
पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक वर्षमा रु एक अर्ब मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएका सामान बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले गत आवमा बिलबिजक नभएको भन्दै रु ५२ करोड चार लाख ५८ हजार २९३ मूल्य पर्ने ९१ वटा मालबाहक सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । त्यस्तै गत आवमा पर्सा प्रहरीले रु सात करोड ८९ लाख ४३ हजार ११० मूल्य पर्ने भन्सार छलीका सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।
पर्सा प्रहरीले विशेषगरी बिलबिजकभन्दा धेरै सामान बोकेका मालबाहक सवारीसाधन, सवारीसाधनका पार्टपुर्जा हार्डवेयर, इलेक्ट्रिक्स, लत्ताकपडा, ड्राइफ्रुट्सलगायत सरसामान बरामद गर्दै आइरहेको जनाएको छ । पर्साका ग्रामीण क्षेत्रमा भारतबाट भैँसी, कुखुराको चल्ला, विभिन्न प्रकारका गुट्खा, ड्राइफुट्सलगायत वस्तु तथा सामान तस्करी हुने गरेको स्रोतले दाबी गरेको छ ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सीमा क्षेत्रबाट हुने अवैध चोरीपैठारी तथा निकासी नियन्त्रणका लागि प्रयास गरिराखेको दाबी गरे ।
वीरगञ्जस्थित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयले संयुक्त रूपमा वीरगञ्जको सहरी क्षेत्रमा अवैध रूपमा सञ्चालन गरिँदै आएको गोदाममा छापा मारेर औसतमा सातामा दुई पटकसम्म करिब रु सात लाखदेखि १५ लाखसम्मका अवैध लत्ताकपडा र सवारीसाधनका पार्टपुर्जालगायतका घरासयी प्रयोजनका सामान पनि बरामद गर्दै आइरहेको छ ।
अर्काेतर्फ सशस्त्र प्रहरीका जिल्लामा भएका अन्य युनिटले सोही परिमाणका सरसामान बरामद गर्दै आइरहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटर पर्साले गत आव २०८१/८२ मा रु ४० करोड ९१ लाख ९७ हजार ३७७ मूल्य पर्ने भन्सार छली तथा बिलबिजक नभएको सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीले गत आवमा भन्सार छलीका रु २८ करोड ९२ लाख ५० हजार १९९ मूल्यका सामान भन्सार कार्यालयमा बुझाएको थियो ।
त्यस्तै गत आवमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलबिजक नभएका सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो । वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले पनि विशेष सूचनाको आधारमा भन्सार कार्यालय र सशस्त्र प्रहरीले भन्सार छली गरेर अवैध रूपमा सामान सङ्कलन गरेको गोदामबाट विभिन्न प्रकारका सामान बरामद गर्दै आइरहेको बताए ।