
पूर्वी अफगानिस्तानमा विनाशकारी भूकम्प गएको तीन दिनसम्म पनि घरबारविहीन भई भोकभोकै रहेका परिवारहरू पराकम्पन आउन सक्ने डरले भूकम्पबाट बाँकी रहेका केही भवनहरूमा पाइला टेक्ने आँट गर्न सकेका छैनन् ।
गत आइतबार मध्यरातमा अफगानिस्तानलाई केन्द्रविन्दु बनाई गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पले पाकिस्तानसँग सीमा जोडिएका दुर्गम क्षेत्रमा एक हजार ४०० भन्दा बढी मानिसको ज्यान लिएको छ।
हरियो पहाडको बीचमा रहेका केही कृषिकर्ममा व्यस्त ग्रामिण इलाकाहरू पहिरोका कारण समतल भएका थिए । भूकम्प गएको लामो समय (तीन दिन) सम्म पनि मानिसहरू भग्नावशेषमुनि रहेका छन् भने उद्धार प्रयासहरू जारी छन् ।
नान्गाहार प्रान्तको दार–ए–नुर गाउँमा भूकम्पले आफ्नो घर भत्काएपछिको ‘अँध्यारोे रात’ बाट अझै पनि डराएका इमरान मोहम्मद अरेफले भने, “भूकम्पपछि अहिलेसम्म पनि परिवारका अन्य चार सदस्यहरूसँग प्लास्टिकको म्याटमा खुला आकाशमा आफुले रात बिताउनु परेको छ।”
“हिजो पनि भूकम्प गएको थियो र आज बिहान पनि भूकम्प गएको छ,” अरेफले एएफपीसँग भने।
“अहिले हामीसँग बस्ने ठाउँ छैन र हामी सबैसँग सहयोगको याचना गरिरहेका छौँ,” उनले भने ।
साधनस्रोत भएकाहरू गाउँ छोडेर भागेपनि उनीहरूलगायत हजारौँ गाउँलेहरूलाई विनाशको बीचमा जे पायो त्यही खाएर अस्थायी आश्रयस्थलहरूमा सँगै बस्नुबाहेक अरू कुनै विकल्प थिएन।
जलालावादमा चिकित्सकका रूपमा काम गर्दै आएका फेरेस्ताले भने, “नान्गाहार प्रान्तको राजधानी जलालाबादमा पनि भूकम्प र त्यसपछिका पराकम्पनहरू महसुस गरिएको र यसले हामीलाई निकै तर्साएको छ । हामी निकै डराएका छौँ ।”
उनले भने, “हरेक पटक जब म एक कदम चाल्छु, मलाई लाग्छ कि जमीन हल्लिरहेको छ। हामी घरभित्र बस्दैनौँ । बगैँचामा सुत्छौँं । फेरि भूकम्प आउँछ भन्ने मनमा त्रास रहिरहेको छ।”