२९ जेठ २०८३, शुक्रबार
संवैधानिक इजलास गठन विवाद

‘गोलाप्रथाबाट संवैधानिक इजलास गठनको कुराले न्यायालयमा अव्यवस्था निम्त्याउँछ, संविधान प्रतिकूल हुन्छ’

साउन १७, २०८२
काठमाडौं
‘गोलाप्रथाबाट संवैधानिक इजलास गठनको कुराले न्यायालयमा अव्यवस्था निम्त्याउँछ, संविधान प्रतिकूल हुन्छ’

संवैधानिक इजलास गठन गोला प्रथाबाट गर्ने कि संविधानमा भएको व्यवस्था अनुसार न्यायपरिषद्ले सिफारिस गरेका न्यायाधीशमध्ये प्रधानन्यायाधीशले गर्ने भन्ने विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरूबीच नै विवाद उत्पन्न भएको छ । सर्वोच्च अदालतको फुलकोर्टमा यो विषयले विवाद उत्पन्न भएको छ भने न्यायाधीशहरूबीच नै विवाद र तिक्तताको अवस्था सिर्जना भएको छ ।

संवैधानिक इजलास गठनमा उत्पन्न विवादबारे संवैधानिक इजलासमा बसेर कयौं मुद्दाको फैसला लेखेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडासँग कुराकानी गरेका छौं । पूर्वन्यायाधीश खतिवडासँग लोकान्तरले गरेको कुराकानीको सार:

संवैधानिक इजलासका लागि गोला प्रणालीको कुरा कहीँ भएको छ भने त्यो कुरा गलत हो, त्यस्तो हुनु हुँदैन । संविधान कानून अनुकूलको कुरा पनि हुँदैन । उचित कुरा पनि होइन । यदि त्यसो गर्न खोजिएको हो भने यो विल्कुल गलत कुरा हो । तर, के गर्न खोजिएको छ भन्ने मलाई धेरै थाहा भएन ।

यो कुरा (गोलाबाट संवैधानिक इजलास बनाउने कुरा) किन गलत हुन्छ भने, संवैधानिक इजलासका लागि न्यायाधीश तोक्ने काम प्रधानन्यायाधीशले गर्छ भनेर संविधानको धारा १३७ मा प्रस्ट लेखेको छ । संविधानमा चाहिँ प्रधानन्यायाधीशले तोक्छ भनेर लेख्ने, अहिले तपाईंले चलन चलाएर या नियम बनाएर त्यसलाई बदल्न त पाउनु हुन्न नि ! लामो के कुरा छ यसमा ?

पहिलो कुरा गोलावाला कुरा नै गलत हो, म त अरु गोला लगाएको कुरामा पनि सहमत छैन । न्याय प्रणालीलाई बिथोल्ने, बिगार्ने र कमजोर बनाउने काम हो त्यो । अरु गोला लगाउने कुरामा पनि मेरो कहिल्यै सहमति पनि भएन ।

त्यो भन्दा अगाडि बढेर संवैधानिक इजलासका लागि यस्तो कुरा गर्ने भनेको अझ बढी आपत्तिको कुरा हो ।

गोला तान्ने कुराले न्यायालय कमजोर हुन्छ, अव्यवस्था निम्त्याउँछ, यसले गलत परिपाटीको विकास हुन्छ । कसैको जिम्मेवारीको कुरा हुँदैन, मुद्दा तोक्न पनि नपर्ने, त्यो जिम्मा लिनु पनि नपर्ने अनि तोक्ने अधिकार पाउँदा पनि ढंगले तोक्न नपर्ने अनि त्यो प्रधानन्यायाधीशको कुर्सीमा किन बस्नु पर्ने ?

जिम्मेवारीमा बसेपछि ढंगले पूरा गर्नु पर्‍यो नि, त्यो भएन । हिजोको दिनमा जसले अधिकार पाएको थियो, उसले अधिकारको दुरुपयोग गरेका उदाहरण त छन्, तर कुनै उदाहरण या व्यक्तिले गरेको कामका कमी कमजोरीलाई लिएर पद्धति नै भत्काउनु त हुँदैन होला नि !

