०८ असार २०८३, सोमबार
अपराध अनुसन्धान र नियन्त्रणमा शून्यता

आफैं समस्यामा प्रहरी, कसले खोज्ने जेलबाट फरार १३ हजार कैदीबन्दी ?

छैन काम गर्ने कार्यालय र हतियार, कैयन प्रहरी सम्पर्कविहीन, सैनिक गस्तीको अपेक्षा
भदौ २६, २०८२
काठमाडौं
आफैं समस्यामा प्रहरी, कसले खोज्ने जेलबाट फरार १३ हजार कैदीबन्दी ?

जेनजी आन्दोलन मत्थर भएको २ दिन पुग्दा पनि नेपाल प्रहरीका दर्जनौं कार्यालयहरू अझै सञ्चालनमा आउन सकेका छैनन् ।

काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लाका प्रहरी कार्यालयमा काम गर्न सक्ने वातावरण छैन ।

प्रहरीका हतियार, सञ्चार सेटसँगै पोशाक समेत लुटपाट भएका र जलाइएका छन् । यस्तो अवस्थामा अपराध अनुसन्धान र नियन्त्रणको शून्यता खड्किएको प्रस्ट हुन्छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार तत्काल प्रहरी कार्यालयबाट अपराध दर्ता गरेर अनुसन्धान गर्ने वातावरण छैन ।

तर, प्राप्त सूचनाअनुसार प्रहरी घटनास्थलमा खटिन भने छाडेको छैन ।

प्रहरी र अन्य सुरक्षा निकायबाट लुटिएका हतियारहरू नेपाली सेनाले दिनदिनै बरामद गरिरहेको छ ।

कतिले स्वतस्फूर्त रूपमा पनि बुझाउँदै आएका छन् । काठमाडौंका वृत्त, प्रभाग, चौकीसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय समेत तोडफोड र आगजनी भएपछि त्यहाँ प्रहरी गएर काम गर्न सक्ने अवस्था छैन ।

उपत्यका बाहिर हेटौंडा, पर्सा, बारा, रौतहट, धनुषा, रुपन्देही लगायतका जिल्लाका प्रहरी कार्यालयहरू पनि तोडफोड र आगजनीपछि अहिले सञ्चालनमा छैनन् ।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘अहिले पनि हाम्रा सयौं प्रहरी कर्मचारी सम्पर्कविहीन छन्, कहाँ छन् थाहा छैन, दर्जनौं प्रहरी कार्यालयहरू काम गर्नसक्ने अवस्थामा छैनन्, यो अवस्थामा प्रहरीले कसरी अपराध अनुसन्धान गर्न सक्छ ?’

ती अधिकृतका अनुसार पोशाक लगाएका प्रहरी देख्नेबित्तिकै सर्वसाधारणमा आक्रोश देखिएछि उनीहरू आफैँ सुरक्षित स्थानमा बस्नुपर्ने अवस्था छ ।

प्रहरीका कार्यालय मात्रै होइन, सवारी साधन र उनीहरूले लगाउने लत्ताकपडा, रासनसमेत जलाइएपछि काम गर्ने अवस्थामा नपुगेको ती अधिकृतको भनाइ छ ।

null

आफ्नो सुरक्षा आफैं गरौैं

काठमाडौं उपत्यकासहितका जेलबाट करिब १२ हजार ८ सयको हाराहारीमा कैदीबन्दी भागेका छन् । प्रहरीको थुनुवा कक्षबाट मात्रै ५ सय बढी थुनुवा भागेका छन् ।

अदालतको आदेशमा कैद ठेकिएका कैदीबन्दी भागेपछि थप अपराधका घटना बढ्ने संकेत प्रहरी मुख्यालयले गरेको छ ।

रामेछाप, सप्तरी, सिन्धुली, कैलाली, कञ्चनपुर लगायतका केही कारागारबाट भागेका केही मात्रै कैदीबन्दी सम्पर्कमा आएका छन् । नख्खु, केन्द्रीय कारागार, कास्की, भीमफेदी, झुम्का, कपिलवस्तुका कैदीबन्दीहरू सम्पर्कमा छैनन् ।

रौतहटको गौर कारागारबाट भागेका २ सय ६० कैदीमध्ये कर्तव्य ज्यान मुद्दाका मात्रै सयभन्दा बढी कैदी छन् ।

गौरबाट भागेका २ सय ६० जना अझै सम्पर्कमा आएका छैनन् ।

भारतीय सीमा क्षेत्रसँग जोडिएका जिल्लाबाट भागेका कैदीबन्दी तत्काल पक्राउ पर्ने सम्भावना न्यून छ ।

सुन्धारास्थित केन्द्रीय कारागारबाट ३ हजार ३ सय, ललितपुरस्थित नख्खु कारागारबाट १ हजार ४ सय कैदीबन्दी भागेका छन् ।

कास्की कारागारबाट ७ सय ७३ कैदीबन्दी फरार भएका छन् । फरारमध्ये २ सय २० जना जबरजस्ती करणी, १ सय ३० जना कर्तव्य ज्यान, १ सय २८ जना लागूऔषध, २४ जना सहकारी ठगी र बाँकी अन्य कसुरका कैदीबन्दी र थुनुवा थिए ।

चोरी, लुटपाट, डकैती, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागूऔषध तस्करी, जबर्जस्ती करणी लगायत गम्भीर प्रकृतिका अपराधमा दोषी ठहर भएका कैदीबन्दी पुन: अपराधमा संलग्न हुनेतर्फ सैनिक जनसम्पर्क निर्देशनालय र प्रहरी प्रधान कार्यालयले नै सर्वसाधारणमा सूचित गरेको छ ।

कञ्चनपुर कारागारबाट भागेको भोलिपल्टै एकजना कैदी बलात्कार प्रयासको आरोपमा दोधारा चाँदनीबाट पक्राउ परेका छन् ।

जेलबाट भागेका कैदीबन्दी फिर्ता नभएपछि शहरदेखि गाउँ–गाउँमा त्रास फैलिएको छ ।

प्रहरी गस्तीको सम्भावना नदेखिएपछि सेनाले नै गस्ती गरिदेओस् भन्ने आशा सर्वसाधारणको छ ।

यो सँगै कारागारबाट भागेका कैदीबन्दीलाई स्थानीयले नियन्त्रणमा लिएर समेत प्रहरी र सेनाको जिम्मा लगाउँदै आएका छन् ।

पूर्व डीआइजी हेमन्त मल्ल ठकुरी कारागारबाट भागेका कैदीबन्दीबाट सर्वसाधारण असुरक्षित हुने चिन्ता बढेको बताउँछन् । ‘विगतका घटना हेर्‍यो भने कारागारबाट जेल सजाय भुक्तान गरेर छुटेका थुप्रै कैदीबन्दी अपराधमा पक्राउ परेका छन्,’ ठकुरीले भने, ‘अहिले त झन् व्यापार, व्यवसाय र आर्थिक गतिविधि ठप्प रहेका बेला अपराध र अपराधी सल्बलाउने खतरा छ ।’

उनले प्रहरीलाई पूर्व अवस्थामै फर्काएर उनीहरूको मनोबल बढाउनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्