२६ जेठ २०८३, मंगलबार

त्यो दिन बुवाले भन्नुभो- म बाँच्दिन होला, अब घर आइज !

भदौ ७, २०८२
काठमाडौं
त्यो दिन बुवाले भन्नुभो- म बाँच्दिन होला, अब घर आइज !
  • कृष्ण कञ्चन

आज बुवाको मुख हेर्ने दिन रहेछ । भित्ताको पात्रो पल्टाउने मेरो बानी छैन । आजभोलि छन त हातैमा हाम्रो पात्रो भन्ने एप्स छ । त्यो हेर्ने पनि मेरो बानी छैन । कुनै आवश्यकता नपरेसम्म किन खोल्नु !

२०८१ चैत्र १, ठ्याक्कै १६२ दिन अगाडि बुवाको फोन आयो- घर आइज छोरा भनेर । मलाई घर जान केको हतार थियो र ‘दशैँमा आउँछु अब’ भने । 

त्यो दिन बुवाको आवाज भारी थियो । भन्नु भयो- म बाँच्दिन होला अब घर आइज । एउटा कुनै बिरामी नभएको मान्छे, ठीकठाक चलिरहेको मान्छेले यसरी एक्कासि ‘म बाँच्दिन होला’ कसरी भन्न सक्छ ? 

तर, बुवाले भन्नुभयो । बुवा त्यो दिन थोरै बोल्नु भयो । हुन त बुवासँग धेरै कुरा भएको मलाई याद छैन । म बुवासँग सधैं टाढा नै रहेँ । नजिक भएर बुवालाई नजिकबाट कहिल्यै सुमसुम्याउन सकिनँ । ‘तिम्रो इच्छा के छ बा ?’ भनेर कहिल्यै सोध्न सकिनँ ।

बुवाको फोनपछि मैले आमालाई फोन गरेँ । के कसो हो यस्तो भन्नुभयो भनेर बुझ्न खोजेँ । ‘खै के हो, केही भएको छैन तँ पीर नगर’, आमाले भन्नुभयो ।

सायद मेरा बुवाले त्यो बेला आफ्नो जाने बेला भइसकेको पक्का गरिसक्नु भएको थियो । तर, सामान्य बाँचिरहेको मान्छे कसरी यसरी जान सक्छ ? अहिले म सँग प्रश्न मात्रै छन् । जवाफ दिनलाई बुवा साथमा हुनुहुन्न । 

त्यहीँ दिन जानुअघि सबै आफन्तलाई फोन गरेर घरमा बोलाएर चुपचाप कसरी जान सक्छ मान्छे ? मेरा बुवा यो समाजका लागि, देशका लागि कुनै महान मान्छे थिएनन् । तर, हाम्रो परिवारको लागि सबैभन्दा महान थिए । एउटा बलियो आशा, भरोसा र ऊर्जा थिए ।

सबैलाई बोलाएर शौचालय गएका मान्छे फर्किँदा ढल्छन् र कहिल्यै उठ्दैनन् । आमाले, हजुरआमाले कति प्रयास गरे होलान् उठाउन तर बुवाले पहिल्यै भनिसकेका थिए- मेरो समय आइसक्यो । 

अहो!यस्तो पनि हुन्छ ?

समाजमा एउटा मान्छे घट्यो । समाजका लागि सामान्य कुरा भयो । सम्झिनेले सम्झिए पनि । बिर्सिने बिर्सिए पनि । अब के भयो ? तर, उमेरले आँखा कमजोर देख्ने मेरी हजुरआमा, बूढेशकालमा लठ्ठी खोजेकी हजुरआमा एक्ली भइन् । उनले आफैंले जन्माएको जेठो सन्तानले उनकै आँखा अगाडि संसार छाडेर गयो । आफैंले जन्माएको सन्तान आफ्ना आँखै अगाडि कहिल्यै नफर्किने यात्रामा जाँदा कस्तो भयो होला एउटी आमाको मन ? म केवल अनुमान मात्र गर्न सक्छु । कति गाँठो पर्‍यो होला त्यो मन ? शायद, अब त्यो गाँठो कहिल्यै फुक्ने छैन, कसैले फुकाउन सक्ने छैन । 

जीवनमा यतिका वर्ष सँगै बसेको, एउटै छानो ओढेको, एउटै सिरानी हालेको । कहिले झगडा, कहिले प्रेम गर्दै जीवनलाई यहाँसम्म ल्याएकी मेरी आमाले अब एक्लै जीवनको यात्रा गर्नुपर्ने भयो । मनका कुरा पोख्ने, हाँस्दा सँगै हाँसिदिने, रुदा आँसु पुछिदिने सहारा सधैंका लागि गुमाइन्- त्यो पनि आफ्नै आँखाको अगाडि । पल भरमै । 

ती साना साना केटाकेटीले बुवा कतै बाहिरबाट आउँदा गोजीमा हात हाल्थे- आशाले, भरोसाले । मायाले । त्यो बुवाको खल्तीमा सधैंका लागि आगो लाग्यो । नानीहरूको आशा सधैंका लागि यहीँ रोकियो । 

