
नेपाली कांग्रेसको १५ औं महाधिवेशन आउन एक वर्ष हाराहारीको समय मात्र बाँकी छँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सम्बन्धलाई कसिलो बनाउन खोजेको भान हुन थालेको छ ।
१४ औं महाधिवेशनमा लोकप्रिय मत प्राप्त गर्दै महामन्त्री जितेका दुवै नेताबीच पछिल्लो समय हरेक मुद्दामा समान देखिन थालेको हो ।
गत महाधिवेशनमा गगन शेखर कोइराला समूह र विश्व प्रकाशमान सिंह समूहबाट महामन्त्री भएका थिए । महाधिवेशनपछि दुवैले हल बाँधेरै अघि बढ्ने प्रण गरे । यो प्रण बीचमा अलपत्र पर्न पुग्यो ।
तर, पछिल्लो केही समययता पार्टी संरचना सञ्चालन, सरकारको काम गराई, सहकारी ठगी, सदनको प्रभावकारिता, उपसभामुख प्रकरणदेखि नेपाल–भारत सीमा विवादको विषयसम्म महामन्त्रीद्वयबीच ट्युनिङका संकेत देखिन थालेका हुन् ।
महामन्त्री थापा फरक–फरक टीमबाट जिते पनि हल बाँधेर काम गर्ने क्रमले फेरि निरन्तरता पाउन थालेको बताउँछन् ।
‘अघिल्लो महाधिवेशन भएर महामन्त्रीको जिम्मेवारीमा आएपछि शुरूबाटै हल बाँधेरै टीममा काम गरेका हौं । प्रचण्ड नेतृत्वको क्याबिनेटले स्थानीय तहको निर्वाचन सार्ने प्रयास गर्दा हामी दुवैले अहिले जस्तै संयुक्त प्रयास गर्यौं । एमसीसीमा समान मत, पार्टीभित्रका काम र सार्वजनिक विषयमा समान मत बनाएका थियौं,’ अर्का महामन्त्रीसँगको उतारचढाव र निकटताबारे गगनले लोकान्तरसँग भने, ‘बीच सम्बन्ध बिग्रेको त होइन, तर आ–आफ्नो काममा लाग्यौं । प्राथमिकतामा संयुक्त प्रयास छुट्यो । अनि अर्को पक्षले दबाब महसुस गरेन ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्मा जिम्मेवारी प्राप्त पदाधिकारी र सांसद भएकाले महत्त्वपूर्ण इस्युमा आफूहरूको सोचाइ मिलेको बताउँछन् ।
‘विषय र सोचाइको कोण मिलेको हो । महत्त्वपूर्ण इस्युमा सल्लाह गरेर पनि हामी जोडिन्छौं । संसद्, सरकार, संगठनजस्ता कुरामा खबरदारी र काम सँगै गरिरहेका हुन्छौं,’ शर्माले भने, ‘कहिलेकाहीँ म कहाँ हुन्छु, गगन कहाँ हुन्छन्, तर पनि हाम्रो वेभलेन्थ मिलिरहेको हुन्छ ।’
पछिल्लो समय भूमि अध्यादेश हुँदै विधेयकसम्म आइपुग्दा संयुक्त प्रयासको तागत देखिएको थापा बताउँछन् । कांग्रेस समेत सम्मिलित बलियो सरकारले नागरिकलाई डेलिभरी दिन नसकेको, संविधान संशोधनलाई अगाडि नबढाएकोमा पनि दुवै महामन्त्रीको समान मत छ । सदन, सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म दुवैले सरकारलाई निरन्तर खबरदारी गर्दै आएका छन् ।
उप–सभामुख इन्दिरा रानालाई पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै हटाउने गरी जुटाइएको हस्ताक्षरको प्रक्रियाको समेत दुवै महामन्त्रीले खुलेर प्रतिवाद गरेका छन् । बेमौसममा बहुमतको दम्भ देखाएको भन्दै दुवै नेता पार्टी लाइनविपरीत उभिएका हुन् । अरू सांसदले खाली कागजमा हस्ताक्षर गरे पनि महामन्त्रीद्वयले विरोध गरेका छन् ।
