
देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
पशु सेवा कार्यालयले कुखुरापालक किसान, कुखुरा फार्म र मासु पसललाई रोग नियन्त्रणका लागि पूर्वतयारीमा रहन अनुरोध गरेको छ।
कार्यालय प्रमुख धनबहादुर महतका अनुसार हालसम्म जिल्लामा बर्डफ्लुको कुनै शंकास्पद घटना वा संक्रमण पुष्टि भएको छैन। तर जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढाउन, फार्ममा जैविक सुरक्षा मापदण्ड पालना गर्न, अनावश्यक व्यक्तिलाई प्रवेश नदिन तथा दाना–पानी सफा राख्न आग्रह गरिएको छ।
कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न तथा कुखुरामा शंकास्पद लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयलाई तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ।