२७ जेठ २०८३, बुधबार

फ्रान्समा च्याम्पियन्स लिगको विजय उत्सवमा तनाव: ७८० जना पक्राउ, २१९ घाइते

जेठ १७, २०८३
काठमाडौं
फ्रान्समा च्याम्पियन्स लिगको विजय उत्सवमा तनाव: ७८० जना पक्राउ, २१९ घाइते

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनललाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेपछि फ्रान्सका विभिन्न सहरमा उग्र प्रदर्शन भएको छ।

 समर्थक र प्रहरीबीच भएको झडपमा ५७ प्रहरीसहित कम्तीमा २१९ जना घाइते भएका छन् ।

आन्तरिक मन्त्री लरेन्ट नुनेजका अनुसार उग्र गतिविधिमा संलग्न ७८० जनालाई पक्राउ गरिएको छ, जसमध्ये ४५० भन्दा बढी अहिले प्रहरी हिरासतमा छन्। पेरिसको चक्रपथमा दङ्गाकारीले अवरोध पुर्‍याउने क्रममा भएको एक दुर्घटनामा २४ वर्षीय युवकको मृत्यु भएको छ ।

पेरिसको प्रसिद्ध चाम्स-एलिसेज क्षेत्रमा भेला भएका हजारौँ समर्थकहरूमध्ये केही उग्र समूहले पसलका सिसा फुटाउने, विद्युतीय साइकल र सवारी साधनमा आगजनी गर्ने तथा प्रहरीमाथि आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

मन्त्री नुनेजले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न कडा नीति अपनाउने बताएका छन् । आइतबार आइफेल टावर क्षेत्रमा हुने विजय परेडका लागि ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
यसैबीच, कट्टर दक्षिणपन्थी नेतृ मरि ले पेनले घटनाको आलोचना गर्दै फ्रान्समा मात्र फुटबलको जितले दङ्गाको रूप लिने भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएकी छिन्। गत वर्ष पनि पिएसजीको जितपछि यस्तै खालको हिंसात्मक गतिविधि भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्