
नेकपा (माओवादी केन्द्र)मा उपमहासचिव जनार्दन शर्माविरुद्ध अधिकांश नेता एक ठाउँमा उभिएका छन् । पार्टीमा विधि, पद्धति र प्रणाली विकासको बहस चलाएको आधारमा शर्माविरुद्ध माओवादीका प्राय: शीर्ष नेता एक ठाउँमा उभिएका हुन् । २४ पदाधिकारीसहित ४६ सदस्यीय स्थायी कमिटीको बैठकमा शर्माको पक्षमा थोरै सदस्य मात्रै उभिए ।
पार्टी सुधारको पक्षमा आवाज उठाएकै आधारमा शर्मालाई लक्षित गर्दै माओवादीले अनुशासनको कारबाहीको डण्डा चलाउने निर्णय गरेको छ ।
पार्टी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले रुपान्तरणको महाअभियानमा रहेको माओवादीले स्थायी कमिटीबाट गुटबन्दी अन्त्यको निर्णय लिएको दाबी गरे ।
‘पार्टीमा गुट–उपगुट र स्वार्थ समूह विघटन गर्ने एवं संकल्प प्रतिबद्धता व्यक्त भएको छ । निर्णयविपरीत गए कारबाहीको दायरामा ल्याउने निर्णय गरेका छौं,’ सापकोटाले भने, ‘जसका लागि अनुगमन समिति बनाउने समझदारी भएको छ । केन्द्रदेखि प्रदेशसम्म गुटबन्दी भए/नभएको अनुगमन हुन्छ । बैठकले शुद्धीकरण र रुपान्तरणको पक्षमा महत्त्वपूर्ण निर्णय गरेको छ । विधान विपरीतका कुरा र आचारसंहिताविपरीत जान खोज्नेलाई विधि, पद्धति र प्रक्रियामा चल्ने संकल्प बैठकले गरेको छ ।’
बैठकपछि सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि स्थायी कमिटी शर्माको अभिव्यक्तिको वरिपरि केन्द्रित रहेको सन्देश दिएका थिए ।
‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणका निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो,’ प्रचण्डले पार्टीमा गुटबन्दीको प्रयास भएको शैलीमा भने, ‘त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं । र, पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छौं । अबदेखि हामी सुदृढ एकताका साथ सबै गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प गरेका छौं । सामूहिक रूपले प्रतिबद्धता व्यक्त गरेका छौं ।’
पार्टी सुधारको पक्षमा आवाज उठाएका उपमहासचिव शर्माको पक्षमा पदाधिकारी राम कार्की र स्थायी समिति सदस्य परशुराम तामाङ मात्रै शर्माको पक्षमा उभिए । पार्टी रुपान्तरणका लागि शर्माले उठाएको विधि र प्रक्रिया उचित रहेको यी दुवैको तर्क थियो । कार्कीले प्रचण्डको स्वास्थ्य राम्रो हुँदै नेतृत्व हस्तान्तरणको प्रक्रियामा माओवादी लाग्नुपर्ने तर्क गरेका थिए ।
यी दुईबाहेक अधिकांश पदाधिकारी र स्थायी कमिटी सदस्य शर्माविरुद्ध देखिए । लामो समयपछि स्थायी कमिटी बैठक बसे पनि बहस शर्माकेन्द्रित हुन पुग्यो ।
शर्माले भनेका थिए, ‘दु:खका साथ भन्नुपर्छ, मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट नेताले असुली धन्दा गरेका छन् । यो ठहर भएकै छ,’ भनेका थिए । शर्माले पुष्पलाल स्मृति दिवसको अवसरमा साउन ६ गते सो प्रतिक्रिया दिएका थिए । उनको प्रतिक्रियाकै वरिपरि माओवादीको स्थायी कमिटी बैठक केन्द्रित भएको हो ।
बैठकमा बोल्नेमध्ये अधिकांशले जनार्दन शर्माको नामै लिएर पार्टीको नीति र विधिभन्दा बाहिर गएर बोलेको टिप्पणी गरेका हुन् । नेतृत्वलाई खुइल्याउने गरी अभिव्यक्ति दिएको भन्दै शर्माले आत्मालोचना गर्नुपर्ने धेरैको राय थियो । बैठक नै आफ्नो अभिव्यक्ति वरिपरि केन्द्रित भएपछि शर्माले आइतबार विधि र प्रक्रियाका विषय उठाइरहने बताएका थिए ।
