
मध्यम वर्गीय परिवारमा जन्मिनुको अर्थ हो- न कमी हुन्छ, न त पुगेको नै । पुगेको छ भनौं भने कतिपय आवश्यकतालाई मन मारेर हिँड्नुपर्छ । पुगेको छैन भनौं भने खानाका लागि छाक टरेको छ टाउको छत राम्रो छ । यो अभाव मेटाउनका लागि दिनरात परिश्रम गर्ने मध्यम वर्गीय परिवारको दु:ख भने साँचो हो । आज म यहीँ यथार्थ कथा सुनाउँदै छु ।
साथीसँग बसेर खाजा खान रेस्टुरेन्टमा पस्न कयौं पटक सोच्ने म अचानक जहाजमा खाजा खाएँ । यो अवसर मेरो लागि निकै ठूलो थियो । हाम्रा लागि भनेर विदेश हानिएका बाआमालाई वर्षौंपछि भेट्ने अवसर जुटेको थियो । मलाई याद छैन मेरो परिवार सँगै बसेर कति अगाडि खाना खाएको थियो । हामीले सबै सँगै मिलेर चाडपर्व मनाएका थियौं, कहिले ?
खैर, यो पटक मैले जहाज चढेर परदेश परिवार भेट्ने सुनौलो समय जुर्यो । त्यही हो मैले आजसम्म बाबाले गरेको योगदानलाई मनदेखि बुझेको । यसअघि कहिलेकसो लाग्थ्यो- बाबाले हामीलाई छोडेर वर्षौंदेखि परदेशमा के गरेको ?
उमेरले ६० वर्ष कट्नुभयो मेरो बाबा । नेपाल बसेको भए केही वर्षमा वृद्धभत्ता बुझ्ने समय आउँदै छ ।
बुवाले उहाँको कार्यस्थल देखाउन लैजानुभयो । विदेशमा प्राय:जसो नेपालीहरू कम्पनीको सरसफाइको काम गर्छन्; मेरो बुवा पनि सोही काम गर्नु हुन्छ । त्यसमा पनि बिदाको दिन घर व्यवस्थापन गर्ने काम विश्वासिलो व्यक्तिलाई मात्र दिइने रहेछ । त्यसमध्ये एक; मेरो बुवा पर्नुहुन्छ । मलाई गर्व लाग्छ कि मेरो बुवा एक इमान्दार अनि असल व्यक्ति हुनुहुन्छ । बुवाको इमान्दारी मैले हुर्केपछि बुझेँ । किनकि म बढ्दै गर्दा हामीबीच खास्सै कुरा मिल्थेन ।
समाजको मूल्यांकन अनुसार म लक्षणको छोरी थिइन रे ! अपजस आउँथ्यो मेरो जन्मपछि परिवारले धेरै दु:ख पायो भन्ने । यस्ता यावत् कुरा हरेक दिनजसो आफन्तको मुखबाट सुनेपछि बुवाको मनमा पनि थोरै तुवाँलो लागेको होला !
