०९ असार २०८३, मंगलबार
व्यवसायका अवसर र चुनौती

आँगनको गाईदेखि अमेरिकी बजारसम्म : एउटा रोगले चकनाचुर पारेको छुर्पी उद्यमीको सपना

भदौ ७, २०८२
विराटनगर
आँगनको गाईदेखि अमेरिकी बजारसम्म : एउटा रोगले चकनाचुर पारेको छुर्पी उद्यमीको सपना

कुनैबेला उनको उद्योगमा दैनिक २५ सय लिटर दूध प्रशोधन हुन्थ्यो। यहाँ बन्ने विशेष प्रकारको चिल्लोरहित छुर्पीले नेपालको सीमा नाघेर अमेरिकाका घरपालुवा कुकुरको मुख मिठ्याउँथ्यो । 

तर, आज उनै उद्यमी दण्ड शमशेर शाही धरानको स्थानीय बजारमा आफ्नो उत्पादन सीमित गर्न बाध्य छन् । उनको यो यात्राले नेपालको कृषि उद्यममा लुकेको अपार सम्भावना र अप्रत्याशित चुनौतीको जीवन्त कथा बताउँछ ।

विसं २०६६ मा शाहीले तेह्रथुमको छथर गाउँपालिका-५ मा जब छुर्पी व्यवसायमा हात हाले, उनको शुरूआत निकै सामान्य थियो । ‘मैले १३ लिटर दूधदेखि बनाउन थालेको हो’, उनी आफ्नो उद्यमको प्रारम्भिक दिन सम्झन्छन् । 

व्यवसाय सफल हुन्छ कि हुँदैन भन्ने निश्चित नभएकाले उनले शुरूमा आफ्नै घरमा पालेको गाईको दूधबाट परीक्षण गरे ।  ‘अरुको दूध ल्याएपछि पैसा तिर्नुपर्छ, बिग्रियो भने घाटा हुन्छ भनेर त्यसरी शुरूआत गरेँ,’ उनले भने ।

शुरूआती परीक्षण सफल भएपछि उनको आत्मविश्वास बढ्यो । १३ लिटरबाट शुरू भएको उत्पादनको यात्रा २०, ५० हुँदै दैनिक २५ सय लिटरसम्म पुग्यो । शुरूमा धरानको स्थानीय बजारमा बिक्री हुने उनको छुर्पीले विस्तारै अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो स्थान बनायो ।  करिब १४ वर्षसम्म उनको उद्योगमा उत्पादित विशेष प्रकारको फ्याट (चिल्लो)रहित छुर्पी अमेरिका निर्यात भयो । त्यहाँ यो घरपालुवा कुकुरका लागि ‘डग च्यू’को रूपमा निकै लोकप्रिय बन्यो ।

‘उहाँ (अमेरिका)का लागि बनाउनलाई एकदम फाइनल छुर्पी बनाउनुपर्छ ।  फ्याट हाल्न पाइँदैन,’ शाहीले भने । यो व्यवसाय फस्टाउँदा उनले सयौं किसानबाट दूध संककलन गरेर उनीहरूलाई रोजगारी मात्र दिएनन्, आफूलाई पनि एक सफल उद्यमीको रूपमा स्थापित गरे ।

सबै कुरा राम्रै चलिरहेको थियो, तर कोरोना महामारी र त्यसपछि गाईवस्तुमा देखिएको ‘लम्पी स्किन’ रोग उनको व्यवसायका लागि घातक सावित भयो । यो रोगले गाईको शरीरमा खटिरा आउने, थुन र शरीरका अन्य भागमा पीप र रगत जम्ने जस्ता डरलाग्दा लक्षण देखियो ।

रोगी गाईका तस्वीर र भिडियो सामाजिक सञ्जालमा फैलिएपछि यसले उपभोक्ताको मानसिकतामा गहिरो र नकारात्मक असर गरेको छ । ‘आफ्नो गाईको दूध आफैंले खान घिन लाग्यो हामीलाई पनि,’ उनी त्यो भयावह स्थिति सम्झन्छन् । 