‘अहिले विश्व दाइ र मैले भूमि विधेयकमा संयुक्त संशोधन हाल्यौं । सँगै हुँदा तागत देखिँदो रहेछ भन्ने यी प्रयासले देखायो,’ थापा भन्छन्, ‘हामीले शुरूको चरणमा जे गरेका थियौं, अहिले पनि थोरै प्रयास गर्दा नतिजा आएको हो । प्रयास गर्दा कहिले रिजल्ट आयो, कहिले आएन । लामो समय आफ्नै हिसाबले बस्यौं । ध्यान पुगेन । योजनाबद्ध ढंगले नलगेको भए अहिले पनि नतिजा आउने थिएन ।’

अध्यादेशदेखि विधेयकमा संशोधन हाल्दासम्मको प्रक्रियामा उनीहरूबीच गज्जबको ट्युनिङ मिलेको छ । विवादमा परेको अध्यादेशलाई राष्ट्रपतिबाट रोक्न लगाएर विधेयकमार्फत सदनबाट ल्याउन दुवैको सक्रियताले काम गरेको थियो ।
अध्यादेशबाट नभएपछि फास्ट ट्रयाकबाट विधेयक पास गर्न प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका थिए । तर, दुई महामन्त्रीले मिहिन ढंगले छलफल गर्ने, पार्टीलाई कन्भिन्स गर्ने रणनीति बनाए । सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्न सक्ने, गिरीबन्धुसहितका जग्गा व्यवसाय गर्न, अपार्टमेन्ट र घडेरीका लागि बिक्री गर्न खोजेकोमा भन्दै उनीहरूले संशोधन हाले ।
उनीहरूले संशोधन प्रस्तावबाट पछाडि नहट्ने अडान लिए । प्रधानमन्त्री ओली र सभापति देउवाको समन्वयमा गृहमन्त्री रमेश लेखक दुवै महामन्त्रीलाई मनाउन लागे । होटलमा डिनर मिटिङ गरे । सभापतिसँग पनि छलफल भयो । तर, आफूहरूले हालेको संशोधनबाट उनीहरू फिर्ता भएनन् । यसैले उनीहरूले हालेको संशोधनका बुँदासहित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भयो, जसले चियाबगान, कृषि, उद्योग र अन्य प्रयोजनका लागि हदबन्दी छुटमा लिइएको जग्गामा अपार्टमेन्ट बनाउन पाइने छैन । यस्ता जग्गाहरू प्लटिङ गरेर पनि अब बेच्न नपाइने गरी विधेयक संशोधनसहित अगाडि बढेको छ ।
सदन मात्रै होइन, सरकारलाई खबरदारी गर्ने कुरामा पनि दुवै महामन्त्रीबीच ट्युनिङ मिलेको थापा बताउँछन् ।
‘फरक समूहबाट निर्वाचित भएर आए पनि सम्बन्धमा त्यस्तो ठूलो उताचढाव आएको छैन । समान स्पेसमा छौं । कतिपय मुद्दामा फरक मत हुन सक्छन्, तर हामीले सामूहिकता र एक अर्कालाई स्पेस दिएका छौं,’ थापा भन्छन्, ‘फरक–फरक कित्तामा उभिँदा हामीमाथि नै दबाब आउने कुरा दुवैले फिल गरेका छौं । सिक्ने अवसर पनि हामीलाई भयो । पछिल्लो समय भने योजना नबनाउँदा पनि हामी मुद्दाको रूपमा एक ठाउँमा उभियौं ।’
सदनमा विधेयक मात्रै होइन, थापा र शर्मा दुवैले निरन्तर उठाएकाले सहकारी ठगी प्रकरणमा संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएको थियो, जसले सहकारी ठगी गर्ने सयौंमाथि मुद्दा चल्ने स्थिति बनायो । यसबारे दुवैले सदनमा निरन्तर बहस र पैरवी गरेका थिए ।
शर्मा पनि सहमति र सहकार्य भइरहेको बताउँछन् ।
‘पछि के होला, त्यो अहिले नै भन्नु हतारो हुनेछ । तर, हामीलाई पछिल्लो समय सदन, सरकार, सहकारी जस्ता मुद्दाले जोडेको छ । अहिले सहमति र सहकार्य भएर गएको छ । एक आपसमा सहकार्य गरेर जानुपर्छ भन्ने साझा बुझाइ भएको छ,’ शर्माले भने, ‘हामीसँग धेरैको अपेक्षा छ । चुनौती हुन्छन् । तर, आशा/अपेक्षा गरौं, पछिसम्म मिलेरै अगाडि बढ्न सकिनेछ ।’
