
हिन्दूहरूको शक्तियन्त्रलाई प्राय: हामी सबैले देखेका छौं, जो विन्दु, रेखा र त्रिकोण मिलेर बनेको हुन्छ । विन्दुबाट रेखा, रेखाबाट त्रिकोण तथा त्रिकोणबाट षड्कोण बन्द छ । शक्तियन्त्रहरू प्राय: यिनै त्रिकोण मिलेर बनेका षड्कोणहरू नै हुने गरेको पाइन्छ ।
चाहे श्रीयन्त्रको कुरा गरौं चाहे बगलामुखी, दुर्गा वा अन्य अन्य शक्तिको कुरा गरौं सबैको यन्त्र यिनै त्रिकोणहरू मिलेर बनेका हुन्छन्, जसलाई सारा हिन्दूहरू शक्तिब्रह्म मानेर उपासना गर्दछन्, जहाँबाट संसारको उत्पत्ति र विलयको व्यवस्थापन भएको हुन्छ । यसैलाई प्राचीन युनानीहरूले सङ्ख्या ब्रह्म भनेका छन् ।
उनीहरूका अनुसार सङ्ख्या अर्थात् अङ्को स्रोत यिनै विन्दु र रेखा नै हो । युनानमा सर्वप्रथम यस्तो कुरा ई. पू. छैटौँ शताब्दीतिरका पाइथागोरसले गरेका थिए । यद्यपि उनले सोझै त्रिकोण र षड्कोणको कुरा गरेका छैनन् । उनको दर्शनको स्रोत भनेको विन्दु र रेखा हो । उनले संसारको उत्पत्ति र विलयको आधार यसैलाई मानेका थिए । यसैको आधारमा हिन्दूहरूले त्रिकोण र षड्कोणको अवधारणा विकास गरेका बुझिन्छ ।
यद्यपि, सर्वप्रथम विन्दु र रेखाको अवधारणा युनानीहरूले ल्याएका हुन् कि यताका वैदिक सनातनीहरूले भन्नेबारे ठूलै मतभेद भेटिन्छ । महापण्डित राहुल सांकृत्यायनजस्ता केही भारतीय विद्वान्हरू सर्वथम दर्शनको विकास उतै भएको हो र उतैबाट यतातिर सरेको हो भन्ने पक्षमा देखिएका छन् । सांकृत्यायन भन्छन्– ‘विश्वविजेता अलेक्ज्याण्डर भारतीय उपमहाद्वीपतिर आउँदा उनका साथमा त्यताका दर्शन र कला पनि लिएर आएका थिए । त्यतैबाट भारतीय विद्वान्हरूले टिपेका हुन्, जुन पछि गएर भारतीयहरूको अभिन्न अङ्ग बन्न पुगेको पाइन्छ । (राहुल सांकृत्यायन दर्शनदिग्दर्शन, नेपाली अनुवाद, नारायणप्रसाद आचार्य) तर, हामीतिरका विद्वान्हरू मरिकाटेमा यसमा सहमत देखिँदैनन् ।
उनीहरूका अनुसार युनानमा मात्र होइन सारा विश्वमा कला, दर्शन, सिद्धान्त यतैबाट गएका हुन् । यसैको आधारमा उताका विद्वान्हरूले टिपेका हुन् । समग्र दर्शन, सिद्धान्त, कला र ज्ञान (यहाँसम्म कि विज्ञानको समेत) स्रोत वेद हो । यही वैदिक ज्ञानलाई नै पश्चिमी विद्वान्हरूले आफूअनुकुल व्याख्या गरेका हुन् ।
तर्कको कुरा हो गर्न सकिन्छ । तर्कै गर्न त जसरी गरे पनि हुन्छ तर, ऐतिहासिक प्रमाणको आधारमा भन्नुपर्दा यो विन्दु र त्रिकोणको सिद्धान्त युनानतिरैबाट प्रतिपादन भएको बुझिन्छ । किनभने ई. पू. छैटौँ शताब्दीतिर नै त्यहाँ यस कुराको छिनोफानो भएको कुरा इतिहासले प्रमाणित गरेको छ तर, हाम्रा यताका तर्क भने केवल तर्कमै सीमित रहेको पाइन्छ । हो, वैदिकसंहिताहरू युनानीदर्शनभन्दा पुराना हुन् । किनभने ई. पू. पन्ध्रौँ शताब्दीदेखि दशौँ शताब्दीसम्ममा वैदिक ऋचाहरू बनिसकेको देखिन्छ तर, त्यहाँ कुन संहिताको कुन ऋचामा यस्तो कुरा भएको छ भन्ने कुराको भने उल्लेख पाउन सकिन्न ।
खासमा विन्दु र रेखा अर्थात् त्रिकोण र षड्कोणको चर्चा तन्त्रयुगमा अर्थात् तन्त्रशास्त्र निर्माणभएपछि हुन थालेको हो, जुन युनानी दर्शनभन्दा निकै पछि प्रतिपादन भएको दर्शन हो तर, पश्चिमी दर्शनको स्रोत भने यही रेखा र विन्द् नै रहेको पाइन्छ । किनभने सर्वप्रथम पाइथागोरसले यसको चर्चा गरेका थिए । पछि यसैको आधारमा प्लेटोदर्शन र एरिष्टोटलदर्शनको जग निर्माण भएको देखिन्छ, जसले पछि गएर युरोपेली र इस्लामीदर्शनको जग निर्माण गरेको पाइन्छ ।
