
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित शिखर वार्ता अन्ततः ‘हात्ती आयो, हात्ती आयो फुस्सा’मा टुंगिएको छ ।
युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्ने भन्दै राष्ट्रपति ट्रम्पले नै रुसको मुख्य भूमि (साइबेरिया)बाट केही दर्जन किलोमिटर मात्र टाढा रहेको अमेरिकी राज्य अलास्कामा भेट गर्ने प्रस्ताव पुटिनसमक्ष गरेका थिए । शुरूमा अमेरिकी भूमिमा टेक्न हिच्किचाएका पुटिन अन्ततः त्यहाँ जान राजी भएका थिए ।
दुवै नेताबीच स्थानीय समयअनुसार शुक्रबार दिउँसो अलास्काको सबैभन्दा ठूलो शहर एंकरेजस्थित संयुक्त सैनिक आधार ‘जोइन्ट बेस एल्मेन्डोर्फ–रिचार्डसन’मा करिब ३ घण्टा वार्ता चल्यो । शुरूमा ‘वान-टू-वान’ भनिए पनि पछि दुवै पक्षबाट दुई राष्ट्रपतिसहित तीन/तीन जना प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।
वार्तामा बस्नुअघि ट्रम्पले ‘वार्ता फलदायी नभए’ आफू केही मिनेटमै जुरुक्क उठेर हिँड्ने प्रतिक्रिया दिएका थिए । तर, तीन घण्टासम्म ट्रम्प ननिस्किएपछि युक्रेनमा शान्ति स्थापनाबारे केही सहमति हुने सम्भावना प्रबल देखिएको अनुमान विश्वभरका सञ्चारमाध्यमहरूले गरेका थिए ।
अन्ततः दुई नेताहरू वार्ता भइरहेको हलबाट निस्किए । औपचारिकताका लागि दुवैले करिब १२ मिनेटको मन्तव्य राखे । १२ मिनेटमध्ये पुटिनले ८ मिनेटजति समय लिए । उनले कागजमा लेखेको सम्बोधन पढेका थिए । त्यसपछि ट्रम्पले ३/४ मिनेटमै आफ्नो सम्बोधन टुंग्याए ।
दुवै नेताले एकले अर्कालाई शान्तिका लागि इमान्दार भएको भन्दै प्रशंसा गरे । सम्बोधनको अन्त्यमा ट्रम्पले पुटिनसँग पुनः भेट्ने कुरा भइरहेको बताउँदा पुटिनले मुस्कुराउँदै ‘अर्को भेट मस्कोमा’ भनेका थिए । त्यसपछि ट्रम्पले अक्मकाउँदै भने, 'इन्ट्रेस्ट्रिङ, मलाई दबाब हुनेछ , तर मस्कोमा भेट्न असम्भव छैन । थ्यांक यु भ्लादिमिर ।'
यसले दुवै नेताबीचको छलफलमा अर्को भेटको समेत टुंगो नलागेको पुष्टि हुन्छ ।
सम्बोधनका क्रममा ट्रम्पले एउटा महत्त्वपूर्ण खुलासा गरे, ‘देयर इज नो डिल, अन्टिल देयर इज अ डिल ।’ यसको अर्थ अहिलेसम्म दुवै नेता कुनै सम्झौतामा पुगिसकेका छैनन् भन्ने हो ।
उक्त भेटवार्ताको नारा ‘शान्तिको खोजी’ थियो । तर, कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दुई राष्ट्रपतिबीचको वार्तामा शान्तिको कुरा भन्दा पनि अमेरिका-रुसको हितमा बढी कुरा भएको हुनसक्ने लख काटेका छन् ।
यसअघि पनि दुवै राष्ट्रपतिबीच भएको फोनवार्तामा अमेरिका-रुसबीचको ऐतिहासिक, सांस्कृतिक र व्यापारिक सम्बन्धबारे छलफल हुने गरेको थियो । युक्रेन युद्ध अन्त्य गर्ने सन्दर्भमा ट्रम्पले एकाधपटक पुटिनलाई अल्टिमेटसहित चेतावनी दिएको भएपनि त्यसले काम गरेको छैन ।
