
कुनैबेला उनको उद्योगमा दैनिक २५ सय लिटर दूध प्रशोधन हुन्थ्यो। यहाँ बन्ने विशेष प्रकारको चिल्लोरहित छुर्पीले नेपालको सीमा नाघेर अमेरिकाका घरपालुवा कुकुरको मुख मिठ्याउँथ्यो ।
तर, आज उनै उद्यमी दण्ड शमशेर शाही धरानको स्थानीय बजारमा आफ्नो उत्पादन सीमित गर्न बाध्य छन् । उनको यो यात्राले नेपालको कृषि उद्यममा लुकेको अपार सम्भावना र अप्रत्याशित चुनौतीको जीवन्त कथा बताउँछ ।
विसं २०६६ मा शाहीले तेह्रथुमको छथर गाउँपालिका-५ मा जब छुर्पी व्यवसायमा हात हाले, उनको शुरूआत निकै सामान्य थियो । ‘मैले १३ लिटर दूधदेखि बनाउन थालेको हो’, उनी आफ्नो उद्यमको प्रारम्भिक दिन सम्झन्छन् ।
व्यवसाय सफल हुन्छ कि हुँदैन भन्ने निश्चित नभएकाले उनले शुरूमा आफ्नै घरमा पालेको गाईको दूधबाट परीक्षण गरे । ‘अरुको दूध ल्याएपछि पैसा तिर्नुपर्छ, बिग्रियो भने घाटा हुन्छ भनेर त्यसरी शुरूआत गरेँ,’ उनले भने ।
शुरूआती परीक्षण सफल भएपछि उनको आत्मविश्वास बढ्यो । १३ लिटरबाट शुरू भएको उत्पादनको यात्रा २०, ५० हुँदै दैनिक २५ सय लिटरसम्म पुग्यो । शुरूमा धरानको स्थानीय बजारमा बिक्री हुने उनको छुर्पीले विस्तारै अन्तर्राष्ट्रिय बजारमा आफ्नो बलियो स्थान बनायो । करिब १४ वर्षसम्म उनको उद्योगमा उत्पादित विशेष प्रकारको फ्याट (चिल्लो)रहित छुर्पी अमेरिका निर्यात भयो । त्यहाँ यो घरपालुवा कुकुरका लागि ‘डग च्यू’को रूपमा निकै लोकप्रिय बन्यो ।
‘उहाँ (अमेरिका)का लागि बनाउनलाई एकदम फाइनल छुर्पी बनाउनुपर्छ । फ्याट हाल्न पाइँदैन,’ शाहीले भने । यो व्यवसाय फस्टाउँदा उनले सयौं किसानबाट दूध संककलन गरेर उनीहरूलाई रोजगारी मात्र दिएनन्, आफूलाई पनि एक सफल उद्यमीको रूपमा स्थापित गरे ।
सबै कुरा राम्रै चलिरहेको थियो, तर कोरोना महामारी र त्यसपछि गाईवस्तुमा देखिएको ‘लम्पी स्किन’ रोग उनको व्यवसायका लागि घातक सावित भयो । यो रोगले गाईको शरीरमा खटिरा आउने, थुन र शरीरका अन्य भागमा पीप र रगत जम्ने जस्ता डरलाग्दा लक्षण देखियो ।
रोगी गाईका तस्वीर र भिडियो सामाजिक सञ्जालमा फैलिएपछि यसले उपभोक्ताको मानसिकतामा गहिरो र नकारात्मक असर गरेको छ । ‘आफ्नो गाईको दूध आफैंले खान घिन लाग्यो हामीलाई पनि,’ उनी त्यो भयावह स्थिति सम्झन्छन् ।
यसको असर बजारमा तुरुन्तै देखियो । न घिउ बिक्न थाल्यो, न त छुर्पी । बाह्र सय रूपैयाँ प्रतिकिलो बिक्री हुने छुर्पीको मूल्य सात सय रूपैयाँमा झरेको थियो । बजारको माग र मूल्य दुवै घटेपछि उनले भारी मनका साथ अमेरिकामा छुर्पी पठाउने काम बन्द गर्ने निर्णय लिएका थिए । ‘दाम ह्वात्तै घटेपछि मनोबल पनि घट्यो’, उनले निरास हुँदै सुनाए ।
अन्तर्राष्ट्रिय बजार गुमाए पनि शाहीले हार मानेनन् । अहिले उनको ‘दुग्ध मिठाई उद्योग’ले आफ्नो उत्पादनलाई घरेलु बजारमा केन्द्रित गरेको छ । उनी दैनिक ५००–६०० लिटर दूध प्रशोधन गरेर २५–३० किलो छुर्पी उत्पादन गर्छन् । अहिले उत्पादन गरेको छुर्पी भने मानिसले खाने खालको हुने उनी बताउँछन् । अमेरिका पठाउने छुर्पी जस्तो नभई यसमा चिल्लो पदार्थको मात्रा पनि हुन्छ । उनको उत्पादन अहिले धरान र आसपासका क्षेत्रमा बिक्री हुने गरेको छ ।

व्यवसायको आकार घटे पनि उनले किसानसँगको आफ्नो सम्बन्धलाई भने टुट्न दिएका छैनन् । उनी अहिले पनि करिब डेढ सय किसानबाट दूध खरिद गर्छन् र उनीहरूलाई मासिक रूपमा भुक्तानी दिन्छन् । जतिबेला दुग्ध विकास संस्थान (डीडीसी)ले महिनौंसम्म किसानको भुक्तानी रोक्ने र ‘मिल्क होलिडे’ गरिरहँदा पनि उनी भने महिना महिना दिनमा भुक्तानी दिने गर्छन् ।
डीडीसीको कार्यशैलीको आलोचना गर्दै उनी भन्छन्, ‘किसान र उद्यमीलाई डुबाउने नै डीडीसी ह । दूधको दाम बढाउने तर वर्ष दिनसम्म भुक्तानी नदिने कामले बजार बिगारेको छ ।’
विगतमा करोडौंको लगानी गरेर व्यवसाय विस्तार गरेका शाही अब भने पहिलेको अवस्थामा फर्कने योजनामा छैनन् । ‘महिनामा ५० लाखको पेमेन्टले नपुग्ने अवस्था थियो,’ उनी भन्छन्, ‘माग भए पनि भोलि के हुन्छ भन्ने डर कायमै छ ।’
उद्योगका लागि खरिद गरिएका एक करोडभन्दा बढीका सामग्रीहरू अहिले पनि साक्षी छन् ।
दण्ड शमशेर शाहीको यो यात्राले नेपालको कृषि व्यवसायमा रहेका अवसर र चुनौती दुवैलाई उदाङ्गो पारेको छ ।
१३ लिटर दूधबाट शुरू भएर अमेरिकाको बजारसम्म पुग्नु उनको लगन र मेहनतको प्रतीक हो भने, लम्पी स्किन जस्तो महामारीले स्थापित व्यवसायलाई कसरी धराशायी बनाउन सक्छ भन्ने यो एक नमीठो उदाहरण पनि हो ।
हाल उनी सानो स्तरमा भए पनि आफ्नो व्यवसायलाई निरन्तरता दिइरहेका छन् । उद्यमशीलता र कहिल्यै हार नमान्ने प्रवृत्तिको परिचय उनले बताएका छन् । उनी नेपालमै गर्न चाहे सम्भावना अझै पनि रहेको देख्छन् ।