
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यातायात व्यवस्था विभागसँग छलफल गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विभागका महानिर्देशक राजीव पोखरेलसँग भेटवार्ता गरेको हो ।
भेटवार्तामा विभागले ल्याउन लागेको सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल भएको छ ।
भेटमा सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतीय सवारी साधनको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माग, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणका लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधन व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा जीपीएस अनिवार्य गर्ने लगायतका विषयमा छलफल भएको छ ।
छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनुपर्ने धारणा राखे । यसैक्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफल गरी सुझाव पठाउने बताउँदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गरे ।
बैठकमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदा नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयमा थप छलफलको आवश्यकता रहेको बताए ।
छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात, उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी दिए ।
सोही छलफलको क्रममा उनले सरकारले व्यवसायीका लागि विभिन्न व्यवधान सिर्जना गर्ने गरेको आमबुझाई रहेको भए पनि अब सरकार व्यवसायीहरूको परिपूरकको रूपमा उभिने उल्लेख गरे ।
विभागसँग मिलेर नाडाले सवारी साधनका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिँदै महानिर्देशक पोखरेलले मुख्यत: ३ वटा विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्न सकिने बताए ।
छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात हुने सम्बन्धी व्यवस्थाका सम्बन्धमा बैठकलाई विस्तृत रूपमा जानकारी गराए ।