३० जेठ २०८३, शनिबार
जीवनदर्शन

नृवंशको विस्तार : कहाँबाट कहाँसम्म ?

साउन २४, २०८२
काठमाडौं
नृवंशको विस्तार : कहाँबाट कहाँसम्म ?

गुगल रिपोर्टअनुसार परमेष्ठिमण्डलले स्वयम्भू मण्डललाई अर्थात् आकाश गङ्गाले आफूभन्दा माथिको आकाश गङ्गालाई परिक्रममा गर्ने समयलाई कल्प भनिन्छ । कल्पहरू धेरै छन्, कसैले ३२ भनेका छन्, कसैले ३० । तथापि पाँच मुख्य मानिएका छन्, जसमा महत्कल्प, हिरण्यगर्भकल्प, ब्रह्मकल्प, पद्मकल्प र वराहकल्प पर्दछन् । यिनमा महत्कल्प अन्धकारयुक्त थियो । हिरण्य गर्भकल्पमा पृथिवी पीतवर्णको थियो । एउटै प्रजातिका वनस्पति हुन्थे, त्यो पनि पहेँलै । ब्रह्मकल्पसम्म आइपुग्दा प्राणी जीवनको विकास भइसकेका पनि एकसुरेजस्ता देखिन्थे । पद्म कल्पमा पृथिवी पानीमय थियो, जति बेला झण्डै दुई दर्जन हाराहारीका ठूल्ठूला समुद्र थिए । चर प्राणीमा भने नागजाजति मात्र देखिन्थे ।  

हालको कल्प वराहकल्पअन्तर्गत श्वेतवराहकल्प हो, जुन करिब १५ हजार वर्ष अघिबाट शुरू भएको मानिन्छ । वराहका तीनरूप छन्– आदिवराह र नीलवराह र श्वेतवराह । हालका यिनै श्वेतवराह हुन् । यस कल्पमा छ मनु र ४५ प्रजापति भएका छन् भने हाल सातौँ मनुको समय चल्दै छ, जसको नाम वैवस्वत हो । करिब ई पू. ५६६८ तिरबाट शुरू भएको अनुमान गरिएको वैवस्वत सूर्यपुत्र हुन् । सूर्यको एउटा नाम विवस्वान् थियो । यसै अर्थमा उनलाई वैवस्वत भनिएको हो । यिनलाई विमाता सवर्णाको नामका आधारमा सावर्णि पनि भन्ने गरिएको पाइन्छ तर हिन्दूपुराणले सावर्णिलाई आठौँ मनु भनेको छ । यसअनुसार भन्नुपर्दा सम्भवत: आठौँ मनुको कार्यकाल शुरू भइसकेको हुनुपर्छ तर, थप अनुसन्धान विना यसै भन्न सकिने अवस्था छैन । नत्र त सप्तर्षिको नाम पनि बदलिनुपर्छ, जसको उल्लेख भागवतमा व्यासजीले गरेका छन् ।    

जे होस् छैटौँ चाक्षुष मनुको अन्त्यमा एउटा भयङ्कर जलप्रलय भएको थियो । काश्यपसागर र फारसको खाडीको जलस्तर बढेर भएको त्यस प्रलयले एशिया माइनर (हालको एशिया र युरोपको अधिकांश भाग) लाई डुबाएको थियो । यद्यपि हाल एशिया माइनरले तुर्किस्तानलाई बुझाउने गरिएको छ । सम्भवत: त्यतिबेला एशिया र युरोप आवतजावत गर्ने मुख्य द्वार यही रहेको हुनुपर्छ ।  

चाक्षुष मनुका पालामा एशिया माइनरको आवादी निकै घना थियो । किनभने चाक्षुषका अत्यरातिजानन्तपदि, अभिमन्यु उर, पुर तथा तपोरत पाँचपुत्र र पौत्र (कान्छा तपोरतपुत्र) अङ्गिरा छ महारथीले त्यस क्षेत्रलाई अर्थात् पर्शिया र सिरिया, बेविलोनिया, मिश्र, आर्मेनिया लगायतका तमाम क्षेत्रको स्वामित्वा हस्तावलम्बन गरेका थिए । उक्त छ जनामध्ये पुर पशिर्यातिरै रहेको देखिन्छ भने उरको उपनिवेश मेसोपोटामिया (हाल इराक) र जानन्तपदिअत्यरातिको उपनिवेश हालको आर्मेनिया अजरवैजानतिर रहेको देखिन्छ । मन्युले मन्युपुरी बसाएका थिए, जो पछि गएर अमरावतीको नामले परिचित हुन पुगेको थियो, जो जर्जिया प्रदेश आसपासको ककेशस पर्वत शृङ्खलामा पर्दछ ।

