२५ जेठ २०८३, सोमबार
चलायमान बन्यो चोभार

चोभार सुक्खा बन्दरगाह राज्यलाई कमाएर दिनसक्ने अवस्थामा पुगिसकेको छ [भिडियो स्टोरी]

साउन १४, २०८२
काठमाडौं
चोभार सुक्खा बन्दरगाह राज्यलाई कमाएर दिनसक्ने अवस्थामा पुगिसकेको छ [भिडियो स्टोरी]

चार वर्षअघि सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाह चलायमान हुँदै गएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिद्वारा सञ्चालित बन्दरगाहमा धेरै गाडीहरूको पार्किङ गरिएको छ । बन्दरगाह सञ्चालनमा आएसँगै करोडौं कमाएर राज्यलाई दिनसक्ने अवस्थामा पुगेको समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले बताए । चोभार सुक्खा बन्दरगाहसहित देशभरका बन्दरगाहको अवस्थाबारे निर्देशक गजुरेलसँग लोकान्तरका अंकुश विष्टले गरेको कुराकानीको अंश:

इन्टरमोडल यातायात विकास समितिले निर्माण गरेको चोभार सुक्खा बन्दरगाह अहिले कस्तो अवस्थामा छ ?

पछिल्लो समय विद्युतीय सवारी साधन व्यवस्थापनको हबजस्तै बनिरहेको छ । हजारभन्दा बढी विद्युतिय सवारी साधन निरन्तर पार्किङमा छन् । यसले चोभारको ड्राइपोर्टलाई चलायमान पनि बनाएको छ । तर, थप मालवाहक कन्टेनर तथा ट्रक पनि ल्याउन निकै मेहेनत गरिराखेको छौँ ।

विशेषगरी तातोपानी नाका र रसुवागडी नाकाबाट कन्टेनरहरू ड्रााइपोर्टमा ल्याउन कोसिस गरेका छौं । तातोपानीबाट हामी कन्टेनर ल्याउन सफल तर,े रसुवाबाट अझसम्म आउन नसकेको अवस्था हो ।

त्यस्तै, दक्षिणी नाका, खास गरेर वीरगंजबाट पनि चोभारमा मालवस्तु आउने गरेका छन्  ।  तर, चोभारको सुक्खा बन्दरगाह भनेको चोइस हो । कसैलाई म वीरगंज होइन, विराटनगर होइन, भैरहवा होइन, म चोभारमा लिएर आउँछु र भन्सार जाँचपास गर्छु भन्दा नि पायो । होइन म नेपाल छिर्ने नाका वीरगंज हो, भैरहवा हो, विराटनगर हो, म त्यहीँ क्लियर गर्छु भन्न पनि पाइयो । हामीले सुविधा दिने हो । मान्छेलाई चोभार विकल्प हो । जहाँ सहज हुन्छ त्यहीँ गरिरहनुभएको छ ।

हामीले चोभारलाई बन्दरगाहमा मात्र सीमित नगराएर एउटा व्यापारिक पूर्वाधारको रूपमा प्रयोग गरिराखेका छौं । जहाँ बन्दरगाहलाई दुई भागमा छुट्याएका छौँ । एक भाग पूर्ण रूपमा भन्सार जाँचपासको लागि प्रयोग हुन्छ । एकतर्फ लजिस्टिक्स हबको रूपमा प्रयोग हुन्छ । यो नयाँ कन्सेप्ट हो जुन एकदमै सफल पनि भएको छ ।

लजिस्टिक्स हबको पनि आधामा पार्किङ सुविधा दिइरहेका छौं । गोदामहरू प्रयोग गर्न मिल्छ, एक्सपोर्ट गर्न, प्याकेजिङ गर्न मिल्छ, लेबलिङ, प्रोसेसिङ गर्न मिल्छ ।  हामीसँग भएको एरिया दिन्छौं ।

राज्यले बनाएको पूर्वाधारले राज्यलाई कमाएर दिने स्थितिमा पुर्‍याइसकेका छौं । त्यो नै हाम्रो सफलता हो भन्ने लाग्छ ।

रसुवागढीमा गएको बाढीले निर्माणाधीन बन्दरगाह ध्वस्त बनाइदियो । अर्बभन्दा बढीको क्षति पनि भयो । त्यसको प्रभाव चोभारलगायत अन्य बन्दरगाहमा पर्ने त होइन ?

असार २४ पछि  रसुवागढी नाका बन्द छ । भन्सार पार तथा क्लियर भएर निस्केका सवारीहरू केही चोभार सुक्खा बन्दरगाहमा आएका छन् । तर, त्यति धेरै ठूलो मात्रामा आएका छैनन् ।

गत जेठ १५ को आसपास झन्डै १ हजार २५० इभी चोभारको सुक्खा बन्दरगाहमा थिए भने आज पनि लगभग १२ सयकै हाराहारीमा छन् ।

बजेट भाषणको वरिपरि चोभार बन्दरगाहमा झन्डै १ हजार २५० इभी व्यवस्थापन भएर बसेका थिए ।  रसुवा, तातोपानी र अन्य नाकाबाट गरी ५ हजारदेखि ६ हजारको हाराहारीमा इभीहरू कतै न कतै पार्किङ भएर बसेका थिए । अहिले पनि कही न कही पार्किङमा बसेका छन् । अझै ४/५ महिना पुरानै स्टकले धान्छ ।

रसुवागढीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहमा कति क्षति भएको छ ? अब बन्दरगाह पुन: निर्माण हुन्छ ?  

