२४ जेठ २०८३, आइतबार

ठेक्कामा हालीमुहाली हुने गरी ऊर्जामन्त्रीले बढाए प्राधिकरणको बजेट आकार, बोर्ड सदस्यले गरेका छैनन् हस्ताक्षर

भदौ ६, २०८२
काठमाडौं
ठेक्कामा हालीमुहाली हुने गरी ऊर्जामन्त्रीले बढाए प्राधिकरणको बजेट आकार, बोर्ड सदस्यले गरेका छैनन् हस्ताक्षर

कार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्य र ऊर्जामन्त्री दीपक खड्काको टसलका कारण समयमै आउन नसकेको नेपाल विद्युत प्राधिकरणको बजेटमा सहमति भएको छ ।

गत साउन ३० गते शुक्रबार मन्त्री खड्का र एमडी शाक्यबीच बजेट ल्याउने सहमति भएपनि सञ्चालक समितिका सदस्यहरूले हस्ताक्षर भने गरेका छैनन् ।

प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकारीहरूले बजेट आइसकेको दाबी गरेका छन् । बजेट सञ्चालक समितिबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।

हस्ताक्षर नै नगरी कसरी स्वीकृत भयो भन्ने प्रश्नमा प्राधिकरण सञ्चालक समितिका एक सदस्यले भने, ‘बजेट आएको होइन, आउने सहमति मात्र भएको हो । त्यहाँ हामीले हस्ताक्षर गर्न बाँकी नै छ ।’

तर, प्राधिकरणका प्रवक्ता राजन ढकालले भने सञ्चालक समितिले बजेट पास गरिसकेको र माइन्युटमा हस्ताक्षर हुन मात्र बाँकी रहेको बताएका छन् ।

प्राधिकरणको आर्थिक प्रशासन विनियमावली– २०६८ मा नयाँ आर्थिक वर्षका लागि असार मसान्तभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

तर, विनियमावलीमा भएको व्यवस्थाविपरीत बजेट एक महिना ढिला भएको थियो ।

विनियमावलीमा भनिएको छ, ‘वार्षिक कार्यक्रम र अनुमानित बजेटलाई सञ्चालक समितिले प्राधिकरणको आर्थिक र अन्य समसामयिक स्थिति समेतको अध्ययन गरी यथावत् रूपमा वा थपघटसहित असार मसान्तभित्र स्वीकृत गर्नेछ ।’

बजेट आएको भनिएता पनि प्राविधिक रूपमा बजेट अझै स्वीकृत नभएको हो ।

यसअघि असार १८ गते बसेको सञ्चालक समितिको बैठकमा बजेट पेश भएको थियो । बजेटमा आफ्ना स्वार्थहरू नपरेपछि मन्त्री खड्का र ऊर्जासचिव सुरेश आचार्य रिसाएका थिए ।

बजेटमा आफ्ना कुराहरू नपरेपछि मन्त्री खड्काले एमडी शाक्यलाई भेटेरै आफ्ना स्वार्थहरू समेट्न उर्दी दिएका थिए ।

तर, एमडी शाक्यले आफू कानूनविपरीत जान नसक्ने भन्दै बजेट संशोधन गर्न मानेनन् । त्यसपछि मन्त्री खड्का सार्वजनिक रूपमै एमडी शाक्यविरुद्ध बोल्न थालेका थिए ।

मन्त्री खड्कासँग सम्बन्ध चिसिँदै गएपछि शाक्य प्राधिकरणमा 'कम्फर्टेबल' नभएको स्रोतको दाबी छ । मन्त्री खड्काले या त आफूले भनेको मान्नुपर्ने नत्र एमडीको कुर्ची खाली गर्नुपर्ने उर्दी जारी गर्ने गरेका थिए ।

लोकान्तरले यसबारे गत साउन २१ गते प्राधिकरणमा ऊर्जामन्त्रीको 'नांगो नाच'–स्वार्थबमोजिम कर्मचारी सरुवा गर्न नपाउँदा रोके बजेट ! शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

