
नेपालीहरूको महान् चाड मानिने बडादशैँ शुरू हुन २५ दिन बाँकी छन् । अर्थात् असोज ६ गते घटस्थापनाका दिनदेखि शुरूआत भएको मानिने दशैँ आउन एक महिना मात्रै बाँकी छ ।
विशेषगरी चाडपर्वमा घर फर्किने यात्रुहरूको भीडसँगै राजमार्गहरूको असहजताले यात्रालाई जोखिमयुक्त बनाउने गर्दछ । लामो दूरीको यात्राका लागि काठमाडौं उपत्यकाबाहिर जाने प्रमुख सडकहरू निर्माणाधीन अवस्थामा छन् ।
काठमाडौंबाट बाहिर निस्किने प्रमुख राजमार्ग पृथ्वी राजमार्गको मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ । अर्को काठमाडौं जोडिने प्रमुख राजमार्ग अरनिको राजर्मागको पनि स्तरोन्नतिको काम भइरहेको छ ।
यसका साथै बाढीले बगाएको पूर्वतर्फको बीपी राजमार्ग र पश्चिमतर्फको नारायणघाट–बुटवल खण्डको काम पनि सम्पन्न भएको छैन ।
एकातिर सडकको असुरक्षित यात्रा छ भने, अर्कोतर्फ चाडपर्वमा सर्वसाधारणले हरेक वर्ष यातायातको मनोमानी भाडा, टिकटको कालोबजारी र क्षमताभन्दा बढी यात्रु (ओभरलोड) बोक्ने जस्ता समस्या भोग्नुपर्ने हुन्छ ।
यता नेपाल यातायात व्यवसायी महासंघले हरेक वर्ष दशैँ तथा दीपावलीका लागि यातायातको अत्यधिक चापका कारणले सवारी संख्या अपुग हुने जनाएको छ ।
चाडपर्वको समयमा यात्रुका लागि हवाईयात्रा भने सुरक्षित र सहज बनिरहेको छ । हवाई सेवाको पहुँच देशभरका प्रमुख शहरमा पुगेको छ । केही पहाडी जिल्लामा पनि हवाई सेवा पुगेको छ । त्यसैले चाडपर्व आउनुभन्दा महिना दिनअघि नै हवाई टिकट बुक भइसकेका हुन्छन् ।
यात्राका लागि सुरक्षित विकल्पका रूपमा यात्रुहरूले हवाई यातायात नै रोज्ने गरेका छन् । राजधानीबाट एक घण्टाभित्र सबै प्रदेशमा पुग्ने सुविधाले यात्रुलाई सहज र समयको बचत गराएको छ ।
सडकमा घण्टौं जाम र बाढी पहिरो तथा दुर्घटनाको उच्च जोखिममा हवाई यात्रा तुलनात्मक रूपमा छोटो, सुरक्षित र भरपर्दो बनेको छ ।
यातायात व्यवस्था विभाग र प्रहरी प्रधान कार्यालयले समय–समयमा ‘सडक सुरक्षा सप्ताह’ मनाउने, सवारी साधनमा जाँच गर्ने र चालकलाई सचेत गराउने प्रयास गरे पनि सडकको अवस्था सुधार नगरेसम्म दुर्घटनाको जोखिम घट्ने सम्भावना कम देखिन्छ ।
सुरक्षित यात्राका लाागि दशैँ आउन एक महिनाअघि नै बुद्ध एयरले आफ्ना अधिकांश टिकट बुकिङ भइसकेको जनाएको छ । नेपालकै सबैभन्दा पुरानो र भरपर्दो हवाई यात्राका लागि बुद्ध एयर नै यात्रुहरूको रोजाइमा पर्ने गरेको कम्पनीको दाबी छ ।