
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०८१ को पद्मश्री साहित्य पुरस्कार लेखक रमेश भुसाललाई प्रदान गर्ने निर्णय गरेको छ। भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई यस वर्षको उत्कृष्ट कृति घोषणा गरिएको हो।
वि.सं. २०८१ मा प्रकाशित नेपाली साहित्यका २०३ पुस्तकहरूमध्ये छनोट समितिले सूचीकृत पुस्तकमध्येबाट भुसालको कृतिलाई उत्कृष्ट ठहर गरेको हो। ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रामा कर्णाली नदीको प्रवाहसँगै सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनका विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ।
यसैगरी, नेपाली साहित्य, संगीत र कलामा दीर्घसाधना गर्ने व्यक्तिलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय भएको छ। उनले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी छन्। उनका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा तथा बालसाहित्यसहित करिब दुई दर्जन पुस्तक प्रकाशित छन्।
त्यस्तै, समाजका विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने पद्मश्री गौरव पुरस्कार यस वर्ष प्रा. डा. अभिनारायण (अभि) सुवेदीलाई दिने निर्णय भएको छ। नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने सुवेदी निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्। उनका करिब तीन दर्जन कृति प्रकाशित छन्।
यी तीनै पुरस्कार तथा सम्मानसहित नगद तीन–तीन लाख रुपैयाँ र सम्मानपत्र रहनेछ। प्रतिष्ठानले पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन विशेष समारोहमार्फत अर्पण गर्ने जनाएको छ।