२८ जेठ २०८३, बिहीबार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ गाडी लन्च हुँदै

साउन १३, २०८२
काठमाडौं
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ गाडी लन्च हुँदै

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ नयाँ सवारी साधन लन्च हुने भएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाइमाले एक्पोमा ३५ नयाँ गाडी लन्च हुने जानकारी दिएको हो ।

पहिलोपटक नाइमाले आयोजना गरिरहेको अटो एक्स्पो भव्यताका साथ सम्पन्न गरिने अटो एक्स्पो समितिका सदस्य गौरव सारडाले बताए ।

यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने र भौतिक पूर्वाधारमा निकै सुधार गरिएको अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले बताए । विशेषतः जल निकासी, अपाङ्ग मैत्री पूर्वाधार जस्ता व्यवस्था एक्स्पोमा गरिएको उनको भनाइ छ ।

उनले यसपालि नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने, विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने जानकारी पनि दिए । प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे, र ५ वटा कमर्सियल गाडीहरू सार्वजनिक हुने उनले जानकारी दिए ।

त्यसपश्चात् मुख्य प्रायोजक संस्थाहरू– एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता जनाए ।​​​

एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको प्रदर्शनीमा टिकेटिङ पार्टनरको रूपमा खल्ती बाई आईएमई, बेभरेज पार्टनरमा माउण्टेन ड्यू, विङ्गर पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्वेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वर्ल्ड लिङ्ग, हस्पिट्यालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाईन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।​ 

प्रदर्शनीका आगन्तुकहरूलाई प्रायोजक कम्पनीहरूले पनि विशेष प्रावधानको व्यवस्था गरेको छ। राईड पार्टनर पठाओले प्रर्दशनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरूमा ३० प्रतिशत सम्मको छुट दिँदै छ भने मेडिकल पार्टनर फ्रन्टलाईन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने भएको छ।

यस बाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । यो प्रतियोगितामा २१ श्रावणसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अपलोड भएका १० उत्कृष्ट भिडियोहरू प्रत्येक लाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले मिडिया तथा साझेदारहरूलाई धन्यवाद दिँदै 'नाइमा मोबिलिटी एक्स्पो २०२५' नेपालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्नेमा विश्वास व्यक्त गरिन् । यसका साथै प्रदर्शनीको पाँचौं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसनको बारेमा पनि जानकारी दिइन् ।​​

प्रदर्शनीको पहिलो दिन अनिलकेशरी शाहले २ बजेदेखि ५ बजेसम्म 'मोबिलिटी हिजो, आज र भोलि' विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्दै छन् भने अरु दिनको सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेसनजस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

'नाइमा मोबिलिटी एक्स्पो २०२५' यही साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ । जहाँ ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन्।​

प्रदर्शनीको  टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा बिक्री भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोशिपहरू प्रदान गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्