मन्त्री खड्काले कानूनविपरीत ४ सयभन्दा बढी कर्मचारी सरुवा गर्न समय तोकेरै दबाब दिएका थिए । साउन १ गतेदेखि नै कार्यान्वयनमा जानुपर्ने बजेट मन्त्रीकै दबाबका कारण अहिलेसम्म पनि स्वीकृत हुन सकेको छैन ।

त्यस्तै, मन्त्री खड्काले आफ्नो निर्देशन नमानेको भन्दै एमडी शाक्यलाई जसरी पनि हटाउनुपर्ने भन्दै 'लबिङ' थालेका थिए । भदौ १ गते आयोजित प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा समेत नजाने धम्की मन्त्रीले दिएपछि एमडी शाक्य आजित बने ।

‘एमडीले ल जे गर्ने हो गर्नुस् भन्दै बजेटको मस्यौदा मन्त्रालयमा पठाउनुभयो । त्यसपछि मन्त्री र सचिवले प्राधिकरणको दीर्घकालीन हित हुनेभन्दा पनि बढी आफ्ना स्वार्थहरू पूरा हुने कुरा थपघट गरेर त्यसैलाई अन्तिम रुप दिइएको हो,’ प्राधिकरण स्रोतले भन्यो ।

एमडी शाक्यलाई दबाब दिने प्रयोजनकै निम्ति साउन २२ गते बसेको सञ्चालक समिति बैठकमा बाँकी २ दर्जनभन्दा बढी एजेन्डा राखियो । उक्त बैठकमा मस्यौदा तयार भएर आइसकेको बजेट परेको थिएन ।

मन्त्री खड्का र सचिव आचार्यले नै एजेन्डाको सूचीबाट बजेटलाई हटाएका थिए । त्यसपछि पनि एमडी शाक्य र मन्त्री खड्काबीच बजेटलाई लिएर नोकझोक चलिरहेको थियो ।

‘मन्त्रीले भनेका कर्मचारी सरुवा नभएसम्म बजेट पास नै गर्न नदिने रणनीति थियो र वार्षिकोत्सवमै उपस्थित नहुने धम्की पनि थियो । साउन १ गतेदेखि लागू गर्नैपर्ने बजेटमा खेलबाड गरियो । साउन १ देखि अहिलेसम्मको खर्च सबै पेश्कीबाट चलेको छ,’ स्रोतले भन्यो ।

मन्त्री खड्काले साउन मसान्तभित्र आफूले सिफारिश गरेका ४०० कर्मचारीको सरुवा नभए बजेट पास गर्न नदिने चेतावनी दिएका थिए । विनियमावलीअनुसार ७० कर्मचारी मात्र सरुवा गर्न सक्ने एमडी शाक्यको अडान असफल भएको छ । अहिले शुरूमा १५० कर्मचारी सरुवा गर्ने तयारी भएको र बाँकी गर्दै जाने सहमति भएको स्रोतले बतायो ।

अघिल्ला वर्षहरूमा प्राधिकरणको बजेट स्वीकृति प्रक्रिया सामान्यतया आर्थिक वर्ष शुरू हुनुभन्दा पहिले नै सम्पन्न हुने गरेको थियो । आव २०७९/८० र २०८०/८१ मा बजेट असार मसान्तभित्रै बोर्डबाट स्वीकृत भएको थियो ।

स्रोतका अनुसार बजेटको आकार झन्डै साढे २ खर्बको छ । त्यसमध्ये ऊर्जामन्त्री खड्का र सचिव सुरेश आचार्यले आफ्नो तजबिजमा करिब ४ अर्बको कार्यक्रम थप्न लगाएका छन् । थपिएको कार्यक्रम अझै गुपचुप राखिएको छ ।

सञ्चालक समितिका कतिपय सदस्यहरूलाई पनि मन्त्री खड्का र सचिव आचार्यले के–के कार्यक्रम थपे भन्ने जानकारी गराइएको छैन । बजेटमा व्यवस्था गरिएका कतिपय ठेक्कापट्टाका काम मन्त्री खड्काको समूहअनुकूल बनाइएको स्रोतको दाबी छ ।

गत असार १८ गते नै सञ्चालक समिति बैठकमा पेश गरिएको प्रस्तावित बजेट बनाउने जिम्मा सञ्चालक रोहित पौडेलले पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्