बिडम्बना, यता युक्रेन युद्ध अन्त्यबारे विश्वका दुई महाशक्ति देशका राष्ट्रपतिबारे छलफल भइरहेको थियो भने उता रुस र युक्रेनबीच लडाईं चलिरहेको थियो ।
युक्रेन नै चाहन्नथ्यो- कुनै सम्झौता होस्
ट्रम्प र पुटिनबीच शिखर वार्ताको घोषणा भएदेखि नै युक्रेन र उसका युरोपेली साझेदारहरूले एउटा स्पष्ट र बलियो सन्देश दिएका थिए- ‘हाम्रो सहभागिताविना हाम्रो भविष्यबारे कुनै पनि सम्झौता मान्य हुनेछैन ।’
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बारम्बार आफ्नो देशको सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने अडान राखेका थिए ।
युरोपेली संघ, बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले पनि ट्रम्पलाई युक्रेनको हितलाई केन्द्रमा राख्न र किभको सहमतिविना कुनै पनि कदम नचाल्न निरन्तर दबाब दिइरहेका थिए ।
उनीहरूको चिन्ता जायज पनि थियो । किनकि, जब-जब ठूला शक्तिले साना देशको टाउकोमाथि बसेर सम्झौता गरेका छन्, त्यसले विनाश र अविश्वास मात्र निम्त्याएको छ ।
तर, यी सबै चिन्ता र चेतावनीहरूलाई बेवास्ता गर्दै ट्रम्प अलास्काको चिसोमा पुटिनसँग न्यानो वार्ता गर्न पुगे । यसले युरोपभरि एउटा ‘चिसो’ शंकाको लहर फैलायो- के ट्रम्प युक्रेनलाई धोका दिँदैछन् ? के उनी आफ्नो ‘अमेरिका फर्स्ट’ नीतिको आडमा युरोपको सुरक्षालाई दाउमा लगाउँदैछन् ?
युक्रेनी सञ्चारमाध्यमहरूले यस शिखर वार्तालाई ‘अपमानजनक’ भनेका छन् । आफ्नो घरमा भोज चलिरहेको तर घरधनीलाई नै निम्तो नदिएको जस्तो अपमानजनक अवस्था युक्रेनले महसुस गरिरहेको थियो ।
युक्रेनी सांसद किरा रुडिकले त स्पष्टै भनेकी छन्, ‘यस बैठकबाट पुटिनले न्यानो स्वागत पाए र युद्ध जारी राख्न थप समय पनि । ट्रम्पका लागि धेरै राम्रो बैठक भयो । तर युक्रेनले के पायो ?’
शान्तिको आडमा ट्रम्पको व्यापारिक स्वार्थ !
आफूलाई एक कुशल ‘डिलमेकर’ भन्न रुचाउने राष्ट्रपति ट्रम्पका लागि युक्रेनमा शान्ति स्थापना गर्नु व्यक्तिगत प्रतिष्ठाको विषय बनेको छ । तर, उनको प्राथमिकता विशुद्ध मानवीय शान्ति नभएर त्यसमा गहिरो व्यापारिक स्वार्थ लुकेको भन्दै पटक-पटक आलोचना हुने गर्छ ।
अलास्का पुग्नुअघि ‘एयर फोर्स वान’मा फक्स न्यूजसँग कुरा गर्दै उनले युद्ध अन्त्य गर्ने जिम्मेवारी युक्रेनकै काँधमा रहेको बताएका थिए ।
उनको यो भनाइले पीडितलाई नै दोषी देखाउने प्रयास गरेको थियो र जेलेन्स्कीमाथि दबाब सिर्जना गरेर आफूलाई एक शक्तिशाली मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्ने उनको रणनीतिको हिस्सा थियो ।
