२७ जेठ २०८३, बुधबार

नेपथ्यको युरोप यात्रा- थोरै नेपाली भएका माल्टामा हलभरि दर्शक

भदौ १४, २०८२
काठमाडौं
नेपथ्यको युरोप यात्रा- थोरै नेपाली भएका माल्टामा हलभरि दर्शक
तस्वीर सौजन्य : दिपित राज/नेपालय

अफ्रिका र युरोपबीचको भूमध्य सागरमा थोप्लाजस्तो अनकन्टार टापु । सिङ्गो देशको जनसङ्ख्या पाँच लाखभन्दा केही बढी । नेपालीको सङ्ख्या अनुमानित करिब १० हजार ।

‘कन्सर्टको घोषणा गरिसक्दा पनि यहाँका मानिसले नेपथ्य आउला भनेर पत्याइरहेका थिएनन्,’ आयोजक टोलीका आकाश गुरुङ भन्छन्, ‘बुधबार २५ सयभन्दा बढी दर्शक हलभरि नाचिरहेको क्षण मलाई लाग्यो- असम्भव भन्ने केही हुँदैन रहेछ ।’

अघिल्लो दिनकै एउटा घटनाले यहाँ नेपथ्य समाचारको विषय बनिसकेको थियो । छ शताब्दी पुरानो सङ्ग्रहालय, ऐतिहासिक अनि कलात्मक भवनहरूले भरिभराउ सांस्कृतिक केन्द्र भ्यालेटा घुम्दै गर्दा ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ एक ठाउँमा आफ्नै गीत कसैले गाइरहेको सुनेर चकित पर्छन् । बाटामै बसेर ‘चरी मर्‍यो सिसैको गोलीले’ गाइरहेका मानिस हुन्छन्– त्यस मुलुककै सडक गायक बेन्नी ग्रिमा । अमृत शुरूमा नाच्न खोज्छन् र त्यसपछि रमाउँदै बाँकी गीत सुन्छन् ।

त्यसै दृश्यलाई बयान गर्दै ‘माल्टा डेली’ अखबारले समाचार प्रकाशन गर्छ– ‘भ्यालेटामा गाइँदै गरेको आफ्नै गीत सुनेर नेपाली गायक चकित’। 

अखबारमा मात्र होइन, टिकटकदेखि फेसबुक र एक्ससम्मका सामाजिक सञ्जालमा संसारभरि हजारौं सेयर भएको यो छोटो भिडियो लाखौं दर्शकले हेरिसकेका छन् ।

नेपालीमाझ कमै चिनिएको यो सानो मुलुकमा पहिलोपटक पाइला राखेको नेपथ्यले उपस्थित हुनासाथ आर्जन गरेको चर्चालाई उसको भव्य प्रस्तुतिले अझ बुलन्द बनाएको छ ।

कन्सर्टका लागि डेढ घण्टाअगावै अर्थात् बेलुकीको ठीक साढे ६ बजे ‘माल्टा फेयर एन्ड कन्भेन्सन सेन्टर’का ढोका खुला गरिएका थिए । लगत्तै हलको एकातिर घडीका अङ्कहरू दगुर्दै गरेको देखिन्थ्यो भने अर्कातिर लगातार भरिँदै गरेका दर्शकको चहलपहल ।

हलभित्र भरिएका दर्शक र उनीहरूबीचको ऊर्जाले पहिलो गीत ‘कोशीको पानी’देखि नै जताततै नृत्यरत शरीर देखिन शुरू भएको थियो जुन कार्यक्रमसँगै झन् बढ्दै गयो ।

सानो भए पनि रणनीतिक महत्त्वको यस मुलुकमा दोस्रो विश्वयुद्धताका बेलायती साम्राज्य अन्तर्गतको गोर्खाली सेना आएको अभिलेख पाइन्छ ।

‘अवसरको बाध्यताले हाम्रा पुर्खाले उतिबेलै यहाँसम्म आएर आफ्नो रगत र पसिना बगाएका थिए’ गायनकै क्रममा अमृतले भने, ‘आउनुस्, उनीहरूकै सम्झनामा एउटा गीत गाऔं ।’

null

त्यसपछि लाहुरे परम्पराबाटै विकास भएको गीत ‘नैनाताल’ सुनाउँदै गर्दा दर्शक भावुक बनेका थिए ।

