
कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग औषधि खरिदका लागि सम्झौता गरेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले वैद्यखानासँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको हो ।
यो सम्झौतासँगै कोशी प्रदेश, सिंहदरबार वैद्यखानासँग सरकार–सरकार (जीटूजी) मोडलमा सिधै औषधि खरिद गर्ने देशको पहिलो प्रदेश बनेको छ ।
सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।
मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिको तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौताले प्रदेशभित्रका नागरिकलाई गुणस्तरीय र भरपर्दो आयुर्वेदिक औषधि सहज रूपमा उपलब्ध गराउने मार्ग प्रशस्त गरेको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २ करोड २० लाख रुपैयाँको बजेटबाट मन्त्रालयले वैद्यखानाद्वारा उत्पादित २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधिहरू खरिद गर्नेछ ।
आपूर्ति व्यवस्थापन केन्द्र कोशीका लागि ६३ लाख, जिल्ला आयुर्वेद अस्पतालहरूका लागि ६७ लाख र संघीय सरकारबाट प्राप्त अनुदानको ९० लाख रुपैयाँ समावेश छ ।
यो खरिद प्रक्रिया पारदर्शी र प्रभावकारी मानिने ‘जीटूजी’ (सरकारदेखि सरकार) प्रविधिमार्फत हुनेछ । यसले सार्वजनिक खरिदमा देखिने झन्झटिलो र ढिलासुस्तीको प्रक्रियालाई छल्दै छिटो र सुलभ रूपमा औषधि आपूर्ति सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको र सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
मन्त्रालयकी सचिव डा. राधिका थपलियाले सिंहदरबार वैद्यखानाको लामो र गौरवपूर्ण इतिहास रहेको बताउँदै यसका उत्पादनहरू गुणस्तरीय र विश्वसनीय भएकोले नै सहकार्यको लागि रोजिएको स्पष्ट पारिन् ।
इतिहास बोकेको संस्थाबाट गुणस्तरीय औषधि खरिद गर्ने उनले बताइन् । सचिव थपलियाका अनुसार, प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका १५ वटा अस्पताल र आपूर्ति व्यवस्थापन केन्द्र गरी कुल १६ निकायले औषधि खरिद गर्नेछन् ।
यस सम्झौताको सबैभन्दा उल्लेखनीय पक्ष भनेको खरिदमा प्राप्त हुने १८ प्रतिशत छुट हो । सचिव थपलियाले भनिन्, ‘सिंहदरबार वैद्यखानासँग सिधै खरिद गर्दा हामीले १८ प्रतिशत छुट पाउनेछौं । यो प्रदेश सरकारका लागि ठूलो आर्थिक बचत हो ।’
उनले छुटबाट बचत भएको रकमले थप औषधि खरिद गरी नागरिकलाई अझ बढी सेवा दिइने जानकारी दिइन् । यसले सीमित बजेटमा पनि धेरै नागरिकसम्म आयुर्वेदिक सेवा पुर्याउन मद्दत पुग्नेछ ।
सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले यो सम्झौतालाई ऐतिहासिक भन्दै कोशी प्रदेशले अग्रगामी कदम चालेको बताए । ‘हामीले आगामी दिनमा उत्पादन क्षमता बढाएर ९० प्रकारका औषधि बनाउने लक्ष्य राखेका छौं,’ उनले भने, ‘कोशी प्रदेशको यो विश्वासले हामीलाई थप ऊर्जा दिएको छ । हामी गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समयमा औषधि उपलब्ध गराउन प्रतिबद्ध छौं ।’