अगाडिसम्म ठीकठाक भएका बुवा ‘एकाएक बिरामी परे, हस्पिटल लानुपर्‍यो इमर्जेन्सी घर आइज’ भनेर काकाको फोन आउँदा झसङ्ग भएँ । दुई घण्टा अगाडिको बुवाको फोन सम्झिएँ । ‘घर आइज छोरा’ भनेको त्यही आवाज कानभरि गुञ्जिरह्यो । भाउन्न भयो । मोबाइल समातेका काम काँप्न थाले । 

हस्पिटल भनेपछि पैसाको कुरा आउला । तर म एक खर्चालु मान्छे कमाएर रमाउन ठिक्क भएको मान्छेले ‘पैसा छ कि छैन अंकल’ भनेर जबर्जस्ती सोध्ने आँट गरे । 

मसँग खातामा रहेको १०/१५ हजार पठाएँ । बाँकी त साथीभाइसँग हारगुहार गरेँ- कतै केही सीप नचलेपछि । काम गरिरहेका ठाउँबाट केही ऋण लिएँ । हस्पिटल लैजाने कुरा हुँदै थियो । त्यसको १०/१५ मिनेटपछि बुवाले हामी सबैलाई छोडेर गइसक्नुभएछ । 

फेरि फोन आयो । अंकलको स्वर अहिले फरक थियो । थकित जस्तो, मलिन जस्तो । मान्छेलाई घर जान हतार त यस्तै बेला हुँदोरहेछ है ? जिल्लामा एअरपोर्ट छैन । नजिकका जिल्लामा हुने फ्लाइट हेरेँ । कहीँ कतै नभेटेपछि ५ बजे बेलुकीको रात्रिबसको टिकट लिएँ ।

साथीले अफिसबाटै बसपार्कसम्म पुर्‍याउने काम गर्‍यो । आफूसँग भएको केही पैसा पनि ‘ल राख् चाहिन्छ’ भनेर हातमा राखिदियो । बसपार्क पुगेपछि रोएँ । धेरै रोएँ । जीवनमा यति धेरै म यसअघि कहिल्यै रोएको थिइनँ । मान्छेलाई मनमा धेरै पीर परेपछि अरूले के भन्लान्, के सोच्लान् भन्ने वास्ता नहुँदो रहेछ । रुँदारुँदै थाकेपछि रुन पनि नसकिदो रहेछ । 

म रुँदै रात्रिबसमा सल्यानका लागि हुइँकिएँ । सधैँ जीवनमा मलाई पर्खिरहेका मेरा बुवाले मरेपछि पनि एकदिन पर्खिनुपर्‍यो । ‘माफ पाउँ बुवा, रिसानी माफ होस् । समयले यस्तै गरायो भनेर समयलाई मात्रै दोष दिन चाहन्नँ । हाम्रो अवस्था नै यस्तै भयो होला । 

काठमाडौंबाट बस चढेको भोलिपल्ट घर पुगेँ । घरमा मान्छेको घुइँचो थियो । सायद ढिला भएर पनि होला, सबैलाई थाहा भइसकेर पनि होला । घर बाहिर बाँस काटेर तयार पारिएको थियो । बा भित्र सुतिरहेका थिए ।  मेरा माइला अंकल आँसु पुछ्दै बुवाको शरीरमा झिँगा आउँछन् भनेर चनाखो भएर बसिरहेका थिए । 

अंकलले हिजै फोन गरेका थिए- अन्तिममा के गरौँ,  बुवाको मुख हेर्छस् कि काम अगाडि बढाम ? निर्णय गर् । मैले भनेको थिएँ- दुई भाइ छोरा एउटा विदेशमा छ, म त आउँदै छु अंकल पर्खिनुस् ।

दुई दिनदेखि भोको पेट रुँदा रुँदा हिक्क हिक्क मात्रै आउने अवस्थामा घर पुगेँ । बुवाको गोडालाई ढोगेँ । सधैँ आशीर्वाद दिने मेरा बाले यो पटक मलाई आशीर्वाद दिएनन् । केही बोलेनन् । म रुन पनि सकिनँ । भोको पेटले होला, प्यासले होला, रुँदा रुँदा थाकेर होला । केवल हेरिमात्र रहेँ । 

त्यहीँ दिन आमाको सिउँदो पुछियो । हामीले बा गुमायौं । भाइ परदेशबाट २/४ दिन ढिला आयो- बुवाको मुख हेर्न पाएन । हेर्दाहेर्दै बुवा भन्ने साइनो सकियो । बोलाउने सम्बोधन सकियो । 

बुवा बितेपछि हरेक रात सपनामा देखूँ लाग्छ । दुई/चार कुरा गरौं लाग्छ । तर, बुवा किन रिसाएका हुन् कुन्नि ? गएपछि कहिल्यै सपनामा आएनन् । आए त केवल हरबखत सम्झनामा मात्रै । 

आज बुवाको मुख हेर्ने दिन, परलोक गइसकेका मेरा बुवालाई यत्ति भन्छु- बा ! प्लिज हरेक रात सपनामा आइदेऊ न ! म पर्खिरहेको छु ।

salt training

कमेन्ट गर्नुहोस्