२९ जेठ २०८३, शुक्रबार
वैदेशिक रोजगार ठगी

बेलायत लैजान भनेर डेढ करोडमा नक्कली भिसा, उड्न परिवारै एयरपोर्ट पुग्दा फसाद !

साउन ३०, २०८२
काठमाडौं
बेलायत लैजान भनेर डेढ करोडमा नक्कली भिसा, उड्न परिवारै एयरपोर्ट पुग्दा फसाद !
AI Genereted Photo

म्याग्दीको बेनीका महेशचन्द्र बानियाँ वैदेशिक रोजगारीका सिलसिलामा बेलायत गएका थिए । भिसाको म्याद सकिएपछि उनी नेपाल फर्किए ।

बेलायतबाट ल्याएको पैसा सानोतिनो व्यापारमा लगानी गरे । व्यापारबाट उनलाई घाटा भयो । फेरि वैदेशिक रोजगारीमै जाने योजना बुने । बेलायतमै रहेका बेला टिकटक चलाउँदा उनको सम्पर्क मकवानपुर हेटौंडाकी जानुका ढुंगानासँग भएको थियो ।

ढुंगानाको टिकटक आईडीमा ‘बेलायतमा काम गर्न जान इच्छुकले सम्पर्क गर्नुस्’ भन्ने विज्ञापन बानियाँले देखेका थिए । बानियाँले ढुंगानालाई फोन सम्पर्क गरे ।

ढुंगानाले पुन: बेलायतमै काम गर्न आउने भए आफूले सहयोग गर्ने वचनबद्धता गरिन् । परिवारमा बानियाँले उक्त कुरा राखे । श्रीमतीले परिवारै जाने व्यवस्था मिलाउन भनिन् ।

बानियाँले ढुंगानालाई फोनमा परिवारै लैजाने व्यवस्था मिलाउनू भने ।

ढुंगानाले बानियाँका श्रीमान–श्रीमतीलाई केयर टेकर तथा होटलमा काममा लगाइदिने र मासिक जनही नेपाली पाँच लाख कमाई हुने आश्वासन दिइन् । तर, त्यसका लागि जनही ५५ लाख रुपैयाँ लाग्ने बताइन् ।

त्यसपछि बानियाँले आफू र श्रीमतीका भएभरका सुनका गरगहना बिक्री गरे । त्यतिले पनि नपुगेपछि आफन्तसँग ऋण/सापटी मागे ।

पैसाको जोहो गरेर ढुंगानालाई सम्पर्क गर्दा उनले आफ्ना साथीहरू दीपेशकुमार वान्तवा मगर, विन्दु पोखरेल र प्रभाष रिसालसँग कुरा गर्न र उनीहरूकै खातामा रकम जम्मा गर्न भनिन् ।

बानियाँले शुरूमा १५ लाख रुपैयाँ नगदै दिए । विश्वासमा पर्दै जाँदा बानियाँले ढुंगानालाई १४ लाख आठ हजार पाँच सय, ढुंगानाले नै भनेका व्यक्तिहरू मगरलाई पाँच लाख १० हजार, रिसाललाई एक करोड २० लाख ५३ हजार ४७७ र पोखरेललाई आठ लाख ३५ हजार रुपैयाँ दिए ।

कूल एक करोड ५३ लाख ५४ हजार ७२० रुपैयाँ बुझाइसकेपछि बानियाँको परिवारको भिसा पनि आयो । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । तर, बानियाँले सोचेभन्दा फरक परिस्थिति बन्यो । भिसा नक्कली पाइयो । उनलाई अब १० वर्षसम्म बेलायत जान नमिल्ने गरी भिसा प्रतिबन्ध लगाइयो ।

त्यसपछि उनी पैसा बुझेका व्यक्तिहरू खोजी गर्न थाले । सबै मोबाइल स्वीचअफ गरेर भागिसकेका थिए । बानियाँले वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराए ।

बल्लतल्ल विन्दु पोखरेल सम्पर्कमा आइन् र उनले १२ लाख ५२ हजार पाँच सय बिगोसहितको रकममा मिलापत्र गरिन् । विभागले गत साता मात्रै वैदेशिक रोजगार न्यायाधीकरणमा ढुंगाना, रिसाल, पोखरेल, वान्तवा र ज्ञान करियर इन्स्टिच्युटविरुद्ध अभियोग पत्र दायर गरेको छ ।

***

अर्को घटना : बानियाँलाई ठग्ने ज्ञान करियर इन्स्टिच्युटमा अर्का पीडित बारा निजगढका अभिषेक न्यौपाने र कल्पना अधिकारी पनि सम्पर्क गर्न पुग्छन् ।

उनीहरूलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने प्रलोभन दिइन्छ । इन्स्टिच्युटको मार्केटिङ म्यानेजर बताउने रेशमबहादुर बिकसँग उनको कुराकानी हुन्छ ।

क्रोएसियामा फ्याक्ट्री जेनेरल वर्करमा पठाइदिने र मासिक करिब १ लाख ६४ हजार रुपैयाँ आम्दानी हुने आश्वासन न्यौपानेलाई दिइन्छ । तर, त्यसका लागि जनही १३ लाख रुपैयाँ लाग्ने बिकले बताउँछन् ।

न्यौपाने र अधिकारीले उनीहरूले भनेअनुसार गर्ने बताएपछि सक्कल राहदानी मागियो । तर, कागजपत्र केही दिइएन । अनि अस्ट्रेलियामा वर्किङ भिसामा पठाइदिने र मासिक तीन लाख ५० हजार आम्दानी हुने भनेर अर्को ठगीको धन्दा बुनियो । तर, त्यसका लागि जनही २६ लाख रुपैयाँ लाग्ने भनेर पैसा जम्मा गर्न भनियो । बिकले नै भनेअनुसार खातामा न्यौपाने र अधिकारीले ५२ लाख रुपैयाँ जम्मा गरिदिए ।

पैसा जम्मा भएपछि बिक फरार भए । अनि न्यौपाने र अधिकारी ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी लिएर पुगे । न्यौपाने बानियाँकै शैलीमा ठगिएका अर्का पीडित हुन् । बानियाँलाई ठग्ने बिन्दु पोखरेलले भने अनुसारको खातामा न्यौपानेले पनि पैसा जम्मा गरिदिएका थिए ।

बानियाँ, न्यौपाने र अधिकारीजस्तै १४ जनालाई पोखरेलकै डिजाइनमा बेलायत, क्रोएसिया, क्यानडा र अस्ट्रेलिया पठाइदिने नाममा तीन करोड ९५ लाख ३९ हजार ८४४ रुपैयाँ ठगी गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

विभागका प्रमुख एवं सहसचिव कमल भट्टराईले वैदेशिक रोजगारका नाममा ठगी भएको यो घटनाको अनुसन्धान गर्दा आफू समेत आश्चर्यमा परेको बताए ।

‘विदेश जाने भनेर लाखौं रुपैयाँ बुझाउनुको सट्टा नेपालमै केही व्यापार व्यवसाय गरेको भए हुन्थ्यो, ’ भट्टराईले भने, ‘धेरै पैसा कमाउने अभिलाषा मनमा पलाउँदा आज पीडितहरू झन् दु:खमा छन् ।’

उनले अनुसन्धान सकेर पीडितले जाहेरी दिएकै आधारमा ९ जनालाई प्रतिवादी बनाएर वैदेशिक रोजगार न्यायाधीकरणमा अभियोग पत्र दायर गरेको बताए ।

कमेन्ट गर्नुहोस्