
एआई एरामा साइबर सुरक्षाको सवालबारे शुक्रबार राजधानी काठमाडौंमा गहन विमर्श भएको छ ।
डाँफेलिंक र एरोनेक्सले संयुक्त संयुक्त रूपमा आयोजना गरेको ‘साइबर भिजन–२०२५ नेपाल च्याप्टर’मा नेपाल सरकार तथा नेपालस्थित विभिन्न संस्थाका प्रतिनिधि र साइबर सुरक्षा विज्ञले गहन विमर्श गर्नुका साथै आ-आफ्नो प्रस्तुति दिएका हुन् ।
कार्यक्रममा साइबर प्रतिरोध, डिजिटल फरेन्सिक तथा एआर/भिआर सुरक्षा प्रविधिमा समर्पित ऐतिहासिक पहलका विषयमा समेत छलफल भएको थियो ।
यूएई दूतावासका प्रतिनिधि प्रमुख अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रममा नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले राष्ट्रियस्तरको साइबर सुरक्षा पहलबारे दृष्टिकोण प्रस्तुत गरे ।
कार्यक्रममा नेपालका अग्रणी कम्पनीका उच्चस्तरीय कार्यकारीहरू, प्रबन्ध निर्देशकहरू र प्रविधि विज्ञहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरूले साइबर खतराहरू न्यूनीकरण र डिजिटल पूर्वाधार सुदृढीकरणका लागि नवीनतम समाधान तथा रणनीतिहरूको अवलोकन गरेका थिए ।
कार्यक्रमका क्रममा डाँफेलिंक र एरोनेक्सले आगामी नोभेम्बर २०२५ मा थाइल्यान्डको बैंककमा ‘साइबर भिजन–२०२५ बैंकक च्याप्टर’ आयोजना गर्ने घोषणा गरे ।
साथै, काठमाडौंमा पहिलोपटक सुरक्षा सञ्चालन केन्द्र (SOC) र नेटवर्क सञ्चालन केन्द्र (NOC) स्थापना गर्ने योजनासमेत सार्वजनिक गरियो, जसले नेपाललाई क्षेत्रीय साइबर रक्षा केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
डाँफेलिंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय बर्धनले भने, 'यो कार्यक्रम केवल प्रदर्शनी मात्र होइन, एउटा आन्दोलन हो । हाम्रो लक्ष्य नेपाललाई साइबर प्रतिरोधमा अग्रणी बनाउनु हो ।'
एरोनेक्सका प्रमुख कार्यकारी अधिकृत सुजित कुमारले डिजिटल सुरक्षाको पहलका रूपमा यसलाई व्याख्या गरे । उनले भने- 'साइबर भिजन– २०२५ नवप्रवर्तन र सहकार्यको ऐतिहासिक प्रतीक हो, जसले हाम्रो डिजिटल सीमाको सुरक्षा सुनिश्चित गर्न योगदान पुर्याउनेछ ।'
गरुडा इनोभेशन एण्ड मिडियाका निर्देशक पंकज मल्लले पनि यस पहललाई विश्वव्यापी साइबर सुरक्षामा योगदान दिने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै नेपाल मात्र नभई विश्वकै सुरक्षा सुदृढीकरणमा यसले प्रभाव पार्ने बताए ।
यस वर्षको साइबर भिजन–२०२५ मा एनसेलको समेत सहयोग रहेको थियो ।
डान्फेलिंक नेपालको एक चर्चित साइबर सुरक्षा सेवा प्रदायक हो, जसको उद्देश्य दक्षिण एसियामा प्रतिरोधात्मक डिजिटल पूर्वाधार निर्माण र सुरक्षा प्रथम भन्ने सोचलाई प्रवर्द्धन गर्नु हो ।
एरोनेक्स भने 'यूएई बेस्ड' प्रविधि कम्पनी हो, जुन साइबर सुरक्षा, डिजिटल फरेन्सिक र इमर्सिभ टेक नवप्रवर्तनमा केन्द्रित छ । र, यसले एसियामा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै गएको छ ।