
इन्जिनियर रहेका प्रकाश आचार्य ऊर्जा सम्बन्धी व्यवसाय गर्थे । श्रीमानको काममा सघाउँथिन् श्रीमती रोशनी शर्मा । घरपरिवारको जिम्मेवारीले रोशनी अधिकांश समय घरमै हुन्थिन् । तैपनि केही गर्नुपर्छ भन्ने रोशनीको सोच थियो ।
उनको सोचमा प्रकाशले साथ दिए । त्यसैमा एकदिन रोशनीलाई फुर्यो– हरिलो । हरियो र लोकल मिलेर बनेको हरिलोले लोकल चीजको ब्रान्ड गर्ने सोच बनाएको थियो । सन् २०१९, तिहार नजिकिँदै थियो । पाककलामा अब्बल रोशनीले सेलरोटी बनाइन् । फेसबुकमा राखिन् । सेलरोटीको अर्डर आउन थाल्यो । तिहारको समय रेस्पोन्स राम्रो पायो हरिलोले । घरको भान्छाबाट पाँच हजार लगानीमा सेलरोटी बनाएर शुरूआत भएको हरिलो अहिले नेपालको एकमध्ये अचारको ब्रान्ड भनेको छ । जसले,शार्क ट्यांक नेपालमा पुगेर २ करोड लगानी पाएको छ ।
सेलरोटी खोज्ने ग्राहकले अचार पनि सोध्न थाले । अचार बनाउने भान्छामै त हो भनेर हरिलोले अचार बनाउने अर्डर लियो । सेलरोटीको स्वाद मन पराएका उपभोक्ताले हरिलोको अचार जिब्रोमा रुचाए ।
‘सेलरोटी राम्रो भएको थियो । सेलरोटी लैजानेले अचार पनि छ भने दिनु न भन्न थाले । अनि हामीले अचार भनेको पनि घरमै बनाउने भयो हुन्छ, हामी बनाउँछौं भनेर अर्डर लियौं’, प्रकाशले शुरूआती दिन सम्झिए ।
शुरूमा मूला, लप्सीको अचार बनाउन थाल्यो हरिलोले । पोखरा आसपासका क्षेत्रमा जे पाइन्छ त्यसैको स्वाद अचारमार्फत् पस्किन थाल्यो । त्यस समय काठमाडौंमा मासुको अचारले मार्केट लिइरहेको थियो । यता, हरिलोले पनि मासुको अचार बनाउने सोच बनायो ।
‘काठमाडौंमा मासुको अचारको ट्रेन्ड चलिरहेको थियो हामीले पनि प्रयास गरौं न भन्ने भयो । बनायौं, चाख्यौं, चखायौं । मीठो भयो भनेपछि हामीले फोटो खिच्यौं, फेसबुकमा राख्यौं । मासुको अचार राम्रो गयो’, प्रकाशले सुनाए ।
मासुको अचारले नसोचेको मार्केट लियो । अहिले बजारमा मासुको अचार खपत हुने कम्पनीमध्ये पाँचभित्र पर्छ हरिलो । जो, नेपाली बजार होइन, विदेशी बजारसम्म पुगेको छ ।
शुरूआतमा केजीमा बेच्थ्यो कम्पनीले अचार । किलोको नै दुई हजार । त्यतिन्जेलसम्म पनि कम्पनीले अर्डर आए मात्र अचार बनाउने गर्थ्यो । मार्केटमा खुलेर पुगिसकेको थिएन । यता, आम उपभोक्ता अचार लिन चाहे पनि क्वान्टिटी र पैसा धेरै लाग्यो उनीहरूलाई । त्यसैले हरिलोले सानो क्वान्टिटीमा अचार बेच्न थाल्यो । स्वाद मीठो थियो अचारको । तैपनि बजार लिइसकेको थिएन । त्यसपछि प्रकाश आफैं मार्केटिङ गर्न थाले ।
‘पसल पसलमा पस्दै हामीले यस्तो बनाएका छौं राख्नुस्, बेचेपछि पैसा तिर्नुस् भन्थ्यौं । कतिले राख्थे, कतिले मानेनन् । त्यो मासुको अचारबाट त हामीलाई एकदम राम्रो बिजनेस हुन थाल्यो’, उनले सुनाए ।
शुरू गरेको दुई महिनामा नै हरिलोले माया पाएको थियो । घरको किचनबाट नदीपुरमा गोदाममा सर्नुपर्यो । एक जना सहयोगी महिला र डेलिभरी गर्नेलाई हरिलोले रोजगार दियो । अनलाइन अर्डर गर्न खोज्नेले अन्य सामग्री पनि सोधपुछ गर्थे । हरिलोको शुरूआतको मोटिभ फरक थियो । लोकल चिजलाई ब्रान्ड गर्ने । तर, सानो लगानीबाट शुरू भएको व्यवसाय चुनौती थियो । जेठोबुढो चामल, मुस्ताङको सिमी होस् कि कुरिलो यी सबै बजारमा लैजान चाहान्थे । यद्यपि, अर्डर आए खोज्थे अनि डेलिभरी गरिदिन्थे । तर, यो सम्भव पनि थिएन सधैँ । त्यसैले हरिलोले अचारमा नै ध्यान दियो ।
