सरकारले आउँदो असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा दिनहुँ सर्वसाधारणको भिड बढिरहेको छ ।
तर, सरकारी निर्णय कार्यान्वयन गर्ने विभागीय मन्त्रीकै गाडीमा अहिलेसम्म नम्बर प्लेट जडान भएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ ३ गते सूचना प्रकाशित गरी असोज १ गतेदेखि सवारीसाधन नवीकरण, नामसारी लगायतका सेवामा इम्बोस्ड नम्बर अनिवार्य गर्ने जनाएको थियो । सोभन्दा अघि साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले असोज १ गतेबाटै क्रमशः सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको थियो ।
निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालकै गाडीमा अहिलेसम्म इम्बोस्ड नम्बर जडान नभएको पाइएको छ । उनीमात्र होइन अन्य मन्त्रीका गाडीमा पनि इम्बोस्ड नम्बर प्लेट छैन । यसबारे प्रश्न गर्दा मन्त्री दाहालले मन्त्रीहरूको गाडीमा छुट्टै नम्बर प्लेट प्रणाली रहेका कारण ढिलाइ भएको जवाफ दिए । उनले छिट्टै मन्त्रीका गाडीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान हुने दाबी गरे ।
सेवाग्राहीहरूले भने पर्याप्त पूर्वाधार तयारीविनै इम्बोस्ड नम्बर प्लेटमा हतार गरिएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । उनीहरूले गुणस्तरसमेत सन्देहपूर्ण भएको टिप्पणी गरेका छन् ।
यति मात्र होइन, सिंहदरबारभित्र चल्ने सरकारी गाडीहरूमा समेत अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नभएको देखिन्छ ।
हेर्नुहोस भिडियोः