ट्रम्पले यसअघि बारम्बार रुससँगको व्यापारिक सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएका थिए । अलास्का पुग्नुअघि पत्रकारसँग उनले भनेका थिए, ‘शान्ति नभएसम्म व्यापार हुन सक्दैन ।’
यसबाट पनि उनले शान्तिको आडमा रुससँग व्यापार गर्न खोजेको प्रष्ट देखिन्थ्यो । उनका लागि शान्ति आफैंमा लक्ष्य थिएन, बरु रुसको विशाल बजार र त्यहाँको प्राकृतिक स्रोतमा पहुँच पुर्याउने एउटा माध्यम मात्र थियो ।
यसैका लागि उनले ‘शान्ति दूत’का रूपमा पुराना गल्फ पार्टनर र रियल स्टेट व्यवसायी स्टिभ विटकफलाई अघि सार्ने गरेका छन् । यससँगै, ट्रम्प र विटकफ दुवैले कूटनीतिलाई पनि घर-जग्गाको कारोबार जस्तै सम्झिएको टिप्पणी हुन थालेको छ ।
पुटिनको ‘अपरिवर्तनीय’ सर्त
पुटिनसँगको वार्ता केही मिनेटमै असफल भए आफू जुरुक्क उठेर हिँड्ने ट्रम्पको आत्मविश्वासयुक्त भनाइमा कुनै दम नरहेको पछि मात्र पुष्टि भयो ।
दुवै नेताबीचको वार्ता लगभग तीन घण्टासम्म चल्यो । यो लामो वार्ताले विश्वमा एक किसिमको कौतुहलता र आशा जगाएको थियो कि सायद पर्दा पछाडि केही ठूलै सहमति हुँदैछ । तर, जब दुई नेता पत्रकार सम्मेलनका लागि बाहिर आए, उनीहरूको हाउभाउ र बोलीले अर्कै कथा बयान गरिरहेको थियो ।
कुनै युद्धविरामको घोषणा भएन, कुनै ठोस सम्झौताको खाका प्रस्तुत गरिएन । पुटिनले पुरानै अडान दोहोर्याउँदै युद्धको ‘मूल कारण’लाई सम्बोधन गर्नुपर्ने बताए । युक्रेनमा प्रत्यक्ष आक्रमण शुरू गरेदेखिको पुटिनको शर्तमा कुनै फेरबदल नआएको देखियो ।
सम्बोधनका क्रममा ट्रम्पले केही प्रगति गरेको दाबी गरे । उनले सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन भनेर दिएको अभिव्यक्ति हाँस्यास्पद देखिन्थ्यो । यो भनाइ उनले आफ्नो असफलतालाई छोप्ने एउटा कूटनीतिक पर्दा मात्र थियो ।
पत्रकार सम्मेलन पनि अनौठो थियो । सामान्यतया आयोजक देशको नेताले पहिले बोल्ने परम्परा तोड्दै पुटिन पहिले बोले । दुवै नेताले पत्रकारहरूको कुनै प्रश्न लिएनन् । वार्ता सफल नभएपछि उनीहरूले असहज प्रश्नको सामना गर्न चाहेनन् ।
क्रेमलिनका प्रवक्ताले पछि यसको स्पष्टीकरण दिँदै भने, ‘दुवै नेताले सम्बोधन मै सबै कुरा भनेकाले प्रश्नको आवश्यकता परेन ।’ वार्ताअघि ट्रम्पले युक्रेनको जमिन हेरफेरबारे कुरा हुन सक्ने तर त्यसको अन्तिम निर्णय युक्रेनले नै गर्नुपर्ने भन्दै एउटा विवादास्पद वक्तव्य दिएका थिए ।
यो प्रस्तावलाई युक्रेनले आफ्नो अपमान भएको रूपमा लियो । युक्रेनबासीहरू ट्रम्पको यस्तो अभिव्यक्तिले खुशी थिएनन् । उनको यो भनाइ अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकताको सिद्धान्तको ठाडो उल्लंघन पनि थियो । यसले ट्रम्पको भूराजनीतिक अज्ञानता र जटिल मुद्दाहरूलाई हल्का रूपमा लिने बानी पुनः सतहमा आयो ।
ट्रम्पलाई ब्याकफायर !