एरिष्टोटलको मृत्युपछि सर्वप्रथम उनको दर्शनको अनुवाद पहलवि (ईरानी) भाषा र सुरियानी (सिरियाली) भाषामा अनुवाद भएको इतिहास भेटिन्छ । पछि यसैको आधारमा ईशाको सातौँ शताब्दीदेखि दशौँ शताब्दीको बीचमा अरबी भाषामा अनुवाद भएको थियो भने यही अनुवादले नै करीव १९ सय वर्षपछि मर्न लागेको युरोपेली दर्शनको दियोलाई पुन: जगाउने काम गरेको हो ।
भो छाडौं यी कुरा । सामान्यतया षड्कोणको अर्थ सन्तुलन, स्थिरता, पूर्णताको प्रतीकको रूपमा लिने गरिएको पाइन्छ । कतैकतै संस्कृति र परम्परासित पनि जोडेर हेर्ने गरिएको पाइन्छ तर यसको रहश्य त्यतिमा मात्र सीमित रहेको भने बुझिन्न ।
किनभने यसको सम्बन्ध तारासित पनि रहेको पाइन्छ र गणितसित पनि रहेको देखिन्छ । गणितशास्त्रमा त्रिभूजको प्रयोग बढी हुने गर्दछ । त्रिभूज भनेको त्रिकोण हो भने दुई त्रिकोणमिलेपछि नै षड्कोण बन्ने हो । तारा भनेको पनि गणितकै अङ्ग हो । ज्योतिषशास्त्रमा तारा र नाडी बरोबर प्रयोग हुने शब्द हो । ज्योतिषशास्त्र भन्नु र गणितशास्त्र भन्नु नाममा मात्र फरक हो । अन्तत: ज्योतिष भनेको गणितकै खेल हो । कतिले षड्कोणलाई शिवपुत्र कार्तिकेय कुमारसित पनि जोडेर हेर्ने गरेका देखिन्छ, जुन षड्कृतिका (तारा)को गर्भबाट जन्मेका थिए । यसै अर्थमा उनलाई षडानन (छ मुखवाला अर्थात् शरीर एउटा मुख छ वटा) भएका भन्ने गरिएको देखिन्छ ।
यसबाट त्यसको सम्बन्ध तारासित रहेको त यसै पनि प्रष्ट हुन्छ नै उनलाई शिवपुत्र भन्नुले शक्तिलाई समेत बुझाउँछ । किनभने शिव भन्नु र शक्ति भन्नु नाममा मात्र फरक हो, अन्तत: दुवै एउटै हो । यसैको आधारमा शिवलाई अर्धनारीश्वरको रूपमा कल्पना गरिएको हो । शिव भनेको लिङ्ग हो, शक्ति भनेको योनी हो ।
जहाँ शिवको पूजा हुन्छ त्यहाँ शक्तिको पनि पूजा हुन्छ । अर्थात् जहाँ लिङ्गको पूजा हुन्छ त्यहाँ योनीको पनि पूजा हुन्छ । अनि लिङ्ग र योनी भनेको सृष्टिको प्रतीक पनि हो । किनभने लिङ्ग र योनीको सङ्गमबाट नवजीवन बन्ने हो । त्यसैले शक्तिपूजा तथा शक्तियन्त्रमा षड्कोणको प्रयोग गर्ने गरिएको अनुमान गर्न सकिन्छ ।
हाम्रोतिर विद्या र शैक्षिक निकायमा पनि त्रिकोणको प्रयोग भएको पाइन्छ । यस्तो प्रयोग बाहिरतिर पनि छ कि हाम्रोमा मात्र हो छुट्टै अध्ययनको विषय हुन सक्छ तर हाम्रोमा भने स्कुल, क्याम्पस, कलेज विश्वविद्यालयहरूका लोगोमा यसको प्रयोग हुने गरेको भेटिन्छ । थाहा छैन किन र कहिलेदेखि यस्तो प्रयोग हुन थालेको हो तर, आशय भने ज्ञानसित सम्बन्धित रहेको बुझिन्छ । मूलत: ज्ञानका आधार पाँच ज्ञानेन्द्रिय हुन्, जसमा नेत्र, नाक, कान, घाँटी (रसना–जिभ्रो) र त्वचा पर्दछन् । यसो त इन्द्रिय मनसहित ११ हुन्छन् तर, मनले गर्ने भनेको ज्ञानेन्द्रियप्रदत्त ज्ञानलाई नै मनन गर्ने हो । अन्य कर्मेन्द्रियहरू त यसै पनि ज्ञानेन्द्रियले सङ्केत गरेपछिमात्र परिचालित हुने हुन् । अत: शिक्षामा यसको प्रयोग गर्नुको अर्थ ज्ञानका आधार छ वटा हुन्छन् भन्न खोजिएको अनुमान गर्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा त्रिकोणको रहश्य निकै व्यापक देखिन्छ । युरोपेलीदर्शन र इस्लामी दर्शनको आधार त यसै पनि यही त्रिकोणको आधार विन्दु र रेखा भई नै हाल्यो । ज्ञान र शक्तिको माध्यमबाट वैदिकदर्शनले पनि यसको भूमिकालाई सर्वोपरि मानेको प्रतीत हुन्छ ।