२६ असार २०८३, शुक्रबार
महानगरमा मतभेद

काठमाडौं महानगरले बल्लतल्ल ल्याएको बजेटमा 'रडाको' कायमै, कार्यान्वयन कार्ययोजना अझै अलपत्र

साउन २७, २०८२
काठमाडौं
काठमाडौं महानगरले बल्लतल्ल ल्याएको बजेटमा 'रडाको' कायमै, कार्यान्वयन कार्ययोजना अझै अलपत्र

विवादका बीच काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि बल्ल–तल्ल प्रस्तुत गरेको बजेट कार्यान्वयनमा प्रवेश गर्न नसकेर थप जटिलतामा फसेको छ ।

कानूनतः गत असार १० गते नै आउनुपर्ने बजेट त्यसको १९ दिनपछि अर्थात् असार २९ गते मात्र पारित भएको थियो । अहिले बजेट पास भएको १ महिना बित्न लाग्दा पनि वडाहरूको कार्ययोजना स्वीकृत हुन सकेको छैन ।

कार्यान्वयन कार्ययोजना स्वीकृत नभएपछि यो बीचमा वडास्तरीय विकास योजनाहरू ठप्प भएका छन् भने स्थानीय सेवा प्रवाहमा गम्भीर असर परिरहेको वडाअध्यक्षहरूको गुनासो छ ।

मेयर बालेन्द्र शाहसँगको टसलका कारण कतिपय वडाले वार्षिक कार्ययोजना तयार नै गरेका छैनन् । कतिपयले तयार गरेर पठाएको भएपनि मेयर शाहको असन्तुष्टिका कारण महानगरले स्वीकृत गरेको छैन ।

गत १९ गते योजना, अनुगमन तथा मूल्यांकन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले सबै वडाहरूलाई सम्बोधन गरेर वडाहरूको वार्षिक कार्ययोजना स्वीकृत गराउन अनुरोध गर्दै पत्रसमेत लेखेकी थिइन् । तर, बजेट आउने बेलामा सल्टिएको जस्तो देखिएको मतभेद पछिल्लो समय झन् ठूलो हुँदै गइरहेको छ ।

हेर्नुहोस् पत्र:

null

असार १० देखि साउन २७ गतेसम्मको अघोषित ‘बजेट होलिडे’का कारण महानगरवासीको दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेको छ । सडक मर्मत, सरसफाइ अभियान र सामाजिक कार्यक्रमहरू स्थगित भएका छन् ।

किन ढिलो आयो बजेट ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले स्थानीय तहहरूलाई आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान असार १० गतेभित्र नगरसभामा पेश गर्न बाध्यकारी बनाएको छ ।

बजेटलाई समयमै कार्यान्वयन गरी विकास र सेवा प्रवाहमा निरन्तरता सुनिश्चित गर्न यस्तो बाध्यकारी प्रावधान राखिएको भएपनि काठमाडौं महानगरसँगै ४२ पालिकाले समयमै बजेट ल्याउन सकेनन् ।

असार १० गते पेश गर्नुपर्ने बजेटमा १५ दिन छलफल, थप ५ दिनमा संशोधनको प्रक्रिया पूरा गरेर असार मसान्तभित्र पारित गर्नुपर्ने हुन्छ ।

तर, विश्वभरिका नेपालीहरूबीच चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले समयमै बजेट ल्याउन सकेन । ढिला गरी आएको बजेटमा पनि छलफल भएको छैन भने संशोधनको प्रक्रियामा जान सकेको छैन ।

यो वर्षको बजेट अघिल्लो आव (२४ अर्ब ९० करोड)को तुलनामा बढेर २५ अर्ब ७६ करोड पुगेको छ । बजेटमा आन्तरिक आयबाट २० अर्ब १२ करोड र संघ तथा प्रदेशबाट ४ अर्ब ९८ करोड अनुदान समावेश छ ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा ५१ प्रतिशत (१२ अर्ब ८० करोड), सामाजिक विकासमा २० प्रतिशत (५ अर्ब २ करोड), सुशासनमा १२ प्रतिशत र प्रशासनिक क्षेत्रमा १४ प्रतिशत विनियोजन गरिएको छ ।

