
सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि फेसबुकको माउ कम्पनी मेटाले अनौपचारिक च्यानलमार्फत् मन्त्रालयसँग कुराकानी अघि बढाएको छ ।
मन्त्रालय स्रोतका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयका एक कर्मचारीलाई नेपालमा दर्ता गर्न केके चाहिन्छ भनेर सोधेका थिए । उनले मेटा नेपालमा रहन इच्छुक रहेको भन्दै दर्ता प्रक्रियामा आउने बताएपछि सञ्चार मन्त्रालयका प्रतिनिधिले औपचारिक च्यानलमार्फत् आउन आग्रह गरेका छन् ।
‘तत्कालका लागि मेटालाई दर्ताका लागि चाहिने कागजहरूको सूची पठाउनुपर्यो भनेपछि मन्त्रालयले इमेल गरेको छ’, स्रोतले लोकान्तरलाई भन्यो ।
अनौपचारिक रूपमा कुराकानीको थालनी भए पनि मेटाले औपचारिक रेस्पोन्स भने गरेको छैन । एक साताअघि मन्त्रिपरिषद् बैठकले नेपालमा एक हप्ताभित्र सामाजिक सञ्जाल दर्ता गर्ने अल्टिमेटम दिएको थियो ।
यो बीचमा कुनै प्रतिक्रिया नदिएको मेटाले सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई मेटासहित अन्य २६ सामाजिक सञ्जाल नेपालमा नचल्ने बनाउन निर्देशन दिएपछि अनौपचारिक च्यानलमार्फत् सम्पर्कमा आएको हो ।
मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौडेलले औपचारिक रूपमा मेटाले अहिलेसम्म कुनै कुराकानी नगरेको बताए । ‘मेटाको प्रतिनिधि बनेर कोही कसैले दर्ताका लागि केके चाहिन्छ भनेर सोधेको भन्ने मेरो जानकारीमा छ’, उनले लोकान्तरसँग भने, ‘औपचारिक रूपमा कुनै कुराकानी भएको छैन ।’
यसैबीच, नेपालकै चल्तीमा रहेको क्यालेन्डरसहितको सामाजिक सञ्जाल प्लेटफर्म हाम्रो पात्रोले भने दर्ताका लागि निवेदन दिएको छ । सूचना अधिकारी पौडेलले हाम्रो पात्रोले औपचारिक रूपमै दर्ताका लागि निवेदन दिएको पुष्टि गरे । यससँगै हाम्रो पात्रो भने बन्द नहुने भएको छ ।