०७ साउन २०८३, बिहीबार
दशैंको मुखमा आयात ठप्प

दुई महिनादेखि उत्तरी नाका ठप्प, तातोपानीमा मान्छेले नै बोकेर सामान वारपार !

भदौ २०, २०८२
काठमाडौं
दुई महिनादेखि उत्तरी नाका ठप्प, तातोपानीमा मान्छेले नै बोकेर सामान वारपार !

चीनसँगका प्रमुख दुई नाका जोड्ने सडक पूर्वाधार बाढीपहिरोका कारण करिब २ महिनादेखि अवरुद्ध छन् । चीनसँगको सबैभन्दा ठूलो नाका रसुवागढी दुई महिनादेखि बन्द छ भने तातोपानी नाकासम्म पनि सहज यातायात सुविधा छैन ।

तातोपानी नाकातर्फ पहिरोले अवरुद्ध भएका ठाउँबाट फलफूलका कार्टुनहरू धमाधम भरिया लगाएर बोक्दै पार गरिरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले बताए । धेरै दिनसम्म राख्न नमिल्ने सामानहरू भरिया लगाएर ओसारपसार भइरहेको उनको भनाइ छ । 

‘करिब डेढ महिनादेखि बाटो अवरुद्ध भएको छ । बनाउने कुनै छाँटकाँट छैन । बोक्न मिल्ने र धेरै दिनसम्म राख्न नमिल्ने फलफूलहरू भरिया लगाएर ओसारपसार भइरहेको छ । जोखिमपूर्ण तरिकाले मालसामान ल्याउने काम भइरहेको देखिन्छ । यसबाहेक भन्सार कार्यालयसम्म आइपुगेका सामानहरूको जाँचपास भइरहेकै छ ।’ 

सिन्धुपाल्चोकको लार्चामा तातोपानी भन्सार कार्यालय रहेको छ । चीनको सिमानाभन्दा करिब ७/८ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्म आउने बाटो अवरुद्ध भएको करिब २ महिना हुन लागिसकेको उनले बताए । चीनको सीमाबाट भन्सार कार्यालयको बीचमा पहिरोले ठाउँ–ठाउँमा बाटो बन्द गरिदिएको छ । 

सडक विभागले पनि उक्त क्षेत्रमा पहिरो हटाएर नयाँ ट्र्याक खोल्ने काम भइरहेको बारम्बार बताइसकेको छ । तर, मौसमका कारण पहिरो हटाउने र नयाँ ट्र्याक खोल्ने काममा कठिनाइ भइरहेको विभागको दाबी छ ।

null

चीनतर्फबाट करिब ११ सय कन्टेनरहरू नेपाल आउन नसकेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष हेमलाल खराल बताउँछन् ।

रसुवागढीमा बाटो पूर्णरूपमा अवरुद्ध भएपछि सबै कन्टेनर तातोपानी नाकातर्फ शिफ्ट भएको उनको भनाइ छ । 

‘करिब ११ सय कन्टेनर चीनतर्फ नै रहेको अवस्था छ । रसुवातिर बाटो नै छैन, यता तातोपानीमा पनि विभिन्न ठाउँमा पहिरो गएर कन्टेनर नेपाल छिर्नै पाएका छैनन्’, उनले भने, ‘गत साता मात्रै एक दिन बाटो खुलेको थियो, करिब १०० भन्दा बढी कन्टेनरहरू भन्सार कार्यालयसम्म पुगेका थिए । अहिले चीनपट्टि नै रोकिएर बसेका छन् ।’ 

यस वर्षको वर्षायाममा मुख्य सडक खण्डहरू पटक–पटक अवरुद्ध हुँदै आएको र स्थानीयको अवरोध लगायतका कारणले गर्दा अस्थायीरूपमा सडक सुचारु गर्न समस्या परिरहेको सडक विभागका प्रवक्ता ई. प्रभातकुमार झाले बताए ।

विभिन्न अवरोधका बाबजुद सडक डिभिजन कार्यालयले बाटो खुलाउने काम गरिरहेको उनको भनाइ छ । गत असार २४ गतेको बाढीले रसुवा जिल्लाको गल्छी–त्रिशुली–स्याफ्रुबेशी–रसुवागढी सडक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो । अहिले करिब दुई महिनादेखि रसुवातर्फको नाका पूर्ण रूपमा अवरुद्ध छ । 

तातोपानी भन्सार कार्यालयबाट जाँचपास गर्दा निकै समय लाग्ने र बन्दरगाहको यार्ड सानो भएकाले चोभारलाई प्रयोगमा ल्याउनु उपयुक्त हुने महासंघका अध्यक्ष खराल बताउँछन् । 

‘चीनतर्फ ११ सय कन्टेनर छन् । ती कन्टेनरहरू यहाँसम्म आइपुग्नका लागि करिब १५/१६ दिन लाग्छन् । त्यसका लागि पानी परेर सडक अवरुद्ध हुनु भएन । सबैभन्दा उत्तम भनेको चोभारको बन्दरगाहबाट जाँचपास गर्ने व्यवस्था मिलाउनुपर्छ । तातोपानीबाट सिधै सिल लगाएर चोभारमा ल्याउने व्यवस्था मिलाएमा १० दिनमै सबै कन्टेनरको मालसामान भित्रिसक्छ । योसँगै उपभोक्ताहरूले पनि समयमै वस्तु पाउँछन् । होइन भने, महँगी बढ्ने सम्भावना हुन्छ ।’ 

तातोपानी र रसुवाको आयात निर्यात 

रसुवाबाट वार्षिक ८० अर्ब बराबरको मालसामान आयत हुने गरेको छ । तर, चालू आर्थिक वर्षमा ३५ करोड ९८ लाख रुपैयाँ बराबरको मात्र आयात भएको छ । बाढीपहिरोका कारण अहिले आयात निर्यात ठप्प भएको छ । 

null

रसुवा नाकाबाट हुँदै आएको व्यापार हेर्ने हो भने आव २०७८/७९ मा २६ अर्ब ६२ करोड ८९ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । आव २०७९/८० मा ३० अर्ब १४ करोड १० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छ । 

त्यस्तै, आव २०८०/८१ मा ६० अर्ब ९१ करोड २ लाख ६० हजार रुपैयाँ बराबरको आयात हुँदा आव २०८१/८२ मा ८५ अर्ब २३ करोड २३ लाख बराबरको वस्तु रसुवा नाकाबाट आयात भएको थियो । निर्याततर्फ भने नेपालले रसुवा नाकाबाट २ अर्बको हाराहारीमा गरेको देखिन्छ । 

यता तातोपानी नाकाबाट नेपालले वार्षिक ५० अर्बको हाराहारीमा आयात गर्ने गर्दछ । तर, निर्यात भने शून्य छ । 

आव २०७८/७९ मा हेर्ने हो भने ततोपानी नाकाबाट १४ अर्ब २ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

आव २०७९/८० मा नेपालले १३ अर्ब २१ करोड १ लाख बराबरको सामान यस नाकाबाट आयात गरेको थियो । 

त्यस्तै, आव २०८०/८१ मा ४० अर्ब ३४ करोड ३३ लाख र आव २०८१/८२ मा ५० अर्ब ३९ करोड ५८ लाख बराबरको वस्तु तातोपानी नाकाबाट नेपाल भित्रिएको छ । र, चालू आर्थिक वर्षको पहिलो महिना साउनमा यस नाकाबाट २ अर्ब ८९ करोड ९८ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरिएको छ । 

कमेन्ट गर्नुहोस्