‘अवसरको खोजीमा भौतारिने नेपाली परम्पराले आज तपाईंहरूलाई यहाँसम्म ल्याएको छ,’ अमृतले थपे, ‘इमानदारीसाथ काम गर्नुस् र यहाँको संस्कृतिको पनि सम्मान गर्नुस् । तपाईंले सम्मान गरे उसले पनि तपाईंको सम्मान गर्छ ।’

अमृतले सदाझैँ यहाँको मञ्चबाट पनि संसारभरि फैलिएका नेपालीले आफ्नो भाषा, संस्कृतिको संरक्षण अनि स्वदेशप्रतिको दायित्व निर्वाह गर्न झकझक्याइरहे । नेपालका आफन्तसँग नजिकिन अनुरोध गरिरहे ।

पहिलोपटक कन्सर्ट भइरहे पनि यहाँका दर्शक नेपथ्यका सिर्जनाबाट उत्तिकै परिचित देखिन्थे । उदाहरणका लागि बीचमा एकपटक गितारवादक नीरज गुरुङले धुन निकालेकै भरमा हलभरिका दर्शकले गाउन थालेका थिए– ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना ।’

‘कन्सर्टमा मन बाँध्ने र रमाइलो पारिरहने यति धेरै विषय थिए कि दुई घण्टा बितेको पत्तै भएन,’ नौ वर्षदेखि यहाँ बस्दै आएका सचिन श्रेष्ठ भनिरहेका थिए, ‘प्रस्तुतिदेखि व्यवस्थापनसम्मको स्तरीयता हेर्दा माल्टामा नेपाली साङ्गीतिक प्रस्तुतिको मानक नै यस कन्सर्टले खडा गरिदिएको छ ।’

माल्टाको सडकमा ‘उडायो रेलैले’ गाउने गायक बेनी ग्रिमा पनि कार्यक्रममा सहभागी देखिए । ‘उडायो रेलैले’ प्रस्तुत हुँदा उनीपनि उठेरसँगै गाउँदै थिए । 

‘यो गीत यति स्तरीय ब्यान्डको होला भनेर सोचेको थिएन । मलाई यो कन्सर्ट  कुनैपनि अन्तराष्ट्रिय प्रस्तुतीकरणको हाराहारीमा भएको अनुभव भयो । कार्यक्रममा सुनेको ‘रेशम’ गीत मलाई रमाइलो लाग्यो । अब त्यो गीतपनि सिकेर गाउने बिचार छ’ उनले कार्यक्रमबारे प्रतिक्रिया दिए ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

null

अत्यधिक नेपाली दर्शक अटाएका शहरका कन्सर्टजस्तै माल्टाको शोमा पनि कार्यक्रम चलुन्जेल मात्र नभई हलबाट बाहिरिँदासम्म पनि दर्शकको भिड, उत्साह र ऊर्जा उस्तै देखिन्थ्यो ।

‘नेपालीभाषीको कूल जनसङ्ख्या नै अनुमानित १० हजार भएको ठाउँमा २५ सयभन्दा बढी उपस्थित देखिनु उत्साहजनक हो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ माल्टाको अनुभवबारे भन्छन्, ‘जनसङ्ख्याकै २५ प्रतिशत दर्शक जुट्नु भनेको अनुपातका हिसाबले सम्भवतः आजसम्मै सर्वाधिक सहभागिता जुटेको नेपथ्यको कन्सर्ट यो नै बन्न पुगेको छ ।’

माल्टाको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अब अर्को मुलुक पोर्चुगल पुगेको छ । अगस्त ३१ आइतबार राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’मा कार्यक्रम प्रस्तुत गरिनेछ ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित ‘स्टुडियो सेभेन- एईडी स्टुडियोज’मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ ।

युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिकवेबसाइटमार्फत आफ्नो सिट सुरक्षित गर्न सकिने नेपालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्