तपोरतपुत्र अङ्गिराको उपनिवेश भने हालको पूर्वी अफ्रिकी मुलुकतिर रहेको देखिन्छ, जुन क्षेत्रलाई रावणयुगपछि कुशद्वीप भन्ने गरिएको पाइन्छ । सो क्षेत्र रावणको मृत्युपछि विभीषणले रामलाई उपहारमा दिएका थिए । केही समय रामपुत्रकुश गएर बसेका पनि थिए रे । (आचार्य चतुरसेन, वयंरक्षाम) प्रकृतिको नियम पनि कस्तो जुन बोटमा फल लाग्छ, उसैले बढी प्रहार खेप्नुपर्छ । यहाँ पनि यस्तै भएको देखिन्छ । जुन स्थानबाट जीवन विकासको क्रम चलेको थियो, त्यही स्थानले लामो समय जलसमाधिमा रहेको थियो ।

तथापि, अदृष्टको नियममा सँधै अँध्यारो हुँदैन । जहाँ काटिएको हुन्छ पलाउने त्यहीँबाट हो । भाग्य भनौँ वा प्रकृतिको नियम त्यसै क्षेत्रमा कच्छपजातिका एउटा प्राणी प्रलयकालीन जलका बीचबाट उदाएका रहेका थिए, जसलाई हिन्दूपुराणले कश्यपप्रजापति भनेको छ । काश्यपसागरको नाम पहिले क्षीरसागर थियो । उनकै कारण सागरको नाम काश्यप रहेको बुझिन्छ । संयोगवश त्यतै कुनै अर्को उपप्रान्तमा प्रचेतापुत्र (प्रलयपूर्वका चाक्षुषका वंशज प्राचीनवर्ही राजाका पौत्र) दक्ष पनि सपरिवार जिवित रहन सफल भएका रहेछन्, जसका ६० वटी पुत्री थिइन् । तीमध्ये १३ वटी उनै कश्यपलाई दिएका थिए । यिनीहरूमध्ये जेठी दितीबाट हिरण्यकशिपु, हिरण्याक्ष, बज्राङ्ग, अन्धक चार पुत्र भएका थिए । यीमध्ये हिरण्यकशिपु काश्यपसागरकै आसपासतिर कतै रहेका थिए । हिरण्याक्षाको उपनिवेश बेविलोनतिर थियो । त्यस क्षेत्रका जातिहरू उनीहरूकै वंशज मानिन्छन् ।

कश्यपका अर्की पत्नी अदितीबाट १२ भाइ आदित्य भएका थिए । यीमध्ये जेठा वरुणको निवास सुषानगरीतिर थियो, जुन कश्यपसागको तटीवर्ती क्षेत्र काश्यप (शायद ककेशस) पर्वतको आसपासमा थियो । उनकै वंशजले पछि गएर सुमेर सभ्यता निर्माण गरेका थिए । कान्छा सूर्यको रस्तीबस्ती काश्यपसागरकै आसपतिर कतै थियो । यिनै दुई भाइका सन्तानहरू पछि गएर देवजाति र आर्यजातिको नामले परिचित हुन पुगेका थिए । कश्यपकी अर्की पत्नी दनुबाट पनि शम्बर, वृषपर्वा, पुलोमा र विप्रचिति चारवटा नै पुत्र भएका थिए । यीमध्ये वृषपर्वाको उपनिवेश सिरियातिर रहेको पाइन्छ भने शम्बरको निवास काँगडातिर रहेको देखिन्छ । उनीहरूका वंशजलाई दानवजाति भनिन्छ । कश्यपकी अर्की पत्नी कद्रुबाट नागजति र विनताबाट गरुणजतिको विकास भएको देखिन्छ भने काष्ठा, घोरा आदि अन्य पत्नीहरूबाट अन्य प्रजातिका प्राणी सृष्टि भएको पाइन्छ ।

वरुणका अङ्गिरा, भृगु, वशिष्ठ आदि पुत्र थिए । भृगुलाई दक्षले दुईपुत्री दिएका थिए । उनीहरूबाट शुक्र, त्वष्टा, ऋचिक र च्यवन आदि पुत्र भएका थिए तर, कतै भृगुपत्नीको नाम दिव्या र पौलोमी उल्लेख भएको पाइन्छन, जो क्रमश: हिरण्यकशिपुपुत्री र पुलोमापुत्री थिए ।