नयाँ आर्थिक वर्ष (साउन १) गतेदेखि नै कार्यान्वयनमा जानुपर्ने बजेट अहिलेसम्म ‘विवादित’ बन्नुको कारण महानगरको आन्तरिक कलह नै मुख्य हो । गत वर्ष पुसदेखि बस्न नसकेको कार्यपालिका बैठक बजेटपछि अहिलेसम्म पनि बस्न सकेको छैन ।

मुख्यतः मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण महानगरको बजेट अन्योलमा परेको कतिपय वडाध्यक्षहरूले लोकान्तरलाई बताएका छन् ।

विवादको मुख्य कारण र राजनीतिक द्वन्द्व

आन्तरिक विवाद, राजनीतिक टकराव र प्रशासनिक कमजोरीका कारण महानगरले बजेट ल्याउन ढिलो गरेको हो भने कार्यान्वयन प्रक्रिया अझै तय भएको छैन । यसअघि मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भ्रष्टाचारको आरोप लगाउँदै बैठकमा सहभागी गराउन अस्वीकार गरेका थिए ।

काठमाडौं टावरको नक्सा स्वीकृति प्रक्रियामा भएको अनियमिततासँग जोडिएको विवादमा मेयर शाहले गुरागाईंलाई छानबिनका लागि बिदामा राख्न खोजेका थिए ।

तर, संघीय मामिला मन्त्रालयले उनलाई जिम्मेवारीमा फर्काएपछि ‘कलह’ चर्कियो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १७ ले कार्यपालिका बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने व्यवस्था गरेको भएपनि सोही कलहका कारण महानगरमा पुस १४ पछिका ७ महिनासम्म बैठक बसेन ।

जेठ २८ गते मेयर शाह, उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूबीच कार्यपालिका बैठक बस्नेमा सहमति भए पनि कार्यान्वयन भएन ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नबस्दा बजेट तर्जुमा समितिको काम रोकियो । स्वतन्त्रबाट निर्वाचित मेयर शाह र अन्य दलका प्रतिनिधिहरूबीचको मतभेदमा बजेट ढिलो हुनु र आएपनि कार्यान्वयनमा जान नसक्नु अर्को प्रमुख कारण बनेको छ ।  

उसो त काठमाडौं महानगर पूँजीगत खर्च गर्ने अन्य पालिकाको तुलनामा निकै कमजोर मानिन्छ । गत आर्थिक वर्ष २०८१/८२ मा पनि जम्मा ५२ दशमलव १३ प्रतिशत मात्र महानगरले खर्च गरेको थियो, जसमा पूँजीगत खर्च जम्मा ४४ दशमलव ७२ प्रतिशत मात्र थियो ।

वडाध्यक्षहरूको असन्तुष्टि

बल्लतल्ल पारित भएको बजेटमा वडाध्यक्षहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । महानगरले वडाहरूलाई तीन तहमा विभाजित गरेको छ । ठूला वडाहरूमा १५ वटा राखिएको छ । मझौलामा ११ वटा छन् भने साना वडाहरू जम्मा ६ वटा छन् । यसपालिको बजेटमा ठूला वडालाई वडास्तरीय विकास क्षेत्रगत खर्चका रूपमा १ अर्ब ५० करोड, मझौलालाई ८२ करोड ५० लाख र सानालाई ३० करोड विनियोजन गरिएको छ ।

त्यस्तै, पूर्वाधार निर्माण र विकासतर्फ ठूलालाई १ अर्ब ५ करोड, मझौलालाई ५५ करोड र सानालाई १८ करोड छुट्याइएको छ । तर, कतिपय वडाध्यक्षहरूले यो विनियोजन असन्तुलित भएको गुनासो गरेका छन् ।

वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले लोकान्तरसँग भने, ‘मेयरको काम गर्ने शैली र हामीहरूबीच तालमेल मिलिरहेको छैन । गर्न नपर्ने काम जबर्जस्ती गर्न खोज्ने र गर्नुपर्ने काममा नियतवश रोक्न खोज्ने प्रवृत्ति उहाँमा देखिएको छ । वडाले लिएर गएको कार्ययोजना पास गर्न पनि वास्ता गर्नुभएको छैन ।’

बजेट विनियोजनमा वडाको आवश्यकता नसमेटिएको, राजनीतिक पूर्वाग्रह र स्थानीय समस्या (जस्तै ढल निकास, खानेपानी, सरसफाइ)लाई बेवास्ता गरेकै कारण मेयर शाहसँग वडाध्यक्षहरू रुष्ट बनेका हुन् ।

अन्य कतिपय वडाध्यक्षहरूले पनि बजेटमा महिला सशक्तीकरण, खेलकुद, जात्रा पर्व सञ्चालन, स्वास्थ्य तथा शिक्षा सचेतना जस्ता सामाजिक विकास कार्यक्रमहरूमा पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन् ।

कार्ययोजना स्वीकृतिमा ढिलाइ

बजेट पारित भएको एक महिना बित्न लाग्दा पनि कार्यान्वयन कार्ययोजना स्वीकृत हुन नसक्नु पुरानै समस्याको निरन्तरता रहेको प्रवक्ता नवीन मानन्धरको भनाइ छ ।

असार १९ गते नै महानगरले वडा कार्यालयहरूलाई कार्ययोजना प्रस्ताव पठाउन लेखेको पत्रको जवाफ अधिकांश वडाहरूले दिएका छैनन् । यसमा आन्तरिक विवाद नै मुख्य रहेको प्रवक्ता मानन्धरले लोकान्तरलाई बताए ।

उनले भने, ‘बजेट आएपछि सबै ठीक भयो भन्ने परेको छ । तर, यो कार्यान्वयनमा जान भएको ढिलाइको कारण पुरानै हो । तर, हामी निरन्तर छलफलमा छौं । ढिलाइ भए पनि अबको केही दिनमा यो समस्या सल्टिने अपेक्षा गरेका छौं ।’

वडा नम्बर ११ का अध्यक्ष तन्डुकारले पनि बजेट ढिलाई हुनुमा मेयर र कार्यपालिकाका सदस्यहरूबीचको आन्तरिक विवाद नै प्रमुख रहेको बताए ।

‘कम्तीमा छलफलमा आउन त तयार हुनुपर्ने हो मेयरज्यू, तर त्यसो भएको छैन । यहाँ ३२ वडामा बस्ने नागरिकहरू सबैका आ-आफ्ना समस्याहरू छन् । उनीहरूले जनप्रतिनिधिमार्फत आफ्ना कुराहरू राख्न पाउनुपर्ने हो । तर, अहिले महानगर व्यक्तिगत लहडमा चलिरहेको जस्तो देखिएको छ । मेयर नै छलफलमा नआएपछि महानगरवासीको कुरा कसले सुन्ने ?’ उनले भने ।

उनले बजेट होलिडेका कारण पूर्वाधार निर्माण प्रक्रिया र सामाजिक कार्यक्रम स्थगित भएको तथा प्रशासनिक खर्च गर्न नपाइएको गुनासो गरे । ‘यो चालले यो वर्ष पनि बजेट खर्च होला जस्तो छैन,’ वडाध्यक्ष तन्डुकारले भने ।

लोकान्तरले कम्तीमा ७ जना अन्य वडाध्यक्षहरूसँग यसबारे कुराकानी गरेको थियो । सबैको गुनासो उस्तै छ ।

कानूनी प्रावधानको उल्लङ्घन

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले बजेट तथा कार्ययोजना स्वीकृतिको प्रक्रिया स्पष्ट गरेको छ ।

माघ-फागुनमा स्रोत अनुमान गर्नुपर्ने, चैत-वैशाखमा टोलस्तरको छलफल हुनुपर्ने, जेठमा बजेट तर्जुमा हुनुपर्ने र असार १० गते पेश भएर मसान्तसम्म स्वीकृति हुनुपर्ने बाध्यकारी व्यवस्था उक्त ऐनमा छ ।