हरिलोलाई पहिलोपटक विदेशबाट ठूलो मात्रामा तिलको लड्डु अर्डर आयो, हङकङबाट । माघे संक्रान्तिको समय हङकङको टोलीले बल्कमै अर्डर गरे । हरिलोले यसलाई पनि ‘हुन्छ’ भन्यो । हरिलोले सिक्दै र गर्दै व्यवसाय सञ्चालन गर्यो ।

यो सिकाइमा गुनासो पनि आएन । व्यवसाय बढेको थियो । लिएको गोदाम सानो हुन थाल्यो । सन् २०२१ मा नेपाल सरकारको महिला उद्यममा ऋणका लागि आवेदन दिए । एनएमबी बैंकबाट १५ लाखको ऋण पायो व्यवसायले । हरिलोलाई नयाँ ठाउँ चाहिएकाले दिपमा सर्यो । त्यतिबेला हरिलोले सुकुटी बनाउन थालिसकेको थियो ।
त्यसैक्रममा दोस्रो ठूलो अर्डर आयो अमेरिकाका लागि । सय केजी सुकुटी तयार पारेर हप्ता दिनमा सामान पठाउनुपर्ने थियो । त्यतिन्जेल हरिलोको क्षमता भइसकेको थिएन, छोटो समयमा त्यति धेरै उत्पादन गर्नका लागि । तैपनि प्रकाश दम्पतीले आँट गरे । इन्जिनियरको अनुभव भएकाले आवश्यक मेसिनको क्षमता बढाउने काम प्रकाश आफैंले गरे ।
थोरै समस्याका बाबजुद हरिलोले अर्डर पठायो । त्यसपछि हरिलो निरन्तर अमेरिका पुगिरहेको छ । प्रकाश र रोशनी ठूलो वा आफूसँग नभएको सामान अर्डर आउँदा न आत्तिए न त फर्काए ग्राहकलाई । उनीहरूले प्रयास गरे हरेक चिजको । त्यसैले पनि उनीहरू आज नेपालीदेखि विदेशी बजारमा पुगेका छन् ।
बाहिरबाट एक/दुई वटा अर्डर आएपनि हरिलोले विदेशी बजार पुग्ने कुरा ध्यान दिइसकेको थिएन । तर, नेपाली बजारले सुकुटी रुचाएको थियो । गल्फ जाने नेपालीले थोरै समयमा धेरै मात्रामा सुकुटी अर्डर दिन थाले । हतारमा आएको अर्डर देख्दा सोच आयो- हरिलोलाई नै गल्फ कन्ट्रीको बजारमा पुर्याउने ।
‘हामीलाई धेरै फोन चाहिँ के आउन थाल्यो भने, भोलि फ्लाइट छ कतार, साउदी जाने, सुकुटी पठाइदिनु न भनेर । के लाग्यो भने गल्फदेशमा नै सामान पुर्याउन सक्यो भने राम्रो हुन्छ’, उनले भने ।
गल्फमा सामान पुर्याउन आवश्यक नियम बुझन थाले । उता, हलाल सर्टिफाइड प्रोडक्ट मात्र पठाउन मिल्ने भएपछि हरिलो पनि हलाल सर्टिफाइड अचार कम्पनी बन्यो । नेपालको बजारमा जाने मासुदेखि भेज आइटम समेत सबै हलाल सर्टिफाइड हुन् । २०१९ को बिचमा शुरू गरेको व्यवसाय छोटो समयमा नै राम्रो बनेको थियो । उत्सुकता, संशय र प्रश्नको घेराबाट निस्किएर पुग्यो दुबईको बजार । थोरै थोरै तर, हप्तैपिच्छेको अन्तरालमा यूएईबाट अर्डर आउँछ सुकुटीको ।
यही बिहीबार पनि हरिलोले अमेरिकामा सुकुटी, टिमुर लगायत सामान पठायो । यद्यपि, प्रकाशले सोचे जस्तो विदेशी बजारमा हरिलो पुग्न सकेको छैन । अब, प्रकाश दम्पतीको लक्ष्य विदेशी बजारमा पुग्नु छ । शार्क ट्याङमा पुगेर पाएको लगानी पनि उनी त्यसैमा हाल्ने योजना बनाउँदै छन् ।
अहिले हरिलोले २८ जनालाई रोजगारी दिएको छ । यसको मुख्य उत्पादन अचार भएको छ । गत साल मात्र २० हजार केजी खुर्सानीको अचार हरिलोले बजारमा पठायो । अहिले हरिलोको भान्छामा दैनिक पाँच सय केजी बफ प्रोसेस हुन्छ । चिकेन भने २ सय केजी प्रोसेस हुन्छ ।
सबैले स्वाद मन पराएको हरिलो प्रकाश ३५ हुँदा शुरू भएको थियो । मुक्ति इनर्जी नामक आफ्नो कम्पनीमा काम गर्थे । राम्रो कमाइरहेका थिए । त्यत्तिकैमा अचारको व्यवसाय शुरू गर्दा टिप्पणी गर्ने पनि थिए । तर, दुवैलाई परिवारको साथ थियो । उनको पारिवारिक माहोल काम गरी खानुपर्छ भन्ने भयो । त्यसैले पनि प्रकाश र रोशनीले आँट गरे ।