३० जेठ २०८३, शनिबार
प्रहरीमा नयाँ नेतृत्व

नवनियुक्त आईजीपीको उद्घोष– सके राम्रो गर्छु, नसके पनि नराम्रो चाहिँ गर्दिनँ

भदौ १९, २०८२
काठमाडौं
नवनियुक्त आईजीपीको उद्घोष– सके राम्रो गर्छु, नसके पनि नराम्रो चाहिँ गर्दिनँ

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले दर्ज्यानी चिह्न लगाएका छन् ।

बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

null३२ औँ आईजीपीका रूपमा खापुङले छोटो कार्यकाल बिताउने छन् । उनी कात्तिक २७ गते अवकाशमा जाँदै छन् ।

दर्ज्यानी चिह्न लगाएपछि उनले निष्ठा, पेशागत अनुशासन, पारदर्शिता र निष्कलंक सेवा भावका साथ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘नेपाल सरकारले दिएको यो जिम्मेवारी मेरो निष्ठा, पेशागत अनुशासन, पारदर्शिता र निष्कलंक सेवा भावका साथ प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने । संगठनभित्र सकेको राम्रो गर्ने तर, नराम्रो नगर्ने उनले बताए ।

खापुङ आफ्ना मातापिता र परिवारलाई सम्झिँदै भावविह्वल समेत भए ।

‘प्रहरीजस्तो पवित्र सेवालाई आफ्नो स्वेच्छाले रोजेर प्रारम्भ भएको मेरो व्यावसायिक जीवन तीन दशक लामो कठिन उचाइमा पुगेको छ,’ खापुङले भने, ‘तेह्रथुमको गाउँबाट मेरो यात्रा आज नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएको छ । यो यात्रामा मसँग कुनै महत्त्वाकांक्षा, प्राप्तिको मोह र अभिलाषाले पछ्याउन सकेन, तर परिश्रम र मेहनत गर्ने उच्च आचरणसँगै निर्भीक रहने प्रतिज्ञाले सधैं दिशानिर्देश गरिरह्यो ।’

खापुङले आफ्नो बाँकी जीवन संगठन र जन्मभूमिकै लागि समर्पण गर्ने बताए । ‘प्रहरी महानिरीक्षक संस्था हो, व्यक्ति होइन, व्यक्तिगत रूपमा म सफल हुनुभन्दा पनि संस्था सफल हुनु अपरिहार्य हुन्छ,’ उनले भने, ‘यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्दछ ।’

null

उनले  नेपाल प्रहरीको श्रीवृद्धि गर्न इमान्दार योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । तर, यसका लागि तालुक गृह मन्त्रालय र सहकर्मीको सहयोग हुनुपर्ने उनको भनाइ छ ।

नेपाल प्रहरीप्रति आम नागरिकको ज्यादै आशा र भरोसा रहेको बताउँदै खापुङले भने, ‘प्रहरी राज्यको तर्फबाट मुलुकको दूरदराजमा पुग्ने अग्रणी संस्था हो । हामीले दैनिक हजारौं नागरिकको सेवा गरेका हुन्छौं । सयौं मान्छेको जीवन बचाउँछौं । तर, यदाकदा कुनै घटना विशेषका आधारमा प्रहरीको आलोचना हुन्छ ।’

उनले प्रहरीको कार्यशैलीलाई लिएर भएका आलोचनालाई गलत रूपमा नबुझी त्यसलाई रचनात्मक सुझाव र पृष्ठपोषणको रूपमा लिई झन् परिष्कृत सेवा गर्नुपर्ने बताए ।

‘आम नागरिकको सुझाव, सहकार्य र पृष्ठपोषणलाई आत्मसाथ गरेर राज्यले गर्दै आएको प्रहरीप्रतिको भरोसामा म किञ्चित डगमगिने छैन, विधिको शासनअनुसार चल्छु,’ खापुङले भने ।

null

अपराध नियन्त्रणमा देखिएका चुनौतीलाई आफूले नजिकबाट नियालिरहेको र नियन्त्रणका लागि परम्परागत स्रोतभन्दा पनि परिष्कृत स्रोत साधन आवश्यक खापुङले रहेको बताए । उनले भने, ‘मैले आज भन्नैपर्छ, अपराधका धेरै चुनौती देखापर्दैछन् । परम्परागत स्रोत साधन कामयाव हुन नसकेको देखिँदै आएको छ । यसतर्फ हामी सचेत हुने बेला आएको छ ।’

खापुङले आर्टिफिसियल इन्टलिजेन्स, साइबर अपराध र ड्रोनलगायत प्रयोग गरेर भइरहेका ‘ट्रान्स नेसनल क्राइम’ रोक्न टेक्नोलोजी पुलिसिङको आवश्यकता रहेको बताए ।

‘केही सीमित प्रहरीको गैरव्यावसायिक गतिविधिलाई लिएर संगठन र मन्त्रालयले पटक–पटक जवाफ दिनुपर्ने अवस्था आएको छ । हरेक समाजको बनावटमा देखिने गुण र अवगुण नेपाल प्रहरीमा पनि छ,’ खापुङले भने, ‘पेशागत आचरणका विकृति लुकाएर होइन, तिनलाई कारबाहीको दायरमा ल्याउँदा नेतृत्वको मान रहन्छ । यसमा तालुक मन्त्रालयको सहयोगको अपेक्षा गरेको छु ।’

उनले सांगठनिक सुदृढीकरण, निष्पक्ष मूल्यांकन र पदोन्नति पारदर्शी हुनुपर्छ भनेर महसुस धेरैले गरे पनि के गरिरहेका छौं भन्नेतर्फ सोच्ने बेला आएको बताए ।

उनले सरुवा/बढुवाजस्तो वृत्ति विकासका संवेदनशील विषयवस्तुमा आफ्नो भूमिका पारदर्शी रहने प्रतिबद्धता व्यक्त गरे ।  त्यसक्रममा गृह सचिव दुवाडीले आईजीपी खापुङलाई प्रहरी नेतृत्वको जिम्मेवारी पारदर्शिता, व्यावसायिकता र राज्यले दिएको जिम्मेवारीलाई यथाशक्य पूरा गर्न निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्