तर पनि मेरो बुवाले केही सुविधामा कमी गर्नु भएन । हरेक इच्छा ढिलै भए पनि पूरा गरिदिनुहुन्थ्यो । हाम्रो परिवार ठूलो थियो, अचल सम्पत्ति अथाह थियो जुन कालान्तरमा आफन्तले नै मुद्दा मामिला गरेर हजम पारिदिए । यतिबेला कानूनी विषय जान्नु अपरिहार्य रहेछ भन्ने बुझेँ र कानून पढ्ने इच्छा जाग्यो ।
एकजनाको कमाइले मासिक खर्च धान्न गाह्रो हुन्थ्यो । आमाबुवाले किराना पसल गर्नुहुन्थ्यो, कमाइ पनि राम्रो हुन्थ्यो तर कहाँनेर बढी खर्च हुन्थ्यो पत्तो पाइएन । एक जनाको कमाइले ८ जना मानिस पाल्न अनि इष्टमित्रको मन बुझाउन धौधौ नै थियो । यसैक्रममा हामी हुर्किँदै जाँदा घर खर्च जोहो गर्न मुस्किल पर्यो र बुवा विदेश जानुपर्यो ।
शुरूआतमा बुवा खाडी होमिनुभयो । युरोप पनि बस्नु भयो लामो समयसम्म । तैपनि हाम्रो आर्थिक स्थिति धर्मराइरह्यो; यो बीचमा खुशीको कुरा भनेको हामी हुर्कियौं, कुलतमा फसेनौं, असल बाटो रोज्यौं अनि समाजमा थोरै भए पनि नाम कमायौं । आमाले बुवालाई भन्नु हुन्थ्यो कि हाम्रो सम्पत्ति भनेको नै ४ सन्तान हुन्, यिनिहरूले कहिल्यै नराम्रो बाटो रोजेनन्, सम्पत्ति यिनिहरूले कमाउँछन् ।
पछिल्लोपालि उहाँ देशमै बस्ने अडिग सोचाइका साथ स्वदेश फर्किनु भएको थियो । यतिबेलासम्म आमाले राम्रो व्यवसाय खडा गर्नु भएको थियो अनि हामी ४ सन्तान त्यहीँ काम गरिरहेका थियौं । भन्छन्, पैसाको कारोबरले आफ्नै दाजुभाइमा पनि फाटो ल्याउँछ । हो रहेछ । आफन्तसँगको कारोबारले हामीलाई ऋणको पासोमा अल्झायो । आमाले आफन्तको समस्या बुझेर गरेको आर्थिक कारोबारले हामीलाई समस्यामा पार्यो ।
त्यसपछि फेरि आर्थिक स्थिति धर्मराउन थाल्यो । बुवा फेरि विदेश जाने विचार गर्नुभयो । अनि उहाँ २०६८ सालमा पुन: विदेशिनु भयो । हामी पनि नेपालमा संघर्ष गर्दै अघि बढ्यौं, बुवा विदेशमा काम गर्दै उही आफन्तले लगाएको ऋण हालसम्म तिर्दैछौं ।
परिवारको व्यवसाय बाहेक म पनि आफ्नै व्यवसाय गर्दै थिएँ । जुन आफन्तले लगाएको ऋण तिर्नमै सकिन्छ । नतिरौं पनि कसरी ? जमानी बसेको ठाउँमा सबै आमा अनि मेरो परिवारको औंठाछापसहित तीनपुस्ते विवरण छ । ऋण तिर्न नसकिए हाम्रो नाम बजारमा कालो सूचीमा पर्ला भन्ने पीरले मन आत्तिन छोड्दैन। मलाई मेरो नजिकका साथीहरूले तिमी छोरी हौ, छोरीले घर व्यवहार नहेर्दा पनि हुन्छ, आफ्नो कमाइ बचत गर, घरको ऋण नतिर भनि सुझाउँथे । तर, मलाई मेरो आत्माले त्यसो गर्न दिँदैन ।
मेरो आत्माले आफ्नो तनाव हेरेर आफू रमाउन सक्दैन । हुर्काउँदा एक रत्ति भेदभाव नगरी सबै पुर्याउनुभयो । अहिले म कमाउने खुबी हुँदा परिवारलाई नहेर्न मेरो इमानले दिँदैन ।
यो सबै स्थिति देखेर मेरो बुवा किन नविदेशिऊन् त ? मेरो बुवालाई पनि रहर थियो होला,आफ्नो सन्तानसँगै बसूँ । सन्तानको प्रगति, खुशीमा सामेल होऊँ । मैले कहीँ केही प्रगति अनि प्रशंसा पाउँदा मेरो आमाबुवा पनि साथमा होऊन् भन्ने महसुस गर्छु । अरु दिन जसोतसो मन सम्हालेर काम गरिरहेकै हुन्छु तर दशैँको टीका लगाउने दिनमा मन खिन्न हुन्छ ।