‘पार्टी निर्माणको पक्षमा प्रश्न उठाएको हुँ । तर, पार्टी फुटाउन खोजिएको भन्दै दुष्प्रचार गरियो । पार्टी सुधारका लागि उठाएको विषयमा के सजाय भोग्नुपर्ने हो, तयार छु,’ शर्माले भनेका थिए, ‘मलाई जति धकेल्न खोजे पनि म यही पार्टीमा अडिइरहन्छु ।’
माओवादी ३१ लाख मतबाट कसरी ११ लाख मतको कमजोर अवस्थामा आयो भन्दै उनले प्रश्न उठाएका थिए । मत घट्नुमा आफ्नो भागमा परेको जिम्मेवारी लिने भन्दै उनले अरूले पनि जिम्मेवारी लिन तयार हुनुपर्ने बताएका थिए ।
पार्टीको विचार अस्पष्ट भएको, जनतासँग टाढिएको, पार्टी संगठनमा विधि र प्रणाली विकसित नभएको कुरा उनले उठाएका थिए ।
शर्माले माओवादी शान्ति प्रक्रियामा आएपछि र संविधान बनेपछि पनि आफूलाई रुपान्तरण गर्न नसकेको आरोप लगाउँदै आएका छन् । अब देखाउने राजनीतिक संक्रमण नहुँदा जनताका मुद्दालाई बोक्नुपर्ने, पार्टीमा नेतृत्व विकासको परिपाटी बसाउनुपर्ने बहस उनले गराइरहेका छन् । तर, पार्टीमा सुधारको बहस उठाउँदा शर्मा एक्लिएका छन् ।
यसअघि पनि केन्द्रीय कमिटीदेखि पार्टीका हरेक फोरममा शर्माले सुधारका लागि फरक मत दर्ज गर्दै आएका थिए । यसअघिदेखि नै नेतृत्व हस्तान्तरणको बहस, विधि र पद्धतिको कुरा उठाएकै आधारमा फेरि माओवादी बैठक शर्माकेन्द्रित भएको हो ।
प्रचण्ड आफैंले पनि यसअघि पटक–पटक शर्मालाई लक्षित गर्दै पार्टी छाडेर गए हुन्छ भन्ने चेतावनी समेत दिएका थिए । बैठक टुंग्याउने अवधिसम्म पनि शर्मालाई माफी माग्न दबाब बढाइएको थियो ।
यसअघि नै प्रचण्डले शर्मालाई स्पष्टीकरण सोध्ने र कारबाही गर्नेसम्मको तयारी गरेका थिए । तर, उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताको दबाबपछि प्रचण्ड रोकिएका थिए । यसपटक भने नेता श्रेष्ठ समेत शर्माको विरुद्धमा देखिए ।
समापनसम्म आइपुग्दा शर्मामाथि आत्मालोचना गर्न दबाब परेको थियो । अन्तिम दिन जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले पनि शर्मालाई आत्मालोचना गर्न सुझाएका थिए । तर, शर्माले आफूलाई आरोपित गरिएजस्तो पार्टी फुटाउने पक्षमा नभएकाले माफी नमाग्ने अडान लिएका थिए ।
अधिकांश सदस्य आफ्नो लाइनमा देखिएपछि प्रचण्डले उनीहरूको मान राखिदिन पनि आत्मालोचना गर्न सुझाएका थिए । तर, शर्माले आफ्नो भागमा परेको कमजोरीको हिस्सा लिने तर आफूले मात्रै आत्मालोचना नगर्ने अडान लिएको नेताहरू बताउँछन् ।
बैठकपछि प्रवक्ता सापकोटाले शर्माले आत्मालोचना नगरेको बताए ।
‘उहाँ (शर्मा)ले साउन ६ गते दिएको अभिव्यक्तिमा आत्मालोचना गर्नुभएको छैन,’ सापकोटाले भने, ‘तर, केही कुरामा उहाँको रियलाइजेसन छ ।’
यद्यपि, शर्माले चार वर्षपछि पार्टी बैठकको माइन्युटमा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएको सापकोटाले बताए । हस्ताक्षरको प्रतिबद्धतालाई सापकोटाले शर्माले रियलाइजेसन गरेको रूपमा अर्थ्याए ।
यद्यपि, बैठकबाट निस्कँदै गर्दा शर्माले वैचारिक, सांगठनिक र विधि स्थापित गर्ने विषयमा छलफल भएको जानकारी दिए ।