२६ जेठ २०८३, मंगलबार

जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने स्वास्थ्यमन्त्रीको घोषणा

साउन १०, २०८२
काठमाडौं
जलवायु परिवर्तनले नेपालीको स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने स्वास्थ्यमन्त्रीको घोषणा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गरेका छन् ।

चीनमा भएको फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै  मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताए । 

यसका माध्यमबाट नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उनले एसियाली देशहरूसँग सहकार्यका लागि तयार रहेको बताए ।

आधुनिक प्रविधिले लागत घटाउन, निदान, स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा शुद्धता सुधार गर्न सक्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्यको पहुँचबाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको बताए ।

मन्त्री पौडेलले फोरम अन्तर्गतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभाव सम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे ।

जलवायु उत्पन्न स्वास्थ्य संकटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने दृढता व्यक्त गरे ।

चीन भ्रमणका क्रममा मन्त्री पौडेलले त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए)का निर्देशक शेन होङबिनसँग भेट गर्दै स्वास्थ्य सहकार्यका लागि आग्रह गरेका थिए ।

नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीसमेत सहभागी द्विपक्षीय भेटमा हेटौँडाको भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्यूरो उपचार केन्द्र लगायतका विषयमा छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट गर्दै चीनमा प्राप्त ज्ञान र सीपबाट राष्ट्रको लागि योगदान पुर्‍याउन आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्