
यही शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा सङ्गीतकार न्ह्यु बज्राचार्यको पलेँटी सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको पलेँटीमा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।
गीतार बजाउँदै स्टेजमा बसेका न्ह्युकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको पहिले गीत सुनाउँदा उनले केही वर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए । लासमितको स्वरमा रेकर्ड भएको ‘नआऊ सपनाभरि’ सङ्गीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो ।
त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउँदै ‘अघिअघि जिन्दगी’ सुनाएका थिए । तेस्रो प्रस्तुतिमा गीतकार विप्लव प्रतीकको काव्यात्मक गीत ‘एउटी सानी परी’ रहेको थियो ।
सोलो गीतार बजाउँदै प्रस्तुत भएका न्ह्युले जब रमण घिमिरेको शब्द ‘आधी बाटो हिँडेपछि’ सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्यो ।
कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो । उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको ‘यो मन त तलाउ हो’लाई कुशलता पूर्वक प्रस्तुत गरेकी थिइन् ।

राजेन्द्र थापाको यस गीतपछि बानिकाले विभिन्न चरणमा ‘तिमी बाहेक’, ‘खाटा बसेछ’, ‘ए ऐना’ र ‘छाएछ बसन्त’ बोलका गीतहरू प्रस्तुत गेरकी थिइन् ।
न्ह्युका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदन कृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए । कार्यक्रममा न्ह्यु आफैंले लेखेका गीतहरू पनि प्रस्तुत भएका थिए ।
आगामी अगष्ट महिनाको पलेँटीमा सङ्गीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको जानकारी पलेँटी संयोजक आभासले गराएका थिए । रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, सङ्गीतमा क्रियाशील कलाकार हुन् ।