इलाम, २८ मंसिर– प्रतिनिधिसभातर्फ इलाममा ३.७ प्रतिशत मत बदर भएको छ । कुल दुईलाख चार हजार ४६ मतदाता रहेकोमा प्रतिनिधिसभातर्फ एक लाख ३५ हजार ५२१ मत खसेको थियो । यहाँ पाँच हजार १८ मत बदर भएको हो ।
क्षेत्र नं १ मा एक लाख एक हजार ६१ जना मतदाता रहेकोमा ६४ हजार ४७९ मत खसेको थियो । यहाँ दुई हजार ३६५ मत बदर भएको छ । क्षेत्र नं २ मा एक लाख दुई हजार ९८५ मतदाता रहेकोमा ७१ हजार ४२ मत खसेको थियो । यहाँ दुई हजार ६५३ मत बदर भएको छ ।
प्रदेशसभातर्फको मतगणना कार्य जारी रहेकाले प्रदेशसभातर्फ के कति मत बदर भयो भन्ने यकिन तथ्यांक आइनसकेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले बताए ।
गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा बदर मतको संख्यामा कमी आएको समेत उनले बताए ।
स्थानीय तहको निर्वाचनमा इलाममा पाँच प्रतिशत मत बदर भएकोमा प्रतिनिधिसभातर्फ ३.७ प्रतिशत मात्र मत बदर भएको छ । निर्वाचनको मिति घोषणा भएको ८० दिनभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने भएकाले पनि व्यवस्थित रूपमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्दा बदर हुन पुगेको हो, उनले भने ।