
सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गतको एपीएफ क्लब र केल्मी स्पोर्ट्स प्रोडक्ट्स कम्पनी लिमिटेडबीच ५ वर्षका लागि खेल पोशाक र खेल सामग्रीमा छुट सुविधासम्बन्धी सम्झौता भएको छ । सन् २०१९ देखि केल्मीले एपीएफसँग सहकार्य गर्दै आएको छ ।
नेपाल एपीएफ क्लब परिसरमा आयोजित एक समारोहमा एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिम्सिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
फूटबल-भलिबलमा महिला र पुरुषका दुवै टीम साथै उमेर समूहमा यू -१६, यू १८ फूटबल (पुरुष), ग्रासरूट फुटबल तथा ब्याडमिन्टन खेलमा यो सम्झौता लागु हुनेछ ।
यसैगरी, सम्झौताअनुसार सशस्त्र प्रहरी बल नेपालका बहालवाला कर्मचारी, भूतपूर्व कर्मचारी, सहिद परिवार, नेपाल एपीएफ स्कूल, सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपीएफ क्लबमा आबद्ध खेलाडी, प्रशिक्षक तथा सदस्यहरूले देशभरका केल्मी नेपालका बिक्री केन्द्रहरूबाट २० देखि २५ प्रतिशत छुट पाउने छन् ।
समारोहमा सशस्त्र प्रहरी बलका अधिकृतहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू र सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
यो सम्झौता सन २०३० अगष्ट ४ तारिखसम्म कायम हुनेछ । केल्मीले त्रिभुवन आर्मी, नेपाल पुलिससँग र राष्ट्रिय टीमहरूसँग पनि सहकार्य गर्दै आएको छ ।