गगनले भन्दै आएको हल बाँधेर अगाडि बढ्ने विषय स्वर्गीय प्रदीप गिरिले अगाडि सारेको शर्माले स्मरण गरे ।
‘गगन र विश्व महामन्त्री बन्नुभन्दा चार वर्षअगाडि नै प्रदीप गिरिले हामी हल बाँधेर अगाडि बढेको हेर्ने अभिलाषा व्यक्त गर्नुभएको थियो,’ शर्माले भने, ‘उहाँले भनेअनुसार नै हामीले महामन्त्रीमा हल बाँधेरै काम गर्नुपर्छ भन्ने प्रण गरेका थियौं । त्यो प्रयत्नमा अझै छौं ।’
महामन्त्रीमा जितेलगत्तै पनि शर्माले रूपान्तरित कांग्रेस बनाउन आफूहरूको जीतले महत्त्व राख्ने प्रतिक्रिया दिएका थिए ।
‘रूपान्तरित कांग्रेसका लागि दुई युवालाई देशले निर्वाचित गरेको छ,’ शर्माले २०७८ मा भनेका थिए, ‘हल बाँधेर काम गरुन् भन्ने अपेक्षा हामीप्रति छ । अर्को चुनावमा बहुमत ल्याउने स्थितिमा पुग्नुपर्छ ।’
चुनौती पनि उत्तिकै
कतिपय सन्देश दिन सफल भए पनि आफूहरू चुनौतीरहित नभएको थापा स्वीकार्छन् । दुवैले महामन्त्रीका रूपमा सभापतिसँग मिसिएर काम गर्नुपर्ने अवस्था छ । सिनियर नेतालाई पनि विश्वासमा लिनुपर्ने अवस्था छ । लोकप्रिय दुई युवा नेता महामन्त्री हुँदा पार्टीका विभाग सक्रिय भएका छन् । केन्द्रीय कार्यालय सानेपामा दिनहुँ एउटा न एउटा विभागले केही न केही कार्यक्रम राख्दै आएका छन् । तर, वर्षौंसम्म अलपत्र परेका भ्रातृ संस्थाको महाधिवेशन गर्न नसकेको विषयले महामन्त्रीहरूलाई लखेटिरहेको छ । थुप्रै नेता आफूभन्दा सिनियर भएकाले पनि सन्तुलन मिलाएर काम गर्न दुवैलाई कठिनाइ भएको छ ।
‘कतिपय सिनियर नेता पदीय जिम्मेवारीमा हुनुहुन्न । उहाँहरूलाई बोल्दे पुग्छ, केही गर्न पर्दैन । उच्च नेतृत्वलाई निर्णय गरे पुग्छ । हामीले सभापतिसँग मिसिएर काम पनि गर्नुपर्छ । सँग–सँगै गलत निर्णयबाट पार्टीलाई जोगाउनुपर्ने अवस्था पनि छ,’ थापा भन्छन्, ‘अब एक/डेढ वर्ष अधिवेशनमा लाग्नुपर्ने छ । यसका लागि सदस्यता टुंग्याउने, भ्रातृ संस्थाको अधिवेशन सकाउनुपर्ने, सबैलाई विश्वासमा लिनुपर्ने अवस्था छ । संसद्मा मोर्चाबन्दी गर्ने, सरकारमा भएकाले दबाब पनि दिनुपर्ने, तर टाढा पनि जान नदिई सही ट्रयाकमा राख्नुपर्ने बाध्यता हामीलाई छ ।’
केही दिनअघि चीन र भारतले लिपुलेकमा सीमा व्यापार खोल्ने सहमति गरेका थिए । नेपाली भूमिमा दुई देशले मनोमानी गरेको भन्दै महामन्त्रीद्वयले कडा प्रतिवाद गरे । गगनले प्रतिनिधिसभामा बोल्दै सबै दल दलीय स्वार्थबाट माथि उठेर प्रतिवादमा उत्रिनुपर्ने बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले अगाडि सारेका ६ बुँदे कदमको ऐक्यबद्धतामा उभिनुपर्ने थापाको मत थियो ।
‘मेरै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले यो सन्दर्भमा ६ बुँदामा सुझाव प्रस्तुत गर्नुभएको छ । सरकारको त्यतातर्फ ध्यानाकृष्ट गराउँछु । यो सन्दर्भमा सबै दल एक ठाउँमा उभिनुपर्छ । हिजो पनि उभिएका थियौं, आज पनि उभिनुपर्छ,’ थापाले भनेका थिए, ‘कांग्रेसको तर्फबाट आग्रह गर्छु । प्रतिस्पर्धा, मतान्तर आफ्नो ठाउँमा छन् । यसलाई घरेलु मतभेदको विषय नबनाऊँ । भारत र चीनलाई सबै दलले एक ठाउँमा उभिएर एक ढिक्का भएको सन्देश दिनुपर्छ । हाम्रो भूमिमा आँखा लगाउने कदम स्वीकार्य छैन । प्रतिवाद गर्नेछौं भने सन्देश दिनुपर्छ ।’