अनि यतिका धेरै संघर्ष गरेर पनि हाम्रो सफलता, खुशी पानीको फोका भन्दा पनि सटिक किन ? मेरो परिवारलाई यो तनावले आजसम्म छोडेको छैन ।
यसै क्रममा आमाबुवा हुनुभएको देशमा घुम्ने सौभाग्य मिलेको बेलामा बुवाको काम गर्ने ठाउँ गएको थिएँ । मलाई लाग्थ्यो कि घरको सफाइ गर्न सजिलो हुन्छ । तर, त्यो भ्रम बुवाले काम गरिरहेको देखेपछि टुट्यो । बुवाले काम गरिरहनु भएको थियो । म यत साहुसँग कलाकृति, भूगोल, ऐतिहासिक ठूला ठूला संरचनाको बारेमा कुरा गर्दै थिएँ ।
बुवा स्वाँ स्वाँ गर्दै थकित मुद्रामा काम गर्नु भएको थियो । पसिना आइरहेको थियो। यही पहिलो दिन थियो मैले बुवाले काम गर्नु भएको प्रत्यक्ष देखेको । यो सबै देख्दा म भावुक भएँ । मलाई आत्मग्लानि भयो । एकछिन भक्कानिन मन लाग्यो, मानसपटलमा विचारका अनेक ज्वारभाटा फुट्न थाले।
म ३० वर्ष कटिसकेँ । यति ठूलो भएर पनि बुवाको प्रौढ समयमा पनि उहाँले गर्नुभएजतिको मिहिनेत किन गर्न सकिनँ ? उहाँले कमाउनु भएजति मैले किन कमाउन सकिनँ, मैले बुवालाई स्वदेश फर्किने बलियो आधार किन दिन सकिनँ ?
मेरो बुवाले चाहनु भएको भए अब ऋण तिमीहरू तिर्नु भनि स्वदेशमै बसेर रिटायर्ड जीवन बिताउन सक्नुहुन्थ्यो । तर, उहाँले पौरख रोज्नुभयो । हुन त हामी सबै सन्तान मिलेर कर्म गरिरहेका छौं । तैपनि बुवाले कमाउनु भएजतिको कमाउन सकेका छैनौं । तर, बुवाले कहिल्यै पनि हामीसँग गुनासो गर्नु भएको छैन । हाम्रो कमीकमजोरी केही केलाउनु हुँदैन । अनि, बाहिर कोहीसँग पनि दु:ख पोख्नु हुँदैन । जति दु:ख, गाह्रो परे पनि मैले जसोतसो २ विधामा स्नातक गरेँ ।
‘मलाई पीएचडीसम्म पढ्न मन छ बुवा’, भनेको थिएँ । अहिले विदेशमा म मास्टर्स तहको पढ्दै छु । सबै खर्च बुवाले दिइरहनु भएको छ । मलाई जे विषयमा मास्टर्स र पीएचडी गर्न इच्छा छ, बुवाले यी इच्छा सबै पूरा गर्न तयार हुनुहुन्छ । ‘कति खर्च लाग्छ पीर नगर म तिमीलाई पढाउँछु नि’ भन्नुहुन्छ ।
अनि म मनमनै सोच्छु- मैले पढेजतिको कमाएर बचत गर्न सकिनँ । हामीले उहाँहरूलाई रिटार्यड जीवनका लागि आश्वस्त पार्न सकेनौं । मेरो आमाबुवाले हाम्रो मात्र होइन, अरूहरूको पनि भविष्य बनाइदिनु भएको छ । मलाई पढ्ने भोकले अझै पुगेको छैन । उता बुवालाई इलम गर्ने कहरले छोडेको छैन ।
म सोच्न बाध्य हुन्छु, ‘आखिर मेरो पढाइको सार्थकता के रह्यो त? आडम्बर, शोख, अधिकार वा धाक मात्र ?’ मेरो अन्तरमनले उत्तर खोजिरहन्छ ।
मेरो बुवा नबुझ्ने स्वभावको हुनु भएको भए मेरो परिवारको जीवन राम्रो हुने थिएन होला भनेर मन बुझाउछु । कुनै दिन भगवानले अपरम्पार महिमाले चमत्कार गर्नुभएर दु:ख खत्तम गरिदिनुहोला । आशा छ, कुनै दिन बुवाले गर्नु भएको जतिकै मिहिनेत गरि कमाउन सक्नेछु र स्वदेशमै बोलाएर उहाँले जस्तै सेवा सुविधा दिने क्षमतावान भई ‘अवकाश जीवनको शुभकामना बुवा !’ भन्न पाउनेछु ।