०८ साउन २०८३, शुक्रबार

महाकाव्यमै मदन पुरस्कार विजेता लम्साल चौथो महाकाव्य ‘कल्प’ लिएर आउँदै

भदौ ९, २०८२
काठमाडौं
महाकाव्यमै मदन पुरस्कार विजेता लम्साल चौथो महाकाव्य ‘कल्प’ लिएर आउँदै

‘अग्नि’ महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्साल आफ्नो चौथो महाकाव्य ‘कल्प’ लिएर आउने भएका छन् । यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा लम्सालको महाकाव्य कल्प सार्वजनिक हुनेछ । 

निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट रहेको साहित्यकारहरू बताउँछन् । उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेन-जी पुस्तासम्म पुर्‍याए छन् । लोकप्रिय बनाएका छन् ।

विभिन्न स्कूल र कलेजका विद्यार्थीसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैंले आफू भाइबहिनी पुस्ताले उठाएको कवि हुँ भन्दै आएका छन् । उनी युवालाई जति माया गर्छन् युवा पुस्ता पनि उनीसँग त्यति नै झुम्मिन्छन् पनि । 

विषयको समसामिकता, भाषिक सरलता तर त्यही सरलतामा उच्चस्तरको दार्शनिक चेतना उनका विशेषता हुन् । सांस्कृतिक चेतना र दार्शनिक रहस्यसँग समसामयिकतालाई अन्तरघुलन गर्न सक्नु उनको विशेष खुबी मानिन्छ । 

यसअघि उनका ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ महाकाव्य प्रकाशित छन् । कल्पका लागि झण्डै पाँच वर्ष खर्चिएको लम्साल बताउँछन् । महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सीपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ । कल्प शिखा बुक्सले प्रकाशन गरेको छ ।

शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्प वैश्विक चेतनाका साथ आएको छ । पौडेलले थपे, ‘एउटा नेपाली कविले विश्वका महत्त्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आँकलन गरेको यो गम्भीर काव्य हुनेछ । विषय, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेछ भन्ने मेरो विश्वास छ ।’

पौडेलका अनुसार यो पुस्तकले आजको विश्व समस्यामाथि बहस प्रारम्भ गर्नेछ । लम्साल समस्या र तिनका निदानहरूको काव्यिक बाटोसहित आएका छन् । 

४० वर्षदेखि गीत र कवितामै रमाइरहेका लम्सालको यो चौथो महाकाव्य र नवौं कृति हो।
 

salt training

कमेन्ट गर्नुहोस्