दुई महामन्त्रीबीच नमिलेका कुरा
कतिपय इस्युमा समान मत र बुझाइ भएपनि केही कुरामा दुवैका मत फरक छन् । कांग्रेसको गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले खुलेरै सभापति शेरबहादुर देउवा छैटौंपटक प्रधानमन्त्री बन्न नहुने मत राखे ।
यसमा शर्माले गगनबाट पनि साथ खोजेका थिए । तर, गगनले शर्माको लाइनमा ‘स्ट्रोङ्गली’ कुरा उठाइदिएनन् ।
‘महामन्त्री शर्माले खुलेरै केन्द्रीय समितिको बैठकमा सभापतिलाई तपाईं छैटौंपटक प्रधानमन्त्री बन्ने होइन, प्रधानमन्त्री पद हस्तान्तरण गर्ने हो भन्नुभएको थियो । तर, यही कुरालाई महामन्त्री थापाले प्रभावकारी रूपमा उठाइदिनुभएन । यसमा पनि शर्माको असन्तुष्टि छ,’ शर्मानिकट एक नेताले भने, ‘आफूले अपेक्षा गरेका नेताबाट अोलीपछिको प्रधानमन्त्री सभापति हो भनेर थापाले बोल्दिनुभयो । छाडे राम्रो, अन्यथा सभापति नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने आशय भएपछि थापाप्रति शर्माको असहमति छ ।’

१५ औं महाधिवेशनमा सँगै हुन्छन् ?
यसअघि ‘अर्ली महाधिवेशन’ २०८२ भित्रै गर्नुपर्ने गरी दुवै महामन्त्रीले दबाब बढाउन खोजेका थिए । २०८० मंसिरतिर थापाले युवालाई समेटेर नवीन धार बनाउन पनि खोजे ।
यसमा महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू गुरुराज घिमिरे, प्रदीप पौडेललाई समेत थापाले विश्वासमा लिएका थिए । शर्माले पनि १४ औं महाधिवेशन लगत्तैदेखि महामन्त्री थापालाई संसदीय दलको नेता बनाउने र प्रधानमन्त्री बनाउने उद्घोष पटक–पटक गरेका थिए ।
शेखर कोइरालाले कोशीमा विद्रोह गरेपछि त झन् दुई नेता नजिकिए । दुवैले यो कदमको विरोध गरेका थिए ।
प्रदीप पौडेल र गुरुराज घिमिरेले पनि साथ दिएका थिए । तर, पछि गुरु शेखरतिरै लागे । गगन शेखरबाट टाढिए । १५ औं महाधिवेशन निकट आउँदा दुवै महामन्त्री एक ठाउँमा रहने विश्वास थापाको छ ।
‘१५ औं महाधिवेशन अब टाढा छैन । हामी अहिले पनि एक ठाउँमा रहन्छौं, भोलि पनि रहन्छौं । सँगै रहने कुरालाई हामीले उठाएका संगठन, सदन, सरकारको प्राथमिकता र दबाबजस्ता मुद्दाले जोड्छन्,’ थापा भन्छन्, ‘हामी १५ औं महाधिवेशनमा एकै ठाउँमा रहनेमा प्रस्ट छौं ।’
थापा १५ औं महाधिवेशनमा सभापतिमै उम्मेदवारी दिने तयारीमा छन् । अर्का महामन्त्री शर्माले आफ्नो भावी योजना सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, कुनै ठूलो टीमविना नै महामन्त्री जितेका शर्माको पनि माथिल्लै पदमा आकांक्षा छ ।
गगन थापाले उत्साह व्यक्त गर्दा शर्मा भने अहिले नै महाधिवेशनको समीकरणबारे हतारिन नहुने बताउँछन् । ‘महाधिवेशनको विषय रणनीतिक हुनुपर्छ । यसैले अहिले नै हतारमा टिप्पणी नगरौं होला,’ शर्माले भने, ‘समय आएपछि १५ औं महाधिवेशनको पोजिसन क्लियर गर्छु ।’