२३ असार २०८३, मंगलबार
संघीय निजामती विधेयक

सरकार लचिलो बनेपछि कर्मचारीले अवकाश पाउने उमेरहदमा सहमति, विधेयक आजै पारित हुने

भदौ १७, २०८२
काठमाडौं
सरकार लचिलो बनेपछि कर्मचारीले अवकाश पाउने उमेरहदमा सहमति, विधेयक आजै पारित हुने

कर्मचारीको उमेरहद सम्बन्धी विवादमा सहमति भएसँगै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित हुने भएको छ ।

कर्मचारीको उमेरहद सम्बन्धी व्यवस्थामा सत्ता–प्रतिपक्षका सांसदहरू विभाजित भएपछि विधेयकमा गाँठो परेको थियो ।

मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मत विभाजन (मतदान)मा नलैजानका लागि प्रतिनिधि सभाबाट पारित भएको व्यवस्था अनुसार नै विधेयक पारित गर्न सहमति जनाएपछि विवाद टुंगिएको हो ।

बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले नयाँ संविधान जारी भएपछि राष्ट्रिय सभाबाट विधेयक सर्वसम्मत पारित भएकाले सोही परम्परा कायम राख्न आग्रह गरेका थिए ।

त्यसलगत्तै मन्त्री न्यौपानेले राष्ट्रिय सभाले गरेको सौहार्द अभ्यासलाई निरन्तरता दिने भन्दै प्रतिनिधि सभाबाट पारित भएको व्यवस्थाअनुसार विधेयक अगाडि बढाउन सहमति जनाएकी हुन् ।

‘आजसम्मका लागि भनेर मैले हिजो समय मागेकी थिएँ, प्रधानमन्त्री विदेशमा हुनुहुन्छ । यस्तो बेला आजै हामी निष्कर्षमा पुग्नुपर्नेछ । बहुमत र अल्पमतबाट टुंग्याउने पक्षमा म छैन,’ मन्त्री न्यौपानेले भनिन्, ‘मत विभाजन नगर्न अहिलेका लागि प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ अवकाशको उमेरबारे, त्यही कुरालाई आत्मसात गरेर जाऔँ । राष्ट्रिय सभाले सौहार्दता साथ जाऔँ ।’

त्यसपछि समिति सभापति तुलसादेवी दाहालले ‘देर आयो, दुरुस्त आयो’ भने जस्तै सबै विधेयकमा सर्वसम्मति गरेको बताइन् ।

समितिमा भएको सहमतिअनुसार विधेयक पारित भएमा पहिलो वर्ष कर्मचारी ५८ मा अवकाश हुनेछन् । अर्को वर्ष ५९ र त्यसपछिका वर्षहरूमा ६० वर्ष पुगेपछि मात्र कर्मचारीको अवकाश हुनेछ ।

कांग्रेस–एमालेले विधेयक पारित गर्दाको वर्ष ५९ र अर्को वर्ष ६० कायम गर्न प्रस्ताव गरेका थिए ।

विपक्षी दल नेकपा माओवादी केन्द्र लगायतका सांसदहरूले भने प्रतिनिधि सभाबाट पारित भएको व्यवस्थाअनुसार नै गर्न आग्रह गरेका थिए ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विधेयक २ महिनाभित्र पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण समितिको प्रतिवेदन आजै सभामा पेश गरेर पारित गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभाबाट असार १५ गते पारित भएको विधेयक असार १७ गते राष्ट्रिय सभामा पुगेको थियो ।

राष्ट्रिय सभाले विधेयकमा केही परिमार्जन गरेको छ । नासुमा खुला प्रतिस्पर्धाबाट पनि भर्ना गर्ने तथा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने विषय राष्ट्रिय सभाले परिमार्जन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्