यसको असर बजारमा तुरुन्तै देखियो । न घिउ बिक्न थाल्यो, न त छुर्पी ।  बाह्र सय रूपैयाँ प्रतिकिलो बिक्री हुने छुर्पीको मूल्य सात सय रूपैयाँमा झरेको थियो ।  बजारको माग र मूल्य दुवै घटेपछि उनले भारी मनका साथ अमेरिकामा छुर्पी पठाउने काम बन्द गर्ने निर्णय लिएका थिए । ‘दाम ह्वात्तै घटेपछि मनोबल पनि घट्यो’, उनले निरास हुँदै सुनाए ।

अन्तर्राष्ट्रिय बजार गुमाए पनि शाहीले हार मानेनन् ।  अहिले उनको ‘दुग्ध मिठाई उद्योग’ले आफ्नो उत्पादनलाई घरेलु बजारमा केन्द्रित गरेको छ । उनी दैनिक ५००–६०० लिटर दूध प्रशोधन गरेर २५–३० किलो छुर्पी उत्पादन गर्छन् । अहिले उत्पादन गरेको छुर्पी भने मानिसले खाने खालको हुने उनी बताउँछन् । अमेरिका पठाउने छुर्पी जस्तो नभई यसमा चिल्लो पदार्थको मात्रा पनि हुन्छ । उनको उत्पादन अहिले धरान र आसपासका क्षेत्रमा बिक्री हुने गरेको छ ।

null

व्यवसायको आकार घटे पनि उनले किसानसँगको आफ्नो सम्बन्धलाई भने टुट्न दिएका छैनन् । उनी अहिले पनि करिब डेढ सय किसानबाट दूध खरिद गर्छन् र उनीहरूलाई मासिक रूपमा भुक्तानी दिन्छन् । जतिबेला दुग्ध विकास संस्थान (डीडीसी)ले महिनौंसम्म किसानको भुक्तानी रोक्ने र ‘मिल्क होलिडे’ गरिरहँदा पनि उनी भने महिना महिना दिनमा भुक्तानी दिने गर्छन् ।

डीडीसीको कार्यशैलीको आलोचना गर्दै उनी भन्छन्, ‘किसान र उद्यमीलाई डुबाउने नै डीडीसी ह । दूधको दाम बढाउने तर वर्ष दिनसम्म भुक्तानी नदिने कामले बजार बिगारेको छ ।’

विगतमा करोडौंको लगानी गरेर व्यवसाय विस्तार गरेका शाही अब भने पहिलेको अवस्थामा फर्कने योजनामा छैनन् । ‘महिनामा ५० लाखको पेमेन्टले नपुग्ने अवस्था थियो,’ उनी भन्छन्, ‘माग भए पनि भोलि के हुन्छ भन्ने डर कायमै छ ।’ 

उद्योगका लागि खरिद गरिएका एक करोडभन्दा बढीका सामग्रीहरू अहिले पनि साक्षी छन् । 

दण्ड शमशेर शाहीको यो यात्राले नेपालको कृषि व्यवसायमा रहेका अवसर र चुनौती दुवैलाई उदाङ्गो पारेको छ ।

१३ लिटर दूधबाट शुरू भएर अमेरिकाको बजारसम्म पुग्नु उनको लगन र मेहनतको प्रतीक हो भने, लम्पी स्किन जस्तो महामारीले स्थापित व्यवसायलाई कसरी धराशायी बनाउन सक्छ भन्ने यो एक नमीठो उदाहरण पनि हो । 

हाल उनी सानो स्तरमा भए पनि आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।  उद्यमशीलता र कहिल्यै हार नमान्ने प्रवृत्तिको परिचय उनले बताएका छन् ।  उनी नेपालमै गर्न चाहे सम्भावना अझै पनि रहेको देख्छन् ।

salt training

कमेन्ट गर्नुहोस्