
कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा हाइप सिर्जना गर्न माहिर स्याम अल्टम्यान पछिल्लो समय च्याटजीपीटी-५ ले दिने गरेको गलत जवाफका कारण हैरान बनेका छन् ।
उनी नेतृत्वको ओपनएआई कम्पनीले च्याटजीपीटीलाई ४O (Omni) बाट अपडेट गरेर जीपीटी-५ बनाएको थियो । उनले जीपीटी-५ उद्घाटन गर्दै यो पीएचडीस्तरको बुद्धिमान भएको दाबी गरेका थिए ।
यो संस्करण कम्पनीको लागि ठूलो छलाङ हुने अपेक्षा गरिएको थियो, जसमा लगानीकर्ताहरूले अर्बौं डलर खन्याएका छन् ।
तर, परिणाम अपेक्षाकृतभन्दा उल्टो भयो । जीपीटी-५ ले आधारभूत प्रश्नहरूको पनि विश्वसनीय जवाफ दिन नसक्दा सार्वजनिक उपहासको सामना गर्नुपरेको छ । यसकै कारण ओपनएआईले माफीसमेत माग्न बाध्य भएको छ ।
५ सय अर्ब डलर मूल्यांकन गरिएको ओपनएआईले अहिलेसम्म लगानीकर्तालाई मुनाफा दिन सकेको छैन । एआईमा तहल्का मचाएको यो कम्पनीले बनाएको जीपीटी-५ ले एआईका धेरै कमजोरीहरूलाई उजागर गरेको छ ।
जीपीटी-५ को असफलताबाट ओपनएआईका लगानीकर्तासँगै यसका प्रयोगकर्ताहरू पनि चिन्तित देखिएको सीएनएनले उल्लेख गरेको छ ।
एक वर्ष ढिला गरी ओपनएआईले जीपीटी-५ सार्वजनिक गरेको थियो । लन्चअघिको लाइभस्ट्रिममा उनले जीपीटी-५ सँग कुराकानी गर्नु ‘कुनै पनि क्षेत्रमा पीएचडी गरेको विशेषज्ञसँग कुरा गर्नुजस्तै’ हुने दाबी गरेका थिए ।
तर, जब प्रयोगकर्ताहरूले जीपीटी-५ को प्रयोग शुरू गरे तब उनीहरूले यसले गलत जवाफ दिने गरेको पत्ता लगाए । पत्रकार टिम बर्कले सामाजिक सञ्जाल ब्लूस्काईमा लेखेका छन्, ‘मैले जीपीटी-५ लाई अमेरिकाका पहिलो १२ राष्ट्रपतिहरूको चित्र र नामसहितको डायग्राम देखाउन अनुरोध गरें । तर, यसले ९ जनाको मात्र चित्र देखायो । त्यसमा पनि जर्ज वाशिंगटनमा जर्जको स्पेलिङ Gearge भनेर देखायो । चित्रमा पनि कतिपय अनुहारहरू अमिल्दा थिए ।’
त्यस्तै यसले अमेरिकाको नक्सामा शहरहरूको नाम पनि गलत देखाएको छ । प्रविधिबारे लेख्ने एड जिट्रोनले ब्लूस्काईमा पोस्ट गरेको नक्सामा शहरको नाम गलत लेखिएको थियो । अनि ‘Yirginia’ जस्तो काल्पनिक राज्यको नाम यसले देखायो ।
नयाँ मोडलको रोलआउटमा ओपनएआईले आफ्नो लोकप्रिय जीपीटी-४O मोडललाई हटाएको छ । जसले गर्दा पुरानो संस्करण मन पराउने प्रयोगकर्ताहरूले त्यसलाई प्रयोग गर्न पाएनन् ।
जीपीटी-४O मोडल फिर्ता ल्याउन ४ हजार मानिसहरूले Change.org मा हस्ताक्षर अभियान पनि चलाएका छन् । सामाजिक सञ्जाल रेडिटमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘म जीपीटी-५ सँग पूर्ण रूपमा निराश छु ।’
उनले पुरानो मोडलले सजिलै सम्पन्न गर्ने काम जीपीटी-५ ले नगर्ने, मेटाउने र समयसीमा परिवर्तन गर्ने जस्ता गल्ती गरेको गुनासो गरे ।
जीपीटी-५ लन्चको २४ घण्टाभित्रै स्याम अल्टम्यानले सामाजिक सञ्जालमा आएका गुनासोहरू सम्बोधन गर्ने प्रयास गरेका छन् ।
उनले जीपीटी-४O लाई सशुल्क ग्राहकहरूका लागि पुनःस्थापना गर्ने र अरू अपडेट गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामीले यति धेरै कुराहरू एकैचोटि रोलआउट गर्दा केही समस्याहरू हुने अपेक्षा गरेका थियौं, तर यो हामीले आशा गरेभन्दा अलि बढी जटिल भयो !’
सीएनएन, न्युयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलजस्ता सञ्चारमाध्यमहरूले च्याटजीपीटी वा अन्य च्याटबटहरूसँग प्रयोगकर्ताहरूको भावनात्मक लगावको बारेमा समाचार लेखेका छन् ।
जीपीटी-५ को आलोचनाबारे सोधेको प्रश्नमा ओपनएआईका एक प्रतिनिधिले अल्टम्यानको सामाजिक सञ्जाल पोस्ट र कम्पनीको ब्लगमा जीपीटी-५ लाई अनुकूलन गर्ने बारे उल्लेख भएको र त्यही हेर्न आग्रह गरेको सीएनएनले जनाएको छ ।