संवैधानिक इजलास रोक्नु हुँदैन भनेर गरिएको त्यो आदेश

२०७३ सालमा संवैधानिक इजलासका लागि तोकिएका न्यायाधीश एकपछि अर्को गरेर रिटायर्ड भए । ०७२ सालको संविधान जारी भएपछि शुरूमा न्यायपरिषद्ले प्रधानन्यायाधीश बाहेक अरु ४ जना न्यायाधीश तोकेको थियो । ४ जनामध्ये न्यायाधीशहरू क्रमशः रिटायर्ड हुन थाले, २ जना भइसकेका थिए । त्यहाँ कोरम पुगेन । परिषद्‌बाट न्यायाधीश तोक्ने काम रोकिएर १० महिनादेखि इजलास बस्न सकेको थिएन । 

तोक्ने काम न्यायपरिषद्ले गर्नुपर्थ्यो । न्यायपरिषद्‌बाट सिफारिस भएको थिएन । १० महिनादेखि सुनुवाइको कुरा रोकिएपछि त्यो सम्बन्धमा अधिवक्ता माधवकुमार बस्नेतले दायर गरेको रिटमा मसहित ४ जनाको इजलासबाट आदेश गरेका थियौं, न्यायाधीश तोक्नू भनेर ।

संवैधानिक इजलास सञ्चालनका लागि कोही न्यायाधीश अनुपस्थित रहेपनि इजलास निर्वाध चल्न सक्ने गरी यथेष्ट संख्यामा न्यायाधीश तोक्नू भनेर रिट आदेश जारी गरेको हो । न्यायपरिषद्ले न्यायाधीश नतोकेपछि इजलास बस्न नसकेको १० महिना भएको थियो, त्यो अति हो । संवैधानिक इजलास रोक्नु हुँदैन, न्यायाधीश तोक्नू भन्ने आदेश भएको थियो ।

मलाई याद भएसम्म जगदीश शर्मा पौडेल, केदार प्रसाद चालिसे, म, अनिल सिन्हा र सपना प्रधान मल्ल थियौं । मैले सम्झेसम्म ५ जना हामी नै हो । 

संविधानको धारा १३७ को स्प्रिट

संवैधानिक इजलास गठन सम्बन्धी धारा १३७ को व्यवस्था कायम हुनुमा पृष्ठभूमि पनि छ । संविधान बन्ने बेला छुट्टै संवैधानिक अदालत बनाउनु पर्ने कुराको बहस पनि भएको थियो । चाहिँदैन भन्ने कोणबाट पनि कुरा चल्यो । छुट्टै अदालत नबनाउने तर सर्वोच्च अदालतमै संवैधानिक इजलास बनाउने भन्ने ‘कम्परमाइज पोइन्ट’मा गएर सहमति भयो ।

संविधान बनाउनेहरूले सावधानी अपनाएका होलान्, संवैधानिक इजलासमा बस्ने न्यायाधीशमा प्रधानन्यायाधीश अनिवार्य र अरु ४ जना न्यायाधीश सर्वोच्च अदालतमा भएका जोसुकै न्यायाधीशबाट प्रधानन्यायाधीशले तोक्ने होइन न्यायपरिषद्ले सिफारिस गरेर तोकिएका मान्छेबाटै संवैधानिक इजलास बस्नुपर्छ भन्ने व्यवस्था भयो । अर्थात् यसलाई एउटा कन्ट्रोल रूपमा र धेरै छ्यासमिस नबनाउने रूपमा व्यवस्थित गर्न खोजेको होला । त्यो गर्नु हुन्थ्यो हुँदैनथ्यो, छुट्टै बहसको विषय होला । यो ठीक, यो बेठीक भन्नु भन्दा संविधानमा जे छ, त्यही हेर्ने न हो।

संविधानले प्रधानन्यायाधीश नभएसम्म अरु न्यायाधीशबाट संवैधानिक इजलास बस्दैन भनेर भनेको छ । न्यायिक नेतृत्वलाई संवैधानिक विवादको कुरामा उत्तरदायी र जिम्मेवार बनाउने, हेर्ने अवस्था मिलाउन खोजेको होला ।

संविधानले न्यायिक नेतृत्वलाई दिन खोज्ने, यता कार्यान्वयनको तहमा त्यो जिम्मेवारीबाट भाग्न, भगाउन खोजियो भने त कुरा उल्टो बाटो पर्ला नि त !

यो पनि पढ्नुहोस् :

गोलाप्रथाबारे सर्वोच्चमा विवाद चर्किँदै गर्दा के भन्छन् कानून व्यवसायी ?

सर्वोच्चको पूर्ण बैठकमा न्यायाधीशहरू विभाजित, संवैधानिक इजलास गठनबारेको एजेण्डा अलपत्र

salt training

कमेन्ट गर्नुहोस्