको उर्वशीको तर्फबाट छ पुत्र भए । यीमध्ये पाँचौ पुत्र विजयको वंशमा कुश नामक पुत्र भए, जो शोण नदी (मध्यप्रदेशको अमरकण्टकबाट निस्केर उत्तरबाहिनी हुँदै विहारको पटनानजिक गङ्गा नदीमा मिल्दछ)को तटवर्ती भूमिका सम्राट् थिए । कुशलाई पत्नी वैधर्वीको तर्फबाट कुशनाभ, कृशाश्व, अमूर्तरजस र वसु चार पुत्र प्राप्त भएका थिए । यीमध्ये कुशनाभले महोदयनगर बसाए । कृशाश्वले कौशाम्बीनगर, अमूर्तरजसले धर्मारण्य र वसुले गिरिब्रज नामक नगर बसाएका थिए ।
यसै क्षेत्रमा चुलि नामका ऋषि तपस्या गर्दथे । उर्मिला नामकी गन्धर्वी उनको सेवा गर्दथिन्, जसको सोमदा नामकी कन्या थिइन् । सोमदाको सौन्दर्यबाट आकर्षित भएका ऋषि चुलिले उनीको साथमा विवाह गरी ब्रह्मदत्त नामका पुत्र जन्माए । ब्रह्मदत्त मावलीकुल गन्धर्वहरूले दिएको भूमि काम्पिल्यको राजा बने, जसलाई महोदयनगरका राजा कुशनाभले घृताची अप्सराको तर्फबाट जन्मेकी छोरी दिएका थिए । पछि उनको गर्भबाट ब्रह्मदत्तलाई गाधि नामका पुत्र भए, जो कौशाम्बी नरेश कृशाश्वपुत्र कृषिकको धर्मपुत्र बनाकाले पैतृकभूमि काम्पिल्य छाडी कौशाम्बीमा बस्ने गर्दथे । कृषिकले पछि कान्यकुब्जमाथि समेत कब्जा जमाएकाले उनको शेषपछि गाधी यी क्षेत्रका राजा बन्न पुगे । यिनै गाधीको घोषा नामकी अप्सराबाट सत्यवती छोरी र विश्वरथ छोरा भएका थिए, जो पछि गएर तपोबलले राजर्षि हुँदै ब्रह्मर्षि बन्न पुगेका थिए ।
सत्यवतीको विवाह भृगुपुत्र (शुक्राचार्यको भाइ) ऋचिकसँग भएको थियो, जो शुक्रजस्तै वाममार्गी थिए । पछि ऋचिक र सत्यवतीको तर्फबाट यमदग्नि पुत्र भए । यमदग्नि र विश्वरथ मामा भाञ्जा ऋचिकको पाठालाबाट दिक्षित भएकाले दुवै वाममार्गी नै थिए ।
यसरी विश्वामित्र अथर्ववेदी वाममार्गी बनेका थिए भने वसिष्ठ ऋग्वेदी अग्निहोतृ । फलत: वेदविधिपरम्परामा फरक पर्थ्यो र बरोबर झगडा पर्ने गर्दथ्यो । यसैका कारण उनीहरूले ठूलो मूल्य चुकाउनु परेको थियो । विश्वामित्रले राज्यभ्रष्ट भई लामो समय वनमा बिताउनुपरेको थियो भने वसिष्ठले परासरका बाबु शक्तिसहित सयौँपुत्र गुमाउनुपरेको थियो तर, सँधै झगडा गरेर चल्नेवाला थिएन । त्यसैले शायद तत्कालीन धर्मसभाले हुनुपर्छ उनीहरूबीच सन्धि गरायो र विश्वामित्र र वामदेवको अथर्ववेदीय सूक्तहरू पनि ऋग्वेदमै समावेश हुन पुगेको अनुभूत हुन्छ । फलत: नारद–वामदेवको सूक्त ऋग्वेद चौथोमण्डमा समावेश हुन पुगेको देखिन्छ, जसलाई वामदेव्य मण्डल भन्ने गरिएको पाइन्छ भने विश्वामित्रका सूक्तहरू तृतीयमण्डलमा समावेश भएका छन्, जसलाई वैश्वमित्रमण्डल भन्ने गरिएको छ । वाममार्ग भन्नाले तन्त्र, मन्त्र र यन्त्र र भैषज्यपरक मन्त्र हो भन्ने बुझिन्छ । किनकि यी मण्डलका सूक्त तथा मन्त्रहरू प्राय: विज्ञान र प्रविधिपरक रहेका पाइन्छन् ।