अलास्काको यो ‘असफल’ कूटनीतिक खेलबाट पुटिन बिजेता बनेर निस्किएको भन्दै अमेरिकाकै सञ्चारमाध्यमहरूले ट्रम्पको आलोचना गर्न थालेका छन् ।
युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय मञ्चमा एक्लिएका र युद्ध अपराधको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट पक्राउ पुर्जी जारी भएका पुटिनलाई अमेरिकी भूमिमा भव्य स्वागत गरियो ।
रातो कार्पेट, बी २ बम्बरसहित लडाकु विमानको ‘फ्लाइओभर’ र अमेरिकी राष्ट्रपतिको बख्तरबन्द गाडी ‘द बिस्ट’मा ट्रम्पसँगै यात्रा गरेका पुटिनले विश्वमञ्चमा पुनः वैधता प्राप्त गरेका छन् ।
रुसी सरकारी सञ्चारमाध्यमहरूले यी तस्वीरहरूलाई ‘ऐतिहासिक’ भन्दै आफ्नो देशको कूटनीतिक विजयको रूपमा प्रचार गरे ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘वर्षौंदेखि उनीहरूले रुसलाई एक्ल्याउने कुरा गरिरहेका थिए, आज उनीहरूले रुसी राष्ट्रपतिलाई स्वागत गरेको रातो कार्पेट देखे ।’
अर्कोतर्फ, यो शिखर वार्ता ट्रम्पका लागि भने ठूलो ‘ब्याकफायर’ सावित भयो ।
आफूलाई एक बलियो र निर्णायक नेताको रूपमा प्रस्तुत गर्न खोज्ने ट्रम्प पुटिनका अगाडि कमजोर र दिशाहीन देखिएको चर्चा चलेको छ । उनले न त पुटिनलाई युद्धविरामका लागि मनाउन सके, न त कुनै ठोस प्रतिबद्धता लिन सके ।
ट्रम्पले युद्दविराम नगरे रुसले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने भनी यसअघि दिएको चेतावनी पनि अहिले फिक्का देखियो । उनले पुटिनलाई कुनै दबाब दिन सकेनन् । यसले पुटिनलाई आफ्नो आक्रमण जारी राख्न र युद्धका लागि थप समय लिन मद्दत गरेको छ ।
युक्रेनी आक्रोशदेखि युरोपेली चिन्तासम्म
शिखर वार्ता सकिएपछि यसको प्रतिक्रिया विश्वभर फैलियो । युक्रेनमा आक्रोश र निराशा देखियो । युक्रेनको चर्चित पत्रिका द किभ इन्डिपेन्डेन्टले सम्पादकीय लेख्दै भनेको छ, ‘यो वाक्कलाग्दो, लाजमर्दो र बेकम्मा भेट थियो ।’
ट्रम्पले अलास्काबाट फर्कने क्रममा विमानबाटै जेलेन्स्कीलाई फोन गरेर वार्ताको जानकारी दिए र उनलाई वासिङ्टन डीसी भ्रमणको निम्तो पनि दिए । यो कदमलाई धेरैले युक्रेनको आक्रोशलाई शान्त पार्ने र ‘ड्यामेज कन्ट्रोल’ गर्ने प्रयासको रूपमा हेरेका छन् ।
युरोपेली देशहरू पनि यो शिखरवार्ताबारे त्यति सन्तुष्ट देखिएका छैनन् । लिथुआनियाका रक्षामन्त्रीले पुटिनको भनाइलाई घुमाउरो धम्कीको संज्ञा दिए भने चेक गणतन्त्रका विदेशमन्त्रीले भने, ‘यदि पुटिन शान्ति वार्तामा गम्भीर हुन्थे भने, उनले दिनभरि युक्रेनमाथि आक्रमण गरिरहेका हुने थिएनन् ।’
रुसी प्रतिनिधि मण्डलका महत्त्वपूर्ण अधिकारी युरी उशाकोभले त अलास्कामा ट्रम्प, पुटिन र जेलेन्स्कीबीच कुनै त्रिपक्षीय बैठकको बारेमा छलफल नै नभएको बताउँदै ट्रम्पको दाबीलाई खण्डन गरिदिए । यसले पनि ट्रम्पलाई थप अप्ठ्यारोमा पारेको छ ।