सूर्यले भने त्वष्टापुत्री रेणुसित विवाह गरेका थिए, जसको तर्फबाट वैवस्वत र यम दुई पुत्र र यमी एक पुत्री भएका थिए । सूर्यका सवर्णा नामकी अर्की पत्नी पनि थिइन्, जसको तर्फबाट शनि तथा तपती र विष्टी तीन सन्तान भएका थिए । शनिको उपनिवेश युनानतिर रहेको पाइन्छ भने यम पितृलोकतिर गएर रहन लागे, जुन स्थान जलप्रलयका कारण सुनसान थियो । यसैको कारण त्यस स्थानलाई मृत्युलोक भन्ने गरिएको थियो । यमको आठ पुत्र थिए, जो अष्टवसुको नामले परिचित भए ।

अष्टवसुमा जेठाको नाम धर थियो । उनका पुत्र ११ भाइ रुद्र थिए । यीमध्ये एक भाइ हिन्दूकुश–काराकोरम पर्वतीय क्षेत्रतिर गएर बसे । दोस्रो कैलाशमानसरोवर र तेस्रो कैलापूर्वको ब्रह्मपुत्र प्रश्रणक्षेत्रतिर लागे । अन्य भाइमध्ये कोही पर्शियाकै एउटा क्षेत्रतिर रहेका देखिन्छन्, जहाँ हाल शङ्करा जातिको बाहुल्य रहेको पाइन्छ । कोही भूमध्य सागरको पूर्वी भागमा अवस्थित असिरियातिर गएर बसे । अर्का भाइ मिश्रतिर पुगेको देखिन्छन् भने कोही पेरुतिर लागेको बुझिन्छ । त्यस्तै अर्को भाइको वासस्थान हालको इज्रायल तथा प्यालेष्टाइन र अर्कोको त्रिपोली (अफ्रिका) तिर रहेको देखिन्छ भने अर्को एक सुडानतिर पुगेको बुझिन्छ । (आचार्य चतुर्सेन, वयंरक्षाम रुद्रप्रकरण)

भृगुपुत्र शुक्रको पुत्र अत्रि थिए, जो अत्रिपत्तन (अजरवैजान)तिर बसोबास गर्दथे । अत्रिको अनुसूयाको तर्फबाट चन्द्रमा भए, जसलाई उनै दक्षले आफ्नी २७ वटी पुत्री दिएका थिए । चन्द्रमाले अङ्गिरापुत्र बृहस्पतिको पत्नी तारालाई भित्र्याएका थिए, जसबाट बुध जन्मेका थिए । उनले वैवस्वत मनुपुत्री ईलासित विवाह गरी पुरुरवालाई जन्म दिए । उनकै वंशज हाल चन्द्रवंशीको नामले परिचित छन्, जो इलावर्तबाट सप्तसिन्धु हुँदै गङ्गायमुनाको मैदानसम्म फैलिएका थिए । मनुको ईलाबाहेक इक्ष्वाकु आदि १० पुत्र भएका थिए, उनीहरूको सन्तान सूर्यवंशीको नामले परिचित भए, जो आनर्तप्रदेश (गुजराँत) हुँदै उत्तरकोशल (अयोध्या) र दक्षिणकोशल (छत्तीसगढ) सम्म फैलिएका थिए ।  

वरुणपुत्र वसिष्ट मित्रावरुणको नामले परिचित थिए, जो शाकद्वीप (हालको अरबीभूभाग) तिर गएर रहन लागे । पछि गएर भृगुपुत्र शुक्र पनि त्यतै लागे । हाल त्यताका जातिहरू उनै वसिष्ठ र शुक्रका वंशज मानिएका छन् ।

यसरी क्षीरसागरको आसपासबाट फैलिएका नृवंशजाति संसारका विभिन्न स्थानमा छरिन पुगेका देखिन्छन् । यस क्रममा उनीहरूले जहाँजहाँ पुगेका थिए सोही स्थानअनुसारको रहनसहन अपनाउने काम मात्र गरेका थिएनन् आफैं अनुकुलको धर्म, संस्कृति, दर्शन र सिद्धान्त प्रतिपादन गर्ने कामसमेत गरेका थिए, जसलाई हाल पौरस्त्यदर्शन र पाश्चात्यदर्शन भन्ने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्