
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यस वर्ष चाडपर्वको समयमा यातायातको भाडामा वृद्धि नहुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडादर नबढाउने बताएका हुन् । बैठकमा उनले सांसदहरूको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन । भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन’, मन्त्री दाहालले भने ।
यसका साथै चाडपर्वमा सडक यातायात सहज बनाउन भौतिक मन्त्रालय तयारी अवस्थामा रहेको मन्त्री दाहालले जानकारी गराए । विपद्बाट क्षतिग्रस्त सडक मर्मतसम्भारका लागि पहल भइरहेको उनको भनाइ छ ।
चीनसँग जोड्ने रसुवागढी र तातोपानी नाका दुवै बन्द रहेकोले तत्काल कोदारीको पहिरो मर्मत गरी अरनिको राजमार्ग सञ्चालनमा ल्याउने मन्त्री दाहालले बताए ।