हामीले चीनतर्फको तिब्बत होली कन्स्ट्रक्सनको प्रोजेक्ट म्यानेजरलाई छलफलको लागि समितिको अफिसमा बोलाएका थियौं ।  हामीले छलफल पनि गर्‍यौं । अब उनीहरूको भनाइ अनुसारले करिब १ अर्ब रुपैयाँको क्षति भएको छ । ४०० मिटर भोटेकोशीतर्फको रिटेन्सन वाल थियो त्यो पूर्ण रूपमा भत्केको छ । त्यस्तै पार्किङको लागि आरसीसी ढलान पेमेन्ट बनेको थियो, त्यो पनि पूर्ण रूपमा क्षति भइसकेको छ । दुइटा गोदाम पनि क्षति भएको छ र दुइटा चेकजाँच गर्ने सेड पनि क्षति भएको छ । निर्माण कम्पनीले ल्याएको मिक्सर बगाएको छ ।

करिब १ अर्ब रुपैयाँको निर्माण  क्षतिको अनुमान गरिएको छ । खाली एउटा डाँडामा बनेको ५ तले प्रशासनिक भवन जस्ताको तस्तै छ । त्योबाहेक अरू सबै संरचना बिग्रेको छ ।

छलफलको क्रममा उनीहरूले अब यही ठाउँमा फेरि पुनर्निर्माण नगरौँ यो जोखिम क्षेत्र हो । हामीले खर्च गरेर फेरि बनायौं भने फेरि कुनै न कुनै वर्ष भोटेकोशीमा बाढी आउँछ, फेरि बगाउँछ । त्यही भएर यो उचित क्षेत्र होइन भन्ने कुरा गर्नुभएको छ ।

निर्माण व्यवसायीसँग छलफल गर्दा जुन ठाउँमा हामीले रसुवामा सुख्खा बन्दरगाह बनाइराखेका छौं, त्यो उपयुक्त ठाउँ होइन भन्ने कुरा आएको छ ।

अहिलेको समयमा सुक्खा बन्दरगाह अफल कि असफल ?

राज्यका विद्यमान निकायमध्ये सुख्खा बन्दरगाह एकदम प्रभावकारी रूपले काम गरिरहेको संस्था हो । आठवटा पोर्टहरू सञ्चालन गरेर हामीले वार्षिक १७० करोड रुपैयाँ आम्दानी पनि गरिरहेका छौं ।  हाम्रो खर्च पनि एकदमै कम छ । हामीले चाहिँ निजी सार्वजनिक निजी साझेदारी मोडलको पनि राम्रो प्रयोग चाहिँ गरिरहेको स्थिति छ ।

पछिल्लो समय अलपत्र परेर बसेको चोभार सुख्खा बन्दरगाहलाई पनि हामीले सफल निर्माण गर्‍यौँ र आज यसलाई हामीले राज्यले कमाउने स्थितिमा पुर्‍याइसकेका छौं । त्यो पनि एउटा ठूलो सफलता हो ।

बन्दरगाहको सेवाको स्तर पनि अत्याधुनिक औजारहरू, इक्विपमेन्टहरू हामीले प्रयोग गरिरहेको देख्न सक्छौं । अत्याधुनिक सफ्टवेयरहरू पनि प्रयोग गरेका छौं । पूर्वाधारहरू हेर्नुभयो भने एकदमै अप टु डेट, एकदमै स्ट्यान्डर्ड पूर्वाधारहरू निर्माण गरेका छौं ।

अब सबै नाकामा बन्दरगाह बनाउनुपर्छ भन्ने पनि छैन । कहाँ–कहाँ आवश्यक छ, त्यो बनाउने हो । अहिले पनि भारततर्फ हाम्रो ६ वटा नाकामा बन्दरगाह छन् । चीनतर्फ हेर्नुभयो भने तातोपानीमा सञ्चालनमा छ ।

रसुवामा बन्दै थियो जुन अहिले बाढीले ध्वस्त गर्दियो । कोरलामा पनि बन्दरगाह बनाउने भनेर हामीले अध्ययन गरेका छौं । यीबाहेक पनि उत्तरतिर नाका जस्तै ओलाङचुङगोला, यारी, हिल्सामा पनि सम्भाव्यता अध्ययन हामीले गरिसकेका छौं ।

हामी अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न बनेको संस्था हो । आज चोभारमा निर्यात गर्ने सामान, जस्तै: अमेरिका, युरोप, अस्ट्रेलिया, अफ्रिका जहाँ निर्यात गर्न भन्नुहुन्छ हामी त्यो सुविधा चोभार सुख्खा बन्दरगाहबाटै दिन्छौं । जुनसुकै बन्दरगाहबाट पनि दिन्छौं । आयात हुने सामानलाई पनि हामी सुविधा दिन्छौं ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्