१० असार २०८३, बुधबार
असई थमन विक हत्या प्रकरण

हत्याका फरार प्रतिवादीलाई कांग्रेसको स्वागत, सभापति देउवाले नै पार्टीमा भित्र्याए

साउन ३०, २०८२
काठमाडौं
हत्याका फरार प्रतिवादीलाई कांग्रेसको स्वागत, सभापति देउवाले नै पार्टीमा भित्र्याए

सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका फरार प्रतिवादी देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रहरीको खोजी सूचीमा रहेका यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बिहीवार यादवलाई कांग्रेसमा स्वागत गरे । कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, महोत्तरी ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार राय, कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव र कांग्रेस महोत्तरी सभापति नागेश्वर यादवलगायत उपस्थित थिए ।

विक हत्याका आरोपित यादव प्रहरीको सूचीमा फरार अभियुक्त हुन् । महोत्तरी जिल्ला अदालतले प्रतिवादी यादवको मुद्दा मुलतवीमा राखेको छ । 

विकको हत्यामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरू सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको थियो ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते आन्दोलनकारीले विकको हत्या गरेका थिए । हत्या भएको ३ वर्षपछि २०७५ साउन २८ गते २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।​

जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् । उनी फरार छन् । जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।

null

 महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाइ दिएको थियो । उनलाई उच्च  अदालत जनकपुरले थुनछेक प्रयोजनको लागि थुनामा पठाउने आदेश गरेको भए पनि उनी पनि फरार छन् । फरार भएकै अवस्थामा उनले प्रहरीको आँखै सामुन्ने प्रतिनिधि सभामा उम्मेदवार भई चुनावसमेत जितेका थिए ।

प्रतिनिधि सभा सदस्य भएर संसद्‌मा उपस्थित भएपछि उनीबारे समाचार सार्वजनिक भए, लगत्तै उनी फरार भएका हुन् । तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि संसद्‌मै त्यस विषयमा प्रश्न उठेको थियो । पछि उनी हाजिर भए पनि जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।

यो मुद्दामा जिल्ला अदालत महोत्तरीले थुनछेक आदेशपछि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र चार जनालाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । दुईजना तारेख गुजारेर बसेका छन् भने १९ जना फरार छन् । फरार रहेकाहरूको हकमा भने फैसला मुलतवीमा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दामा सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको फैसला हुँदा कापरले भने सफाइ पाएका थिए ।

null

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन ठाकुर तारिख गुजारेर फरार भएका थिए । त्यस्तै, लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय थुनछेक प्रयोजनमा साधारण तारेखमा छुटेका थिए ।

अभियुक्तहरू रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार थिए । पछि पूर्वसभासद तथा मधेश प्रदेशका पूर्वसांसद कौशल शर्मा अर्कै मुद्दामा पक्राउ पर्दा विक हत्या प्रकरणमा समेत थुनामा पठाइएका थिए । उनी अहिले पनि जलेश्वर कारागारमा थुनामा  छन् ।

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा ज्यान गएको थियो ।

 

कमेन्ट गर्नुहोस्