०७ असार २०८३, आइतबार

अलपत्र बन्यो वैदेशिक लगानी भित्र्याउने ‘बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्ट’

भदौ १६, २०८२
काठमाडौं
अलपत्र बन्यो वैदेशिक लगानी भित्र्याउने ‘बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्ट’

सरकारले झन्डै डेढ वर्षअघि ‘बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्ट’(बीआईए) मन्त्रिपरिषद्‌बाटै स्वीकृत गरेको थियो । तर, नेपालमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषद्ले (२०८० चैतमा) स्वीकृत गरेको बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्ट अर्थात् द्विपक्षीय लगानी सम्झौतामा कुनै पनि राष्ट्रले चासो देखाएका छैनन् ।

नेपालले अन्य मुलुकसँग गर्ने बाइल्याटरल इन्भेस्टमेन्ट एग्रिमेन्टको नमूना ढाँचा स्वीकृत गरेर परराष्ट्र मन्त्रालयमार्फत सबै मुलुकहरूमा पठाएको थियो । तर, अहिलेसम्म पनि कुनै पनि राष्ट्रले उक्त ढाँचामा  प्रतिक्रिया नदिएको मन्त्रालय स्रोतले जानकारी दियो । लगानी सम्झौता गर्ने राष्ट्रलाई बीआईएका लागि प्रस्ताव गर्नुको साटो दूतावासमार्फत् सबै राष्ट्रहरूलाई एउटा पत्राचारको ढाँचा मात्रै पठाइएको स्रोतको दाबी छ । 

दुई देशबीचको लगानी संरक्षण र प्रवर्द्धन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक प्रवर्द्धन महाशाखाले तयार गरेको बीआईएको एक फरम्याट हो । वैदेशिक लगानीका लागि कुनै निश्चित गाइडलाइन नभएकाले यो बनाइएको हो । विशेष गरी यो लगानी भित्र्याउन अन्य मुलुकसँग गर्ने सम्झौताको फरम्याट हो । 

तेस्रो लगानी सम्मेलनअगाडि प्रधानमन्त्रीको कार्यालयबाट प्रमाणीकरण भएको बीआईएको ढाँचा अहिले जस्ताको तस्तै अवस्थामा छ । केवल दूतावासमा थन्किएको छ । अर्थात्, प्रधानमन्त्री कार्यालयबाट प्रमाणीकरण भइसकेपछि उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सम्पूर्ण देशका दूतावासहरूमा यो ढाँचा पठाएको थियो । 

प्रक्रियागतरूपमा लगानी सम्झौता गर्ने राष्ट्रलाई मात्र बीआईएका लागि प्रस्ताव नपठाएर ठूलो गल्ती गरिएको मन्त्रालयका एक सहसचिवले बताए । ‘सरकारले यसरी बीआईएको ढाँचा पठाएर मात्रै हुँदैन । त्यो हामीले लगानीका लागि यस्तो ढाँचा बनाएका छौं मात्रै भनेर जानकारी गराएको हो । यसरी कुनै पनि राष्ट्र सम्झौताका लागि अगाडि आउँदैन’, मन्त्रालयका ती सहसचिवले लोकान्तरलाई भने, ‘कुन राष्ट्रसँग लगानीका लागि सम्झौता गर्ने हो, त्यसको छनोट गरी उक्त राष्ट्रलाई सम्बोधन गरेर हाम्रो प्रस्ताव यस्तो छ भनेर अप्रोच गर्ने हो । यसरी जानकारी गराएर लगानी सम्झौता हुँदैन ।’  

द्विपक्षीय लगानी सम्झौता नेपाल सरकार र अन्य मुलुकहरूबीचको सीमापार लगानीलाई प्रवर्द्धन गर्न, संरक्षण गर्न र त्यसका लागि अनुकूल वातावरण सिर्जना गर्न तयार पारिएको हो । यसको मुख्य उद्देश्य लगानीकर्ताको अधिकार सुनिश्चित गर्नु, लगानीलाई गैर–भेदभावपूर्ण व्यवहार प्रदान गर्नु र लगानीसँग सम्बन्धित विवादहरूको समाधानका लागि स्पष्ट प्रक्रियाहरू स्थापना गर्नु हो । 

के छ बीआईएमा ?