ऐनको उल्लंघन भएमा संघीय सरकारले अनुदान रोक्का गर्न सक्ने प्रावधान पनि छ । यो वर्ष काठमाडौं महानगरपालिकासँगै ४२ स्थानीय तहहरूले बजेट ढिलाइ गरेका छन् ।

अहिलेसम्म बाराका ४ स्थानीय तहको अनुदान रोक्का हुने प्रक्रिया अघि बढेको छ ।

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘देशकै चर्चित बालेन सिटीमा यसरी खुल्लमखुला ऐनको उल्लङ्घन भएको छ । बजेट ढिलो गरी पारित भएर पनि कार्यान्वयन हुन नसकेको विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ । अन्य पालिकासँगै काठमाडौं महानगरबारे पनि के कस्तो कारवाही गर्ने भनेर हामी छलफल गरिरहेका छौं ।’

उनले यस्तो कमजोरीले महानगरको जवाफदेहिता कमजोर बनाएको र विकासमा बाधा पुर्‍याएको बताए । ‘कानूनी रूपमा यो स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को सिधा उल्लंघन हो । यसमा कसरी अघि बढ्ने भन्नेबारे हामी छलफलमै छौं,’ उनले भने ।

के भन्छ ऐनको दफा ७१ ले ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा असार १० गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्ने प्रावधान छ ।

उपदफा १ मा भनिएको छ, ‘उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्नेछ ।’

त्यस्तै, उपधारा ३ मा पेश भएको बजेटमाथि कार्यपालिकाले कार्यतालिका बनाई पेश गरेको प्रस्तावमा १५ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

उपधारा ५ ले छलफलपछि सुझावसहित प्राप्त भएको बजेटउपर कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन वा परिमार्जन नगरी कारणसहित सभामा ५ दिनपछि पुनः पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, उपधारा ६ मा अघिका प्रक्रियाहरू पूरा गरेर आएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले भने पछिल्लो समय महानगरमा कुनै पनि समस्या नरहेको दाबी गरे ।

‘जसरी यसअघि कतिपय कुराहरू बाहिर आए, अहिले त्यस्तो समस्या केही पनि छैन । मेयरज्यू र मेरोबीच कुराकानी पनि हुन्छ । बजेटसँग सम्बन्धित छलफल चलिरहेको छ,’ गुरागाईंले लोकान्तरसँग भने ।

महानगर स्रोतका अनुसार पछिल्लो समय मेयर शाह र अधिकृत गुरागाईंबीच मतभेद भएपनि यसलाई सञ्चारमाध्यमहरूमा छरपष्ट नगर्ने सहमति भएको छ ।

बजेटको पूर्वसन्ध्यामा दुवैले महानगरको पछिल्लो गतिविधिबारे समीक्षा गरेका थिए । शाह र गुरागाईं दुवै महानगरको विषयलाई लिएर बाहिर हिलो छ्यापाछ्याप नगर्ने पक्षमा छन् ।

यता मेयर शाहको सचिवालयले पनि पछिल्लो समय महानगरमा कुनै समस्या नभएको दाबी गर्‍यो ।

बालेनको सचिवालयका एक सदस्यले भने, ‘यदि समस्या हुन्थ्यो भने बजेट कसरी पास हुन्थ्यो ? अहिले पनि महानगरभित्र अर्बौंका आयोजनाहरू या त निर्माणाधीन छन्, या त शुरुआति चरणमा छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय भएर नै ती कामहरू भएका हुन् ।’

अब छिटै कार्यपालिका बैठक बसेर वडाको बजेट कार्यान्वयनसम्बन्धी विषयमा छलफल हुने मेयर शाहको सचिवालयले दाबी गरेको छ । ‘यसअघि कार्यपालिका समयमा बस्न सकेन, तर अब छिट्टै बस्छ । बजेटसम्बन्धी समस्याहरू आउँदैनन् । वडाध्यक्षहरूसँग पनि नियमित छलफल चलिरहेकै छ,’ ती सदस्यले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्