
आर्थिक वर्ष २०८१/८२ मा माछापुच्छ्रे बैंक लिमिटेडको नाफा २ अर्ब नाघेको छ ।
गत आर्थिक वर्षमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले गत आर्थिक वर्षमा ९२.४५ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा भने ९९.९१ प्रतिशतले बढेको छ।
बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसा बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ।
यता वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६३. ८० रुपैयाँ रहेको छ।