बीआईएले सम्झौता गरिने राष्ट्रसँगको क्षेत्रलाई स्पष्ट पारिदिएको छ । यस्तो क्षेत्रभित्र रहेका लगानीकर्ताको लगानीसँग सम्बन्धित सम्झौताअनुसार सेवा सुविधा हुने कुरा उल्लेख गरिएको छ । यस क्षेत्रबाहेक अन्य क्षेत्रमा लगानी स्थापना, अधिग्रहण वा विस्तारसँग सम्बन्धित पूर्व–लगानी गतिविधिहरू वा त्यस्ता गतिविधिहरूसँग सम्बन्धित विषयहरू लागू हुने छैनन् ।

अर्थात्, सरकारका विभिन्न निकायहरूले बनाएका नीति तथा कानूनहरू यस्तो कार्यक्षेत्रभन्दा बाहिर राखिएको छ । प्रत्येक पक्षले अर्को पक्षका लगानीकर्ताहरू वा उनीहरूले गरेका लगानीलाई अन्तर्राष्ट्रिय कानूनका सिद्धान्तहरूको उल्लंघन गर्ने अधिकार दिने छैन । लगानीकर्तालाई कानून र यो सम्झौताबमोजिम पूर्ण संरक्षण र सुरक्षा प्रदान गरिने प्रतिबद्धता दिइएको छ । लगानीकर्तालाई समान परिस्थितिमा स्वदेशी लगानीकर्तालाई भन्दा कम अनुकूल नहुने गरी व्यवहार गरिने कुरा पनि उल्लेख गरिएको छ । 

लगानीकर्ताको लगानीलाई सार्वजनिक उद्देश्यका लागि, कानूनको उचित प्रक्रिया अनुसार, निश्चित अवधिभित्र क्षतिपूर्ति भुक्तानी गरेर बाहेक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राष्ट्रियकरण वा अधिग्रहण गर्न नपाउने कुरा समेत समेटिएको छ । क्षतिपूर्ति निष्पक्ष र समतामूलक हुनेछ र परिवर्तनीय मुद्रामा ब्याजसहित भुक्तानी गरिने कुरा पनि उल्लेख गरिएको छ ।

प्रत्येक पक्षले आफ्नो कानूनको अधीनमा रही लगानीसँग सम्बन्धित जस्तै: पुँजीमा योगदान, प्रतिफल, आम्दानी र क्षतिपूर्ति स्वतन्त्र रूपमा र गैर–भेदभावपूर्ण आधारमा हस्तान्तरण गर्न अनुमति दिने कुरा उल्लेख गरिएको छ । तर, गम्भीर भुक्तानीको अवस्था वा बाह्य वित्तीय समस्याको अवस्थामा अस्थायी रूपमा प्रतिबन्ध लगाउन सकिनेछ । 

सम्झौतामा लगानीकर्ताले कुनै विशेष राष्ट्रियताको व्यक्तिलाई वरिष्ठ व्यवस्थापन पदमा नियुक्त गर्न समेत सक्ने सुविधा दिइएको छ । 

त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त कर्पोरेट सामाजिक उत्तरदायित्वका मापदण्डहरू पालना गर्नुपर्नेछ । 

दुवै पक्षबीचको विवाद समाधानका लागि संयन्त्र समेत स्थापना गरिने कुरा उल्लेख गरिएको छ । 

सार्वजनिक, जनस्वास्थ्य, वातावरण, सुरक्षा र श्रमिक अधिकारको संरक्षण जस्ता वैध सार्वजनिक हितका लागि गरिएका गैर–भेदभावपूर्ण उपायहरूमा सम्झौताको प्रावधान लागू हुने छैन । 

राष्ट्रिय सुरक्षा अपवादहरू जस्तै: संवेदनशील जानकारीको खुलासा, युद्ध वा आपतकालमा कारबाहीजस्ता विषय पनि समावेश गरिएको छ । 

यसका साथै अन्य सम्झौतासँगको सम्बन्ध, लाभको अस्वीकार, संशोधन प्रक्रिया र सम्झौताको लागू हुने अवधि र समाप्ति सम्बन्धी प्रावधानहरू पनि राखिएको छ । 

कमेन्